हिमाल राई
सुनसरी- उनको घर बराहक्षेत्र नगरपालिका-१ चतरा बस स्टेसनछेउमा छ। उनी चतराका लागि कति महत्त्वपूर्ण छन् भने लाश लिएर पुगेका मलामीले पहिले उनलाई नै खोज्छन्। र, सबैको आशको केन्द्र उनी हुन्, बिक्रम राई।
मानिसको मृत्युपछि लाश अन्तिम संस्कारका लागि आसपासका क्षेत्रबाट सप्तकोशी नदी किनार पुर्याइन्छ। सप्तकोशीको पवित्र जलनजिक शव जलाउँदा आत्माले मुक्ति पाउने जनविश्वास जो छ। र, त्यही पवित्र जलनजिक शव जलाउन सहयोगी भूमिकामा छन्, बिक्रम।
धरान, विराटनगर, बेलबारी, विराट चोक, इटहरी, झुम्का मात्र होइन, झापाको दमकदेखि पनि लाश जलाउन सप्तकोशी किनारको दुर्वाशा घाटमा पुर्याउने चलन छ। यो पौराणिक स्थल हो। त्यसैले पवित्र मानिन्छ। टाढाबाट आएका मलामीलाई घाटमा आवश्यक सरसामान प्राप्त गर्न सहज छैन। तर, बिक्रमले त्यसलाई सहज बनाइदिन्छन्।
स्थानीय बासिन्दा र घर गाउँलेले त बिक्रमलाई खोज्ने नै भए, टाढाबाट आएका मलामी पनि उनकै समिप पुग्छन्। र, लाश जलाउने सामग्री उपलब्ध गराइदिन आग्रह गर्छन्। उनको बारेमा जानकारी पाएका परिवारजनले आफन्तको लाश लिएर आउँदै गरेको जानकारी बिक्रमलाई फोनमार्फत दिन्छन्। र, फोन गर्ने आफन्तजनलाई बिक्रमले सोध्छन्, ‘दाउरा चाहिन्छ कि चाहिँदैन?’
अर्थात् उनी पहिले लाश जलाउने हो कि समाधिस्थ गर्ने हो भन्ने निर्क्योल गर्छन्। लाश जलाउने भए दाउरा, मट्टितेल, चिनी, घिउ, तोरी तेललगायत सामग्री जोहो गरिदिन जुट्छन्। यो मद्दतमा उनी एक्लै जुट्छन्, साँझबिहान, दिउँसो, राति केही नभनी।
बिक्रम भन्छन्, ‘लाश लिएर घाट आउनेको निश्चित समय हुँदैन। जुनसुकै समयमा पनि लाश जलाउने सामग्री आवश्यक हुन सक्छ।’ मलामीले खोजेको समयमा जहाँ भए पनि उपस्थित भई आफ्नो काममा जुटिहाल्छन् बिक्रम।
हिउँद, वर्षा, जाडो, गर्मी, टन्टलापुर घाम, हावाहुरी केही नभनी उनी मलामीको सहयोगमा जुटिहाल्छन्। कहिले उनी चतरा बजारमा फुर्सदमा हुन्छन् त कहिले लाश जलाइरहेको भेटिन्छन्। कहिले लाश आउने प्रतीक्षामा सामग्री जोहो गर्ने दौडधुपमा रहन्छन्। एक्लै चिता तयार पार्नेदेखि लाश जलाउन जुटिरहेका र खटिरहेका हुन्छन्।
कहिलेकाहीं एकै दिन ३ वटासम्म लाशको अन्तिम संस्कार गराउनुपर्छ उनले। एकभन्दा बढी लाश एकैपटक ल्याइपुर्याइयो भने उनको व्यस्तताको कुनै सीमा हुँदैन। तै पनि, पालैपालो सबै लाश जलाउन मद्दत गर्छन्। त्यसवापत मृतकका आफन्तजनले केही रकम दिन्छन्। दाउरा साथमै लिएर आउनेहरूसँग २ हजार ५०० र दाउरा नलिई आउनेसँग १३ हजार रुपैयाँ लिने गरेको बिक्रम बताउँछन्।
त्यसबाट लाश जलाउँदा प्रयोग हुने दाउरा, मट्टितेल, चिनी, तोरी तेललगायत सामग्री खरिद गरेर आफन्तजनलाई उपलब्ध गराउँछन्। भन्छन्, ‘मृतकका आफन्तसँग आफ्नो मिहिनेत र परिश्रमको रकम मात्र लिन्छु।’
लाश ल्याइपुर्याउनुअघि मृतकका आफन्तसँग फोनमै आवश्यक रकमबारे कुरा गरिसकेका हुन्छन्। घाटमा लाश पुर्याएर मोलमोलाइ गर्दैनन्। बिक्रमको मिहिनेत देखेर मृतकका आफन्तले सन्तुष्ट हुँदै रकम दिन्छन्। कतिपयले आवश्यकभन्दा बढी रकम पनि दिन्छन्। तर, बढी रकम दिन कसैलाई अनुरोधसम्म गर्दैनन्। कसैले बक्सिस दिए लिन्छन्। नत्र थप रकम कसैसँग माग्दैनन्।
आर्थिक अवस्था कमजोर भएका आफन्तजनलाई कर्तव्य सम्झेर उनी निःशुल्क लाश जलाइदिएर सहयोग गर्छन्। ‘हुनेले दिएर जान्छन्, नहुनेले के दिनु?’ उनी भन्छन्, ‘मान्छे जन्मिएपछि एकचोटी मृत्यु अवश्य हुन्छ। मैले मानव सेवा गरिरहेको मात्र हुँ।’ आफ्नो सेवाप्रति उनी सन्तुष्ट छन्।
बिक्रम सानो उमेरमा घरबाट कहिलेकाहीं साथीभाइसँग पौडी खेल्न र माछा मार्न बल्छी लिएर सप्तकोशी नदीमा पुग्थे। घाटमा लाश जलाएको हेर्दा हेर्दै ११-१२ वर्षको कलिलो उमेरदेखि नै लाश जलाउने कार्यमा संलग्न हुँदै आएका छन्।
विगतमा कसै-कसैले स्वेच्छाले लाश जलाउन सहयोग गरेवापत केही रकम दिन्थे। पछि अन्तिम संस्कारमा आवश्यक सामानको भाउ बढेसँगै उनले त्यसवापत लाग्ने रकम लिने गर्न थालेका हुन्। अहिले उनको मुख्य पेशा नै लाश जलाउने भएको छ।
चोरेर खानुभन्दा परिश्रम र मिहिनेत गरेर खानु राम्रो लाग्छ उनलाई। टाढाबाट सप्तकोशीमा लाश लिएर आउनेहरूको दुःख देखेर उनले यही पेशा अपनाए। जीवनमा अन्य पेशामा लागेनन्। लाश जलाएवापत उनको मासिक आम्दानी २५ देखि २७ हजार रुपैयाँसम्म हुन्छ।
उक्त आम्दानीले बिरामी आमा कमला राईको उपचार खर्चदेखि श्रीमती सुनिता, छोरी करुणालगायत ७ जनाको परिवार धान्दै आएका छन् उनले।
बुवा सेन्डुको मृत्यु भएपछि घरको आर्थिक अवस्था कमजोर भएकाले उनले घरछेउकै औलिया स्कुलमा अध्ययन गर्नेबारे सोच्न पनि भ्याएनन् बिक्रमले। त्यसैले कक्षा १ सम्मको औपचारिक अध्ययन पनि पूरा गर्न पाएनन्।
करिब २२ वर्षदेखि उनी शव जलाउने काममै निरन्तर छन्। उनले नदी किनारमा ल्याइएका लाशहरूको सदगत गरेर समाजमा उदाहरणीय र पुण्यको काम गरिरहेको बिक्रमका छिमेकी तथा स्थानीय यातायात व्यवसायी सूर्यबिक्रम ठकुरी बताउँछन्।
घरको आर्थिक अवस्था नाजुक भएकैले उनले यो पेशा अपनाएका हुन्। आफूले अँगालेको पेशाप्रति उनलाई कुनै पश्चाताप छैन, सन्तुष्ट छन्।
यो पेशा अपनाउँदा बिक्रमका लागि शुरुवाती दिनहरू निकै चुनौतीपूर्ण थिए। एकातिर समाजले हेर्ने दृष्टिकोण फरक थियो, अर्कोतिर शव जलाउँदा निस्किने आगोको रापले पोल्थ्यो। रातको समयमा शव जलाएर घर फर्किंदा भूतप्रेतले तर्साउँछ कि भनेर डराउँथे। तर, अहिले उनलाई सामान्य लाग्छ, भूतप्रेतको डर मनबाट गायब भइसकेको छ। समाजले पनि आफ्नो पेशालाई सम्मान साथ हेरेकामा उनी गर्व गर्छन्।
बिक्रमले ४० औं वसन्त पार गरिसके। यो उमेर लाग्दासम्म उनको शरीरमा कुनै रोग व्याधले छोएको छैन। उनी निरोगी मात्र छैन, ह्रष्टपुष्ट पनि छन्। अहिलेसम्म बिरामी भएर सिटामोलसम्म खानु नपरेको उनी बताउँछन्।
उनी जातीय भेदभाव नकार्छन्। त्यसैले कुनै जात र धर्म नभनी शव जलाउन मद्दत गर्छन्। कसैले लाश जलाउन दिन्छन्, कसैले आफैं जलाउँछन्। शरीरले साथ दिइन्जेलसम्म लाश जलाउने काम गरिरहने उनको भनाइ छ।
चितामा मृतकको शरीर जलिरहँदा वरिपरि आफन्तजनको हृदय विदारक चित्कार र रोदन उनी आँशु लुकाएरै सहन्छन्। शब्दमा व्यक्त गर्न नसकिने दुःखको त्यस माहोललाई उनी जन्मनु र मृत्यु हुनुलाई प्रकृतिको नियम सम्झेर चुपचाप सहन गर्छन्।
लाश जलाउँदै गर्दा बिक्रम सर्वथा सोचमग्न हुन्छन्। सप्तकोशी नदी तटमा हरेक दिन एकपछि अर्को गर्दै सपनाहरू जल्छन्। भएका सम्बन्धहरू खरानीमा परिणत हुन्छन्। आशाका किरणहरू आँसुसँगै बग्छन्। ‘अरूको लाश जलाउने म, मृत्युपछि मेरो लाश कसले जलाउँछ होला?’ यसो भन्दै गर्दा उनका आँखामा आँशु छचल्किँदै थियो।
उनको ठेगाना र सम्पर्क नम्बर
नाम- बिक्रम राई
ठेगाना- बराहक्षेत्र नगरपालिका-१ चतरा बस स्टेसन
सम्पर्क नम्बर- ९८११३४५७३१