-विवेक विवश रेग्मी
धरान उपमहानगरपालिका-५ का विष्णु सुनुवारको पुर्ख्यौली पेसा हो बाख्रापालन। पछिल्लो एक दशकयता भने उनी व्यावसायिक रूपमा खसीबाख्रा पाल्दै आएका छन्। बाख्रापालन गर्दा बिक्रीका लागि समस्या नहुने उनको अनुभव छ। लामो समयदेखि धरानस्थित कृषिबजारमा खसीबाख्रा बेच्दै आएका उनको खोरमा चार दर्जन बढी खसीबाख्रा छन्।
‘खसीबाख्रा बेच्नका लागि सुँगुर, कुखुराजस्तो समस्या हुँदैन,’ उनले भने, ‘बिक्री नहोला कि भन्ने डर हुँदैन। तर समयचाहिँ लाग्छ।’ उनका अनुसार खसीबाख्रामा ढिलो आयस्रोत भए पनि समस्या छैन। दुई वर्ष पालेर बिक्री गर्दा मनग्य आम्दानी हुने उनको भनाइ छ। ‘चाडपर्वमा अलिक बढी बिक्री हुन्छ। अन्य समयमा पनि धेरथोर बिक्री भइरहन्छ’, उनले भने।
उनका अनुसार अहिले धरानको कृषिबजारमा सुविधाजनक अवस्था भएका कारण बिक्री गर्न समस्या छैन। सुनुवारले भने, ‘बिहीबारदेखि हटिया लाग्छ। खसी, बाख्रा मरेन भने नाफा हुन्छ।’ कहिलेकाहीँ खोरमै वा विभिन्न कारणले खसी बाख्रा मर्दा बिमाको झन्झट व्यहोर्नुपर्ने उनी सुनाउँछन्। ‘बिमाका कारण सहुलियत त हुन्छ। भनेजस्तो कागजात भएन भने केही राहत पाइँदैन’, उनले भने, ‘बिमामा बुझाउन सबै भिडियो र कागजात उपलब्ध गराउनुपर्छ, किसानको ध्यान त्यतातिर जाँदैन।’
संखुवासभाका किसान भीम खत्री पनि खसीबाख्रा बेच्न धरान आउने गरेका छन्। कृषि बजारमै बस्ने सुविधा हुँदा बिक्री गर्न धरान आउने गरेको उनले बताए। ‘हिउँद र चाडपर्वमा बिक्री गर्न सहज हुन्छ,’ उनले भने, ‘बर्खायाममा गाह्रो हुन्छ। त्यसैले चाडपर्वमा बढी बिक्री हुने गरेको छ।’
कोशी प्रदेशमा पशुपालनमा रमाइरहेका हजारौँ किसान छन्। धेरैजसो, गाई, भैँसी, खसी, बाख्रा, बंगुर, माछा, अस्ट्रिच, कालिज, हाँस, कुखुरा जस्ता पशुपन्छी पालनमा छन्।
खसी, बाख्रा उत्पादन भइसकेपछि बिक्रीका लागि भने सुनसरीको धरान धेरै किसानका लागि ‘बिक्री केन्द्र’ बनेको छ।
धरानस्थित कृषिबजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले कोशीका पहाडी जिल्लाबाट खसीबाख्रा बेच्नेको घुइँचो लाग्ने गरेको बताए। पहिलेपहिले शुक्रबार मात्रै खसीबाख्रा बिक्री हुने भए पनि अहिले भने बिहीबार र शुक्रबार गरी दिनमै तीन हजारभन्दा बढी खसीबाख्रा बिक्री हुने उनको भनाइ छ।
‘वर्षदिनमा एक अर्बभन्दा बढीको कारोबार हुन्छ। दसैँतिहारमा अहिलेभन्दा दोब्बर बढी बिक्री हुन्छ,’ भट्टराईले भने, ‘धरानको कृषि उपज केन्द्रमा खसीबाख्रा बेच्नका लागि किसान आकर्षित छन्। कसैले बिक्री हुँदैन भन्यो भने हामी बिक्री गर्ने ग्यारेन्टी दिन्छौँ।’
कोशीका अन्य ठाउँमा किसानमारा नीति भएका कारण पनि धरानमा खसीबाख्रा बेच्न पशुपालक आकर्षित बनेको उनी बताउँछन् । ‘अन्य ठाउँमा बीस हजारमा बेचेको खसीको ३ प्रतिशतसम्म तिर्नुपर्छ। हामीकहाँ एउटा खसीको पचास रुपैयाँ कर लिने गरेका छौँ। बाख्रा र पाठाको भने ४० रुपैयाँमात्र छ,’ उनले भने, ‘किसानलाई दिएको सुविधाबापत कर लिनुपर्छ, तर लुट्नु हुँदैन भन्ने हाम्रो मान्यता हो।’
बढी जसो किसान पहाडी जिल्ला र कोशी करिडोर क्षेत्रबाट आउने गरेको उनले बताए। उनका अनुसार मासुमा तौलेर लैजानेले छ सय रुपैयाँ केजी र पाल्नेले सोही किसिमको मोल गरेर किनबेच हुँदै आएको छ।
‘पहिला बिक्रीका लागि भारतीय नागरिक पनि आउँथे। अहिले पहाडी जिल्लाले धानेको छ,’ उनले भने, ‘खसीबाख्रामा हामी आफैँ आत्मनिर्भर छौँ। बरु बाख्रा र माउ चैँ भारत जान्छन्।’ चिडियाखानाका जनावरको आहारका लागि लैजाने व्यापारीको भनाइ छ।
कोशी प्रदेशमा सबैभन्दा बढी खसी, बाख्रा बिक्री हुने केन्द्र धरान हो। यहाँ खसीबाख्रा बिक्रीका लागि कोशी प्रदेशका सबैजसो जिल्लासहित खरिदका लागि काठमाडौँसम्मका मानिस आउने भट्टराईले बताए।
धरान उपमहानगरपालिका वडा नं. १३ का वडाध्यक्ष नेत्र काफ्लेका अनुसार २०५८ सालअघि धरानको पुरानो बजारमा खसीबाख्रा बिक्री हुँदै आएको थियो। त्यसयता भने कृषि उपज केन्द्रमै बिक्री हुँदै आएको छ।
‘२०५८ सालमा तत्कालीन धरान नगरपालिकाले बजार व्यवस्थापन गर्ने क्रममा चौपाया बजारलाई कृषि उपज बजारमा ल्याइयो, त्यसैबेलादेखि यहाँ बिक्री हुँदै आएको छ,’ उनले भने, ‘बट्टी करलगायत तीन शीर्षकका कर लागे पनि सस्तो कर भएका कारण यहाँ किसानको भीड लाग्ने गरेको छ।’
उनका अनुसार अधिकांश किसान धनकुटा, संखुवासभा भोजपुर, उदयपुर, ताप्लेजुङ, पाँचथर, खोटाङसम्मआउने गरेका छन्। सुनसरी र मोरङको उत्तरी क्षेत्रका किसान पनि खसीबाख्रा बेच्न धारन पुग्छन्।
‘सिजनमा दिनमै १० हजारभन्दा बढी खसीबाख्रा बिक्री हुन्छन्,’ वडाध्यक्ष काफ्लेले भने, ‘अन्य समयमा पनि यहाँका खसीबाख्रा हेटौँडा, नारायणगढ, बुटवल, काठमाडौँसम्म जाने गरेको छ। वर्षायाममा दिनमा चार हजारसम्म बिक्री हुन्छ।’
पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय कोशी प्रदेशका सूचना अधिकारी तथा पशु चिकित्सक विनोदकुमार साहले प्रदेशका सबैजसो जिल्लामा भेटनरी निरीक्षक तोकेको र उनीहरूले काम गरिरहेको बताए।
‘हामीले ठाउँअनुसार त्यहाँ उत्पादन हुने पशुलाई उत्पादनमा जोड दिन किसानलाई प्रोत्साहित हुने किसिमको कार्यक्रम पनि ल्याएका छौँ’, उनले भने, चौँरी र भेडा उत्पादनका लागि सम्बन्धित ठाउँका किसानलाई लक्षित गरी कार्यक्रम आयोजना गर्दै आएका छौँ।
उनका अनुसार पशुको स्वास्थ्य जाँच गर्न र औषधि उपचार गर्नका निम्ति जिल्ला तहका भेटरिनरी चिकित्सकले सहजीकरण गर्दै आएका छन्। कोशीमा गाई, भैँसी, खसी, बाख्रा, बंगुर, चौँरी, भेडा, माछा, कुखुरा, हाँस, कालिजजस्ता कुरामा किसानले लगानी गरिरहेको उनले बताए। पशुको स्वास्थ्य बिमाका लागि अभिकर्ता र किसानबीच समन्वय हुने उनको भनाइ छ।
‘पशुको स्वास्थ्य परीक्षण पनि हुन्छ, जसकारण रोगी पशु किनबेचमा मोलमोलाई भइराख्दैन,’ साहले भने, ‘बिमा गरिँदा कम्पनी र किसानबीचको सम्झौताअनुसार पशु मरेमा पनि किसानले पैसा पाउँछन्।’
मुलुक संघीयतामा गएसँगै प्रदेशस्तरीय भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको प्रदेश विभागका रूपमा उक्त निर्देशनालयले जिम्मेवारी वहन गरिरहेको उनले बताए। उनका अनुसार निर्देशनालयअन्तर्गत हाल ८ वटा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, १ वटा पशु सेवा तालिम केन्द्र र ६ वटा पशु सेवा विज्ञ केन्द्रको सम्पर्क केन्द्रहरू छन्।