जिम्बावेमा आज आइतबार शुरु भएको विश्वकप छनोट चरणको खेलमा नेपालले जिम्बावेलाई जितका लागि २९१ रनको लक्ष्य दिएको छ।
टस जितेर घरेलु टोली जिम्बावेले फिल्डिङ रोजेपछि नेपालले पहिले ब्याटिङ गर्दै ओभरमा ८ विकेटको क्षतिमा २९० रन बनाउँदै घरेलु टोलीलाई जितका लागि २९१ रनको लक्ष्य दिएको हो।
नेपाली ओपनर जोडी कुशल भूर्तेल र आशिफ शेखले पहिलो विकेटका लागि शतकीय साझेदारी गर्दै नेपालको ठूलो स्कोरको आधार तयार पारे। भूर्तेल र आशिफको जोडीले १७१ रनको साझैदारी गर्यो।
१३ चौका र २ छक्का हानेका भूर्तेल नर्वस नाइन्टीको शिकार भए र १ रनले शतक बनाउनबाट चुके। ९५ बल खेलेका उनी व्यक्तिगत ९९ रनमा ३२औं ओभरमा नेपालको पहिलो विकेटका रुपमा आउट भए।
सय बल खेलेर ७ चौका हिर्काएका आशिफ पनि व्यक्तिगत ६६ रनमा आउट भए। नेपालको दोस्रो विकेटका रुपमा उनी ३४औं ओभरमा आउट हुँदा नेपालको स्कोर १७४ रन थियो।
२९ बलको सामना गरेका कप्तान रोहित पौडेल ३१ रनको पाली खेलेर पवेलियन फर्किए। ५ चौका ठोकेका पौडेल ४४औं ओभरमा आउट हुँदा नेपालको स्कोर ३ विकेटमा २ सय ४६ रन थियो।
भूर्तेल आउट भएपछि क्रिजमा आएका कुशल मल्लले २१ बलको सामना गरेर ३ छक्का र २ चौकाको सहायतामा ४१ रन हिर्काए। उनी ४५औं ओभरमा आउट हुँदा नेपालको स्कोर ४ विकेटमा २५५ रन थियो।
यसपछि आरिफ शेख ११ बलमा १० रन बनाएर ४७औं ओभरमा पाँचौं विकेटका रुपमा आउट भए। नेपालको स्कोर २८३ रन हुँदा छंठौं विकेटका रुपमा अलराउन्डर गुलशन झा आउट भए।
४९औं ओभरमा नेपालको ७औं विकेट भीम सार्कीका रुपमा खस्यो। उनी पहिलो बलमै रिभर्स स्विप गर्दा विकेटकिपरबाट क्याच आउट भए। त्यसवेला नेपालको स्कोर २८३ रन नै थियो।
करण केसी २ रनमा र सोमपाल कामी शून्य रनमा अविजित रहे।
घरेलु टोली जिम्बावेका लागि रिचर्ड एनगरावाले ४ विकेट‚ वेलिङटन मासाकाराज्दाले २ विकेट तथा टेन्डाई चटारा र ब्लेसिङ मुजराबानीले १/१ विकेट लिए।