अस्मिता रिजाल
तीन महिनायता डेंगी संक्रमण निरन्तर बढ्दो छ । जनवरीयता २ अक्टोबरसम्म संक्रमितको संख्या ३४ हजार ३७८ पुगेको छ । जुलाइयता मात्रै डेंगीबाट २० जनाको मृत्यु पुष्टी भइसकेको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांक अनुसार, जुलाईदेखि बढ्दै गएको संक्रमण त्यही महिना ६ हजार ६९ जनामा फैलिएको थियो । त्यस्तै अगष्टमा १३ हजार ८४६ र सेप्टेम्बरमा ११ हजार ५८० जना संक्रमित थपिएका छन् । अक्टोबरका दुई दिनमा एक हजार १०९ जना संक्रमित भएको इडीसीडीको तथ्यांक छ ।
ईडीसीडी निर्देशक डा. रुद्रप्रसाद मरासिनीका अनुसार डेंगी सङ्क्रमण असारदेखि बढ्दै गई भदौ र असोज महिनामा उच्च हुने प्रक्षेपण गरिएको छ । अर्थात् असोज महिना संक्रमणका हिसाबले निकै जोखिमपूर्ण मानिएको छ ।
मनसुन लम्बिनुले पनि डेंगी फैलिन थप वातावरण बनाएको वरिष्ठ किटजन्य रोग विशेषज्ञ डा. गोकर्ण दाहाल बताउँछन् । केही समय पानी पर्ने र घाम लाग्ने मौसम लामखुट्टेको वृद्धि विकासका लागि उपयुक्त मौसम वातावरण हुने डा. दाहालको भनाइ छ । त्यसैले वर्ष जति लम्बिन्छ, त्यति नै डेंगी हट्ने सम्भावना कम हुने उनको भनाइ छ ।
किन दिनमा नै टोक्छ...?
डेंगी ‘एडीस एजिप्टी’ र ‘एडिस एल्बोपिक्टस’ प्रजातीका पोथी लामखुट्टेको टोकाइबाट सर्छ । यो लामखुट्टे बिहान घाम उदाएको दुई घण्टासम्म र साँझ घाम अस्ताउनुभन्दा २ घण्टाअघि बढी सक्रिय हुन्छ ।
डेंगी सार्ने लामखुट्टे सक्रिय हुन यो मौसम सबैभन्दा उपयुक्त वातावरण भएको विज्ञहरु बताउँछन् ।
वरिष्ठ सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाका अनुसार, यो लामखुट्टेलाई प्रजनन् प्रक्रियाका लागि प्रोटिनको धेरै आवश्यकता पर्छ, प्रोटिन जम्मा पार्न एकै पटकमा यसले ४ देखि पाँच जनासम्मको रगत चुस्ने गर्छ । त्यसैले डेंगी व्यक्तिबाट व्यक्तिमा नसरेपनि एउटै संक्रमित लामखुट्टेले परीवार वा वरीपरी रहेका धेरै जनालाई टोकेमा एकैपटक संक्रमितको संख्या बढ्नसक्ने हुन्छ ।
डा. बास्तोलाका अनुसार, यो लामखुट्टे चार सय मिटर वरपरसम्म उड्न सक्छ र यो सफा पानीमा बस्दछ । मानिसको शरीरको गन्ध थाहा पाउने भएकाले यो लामखुट्टे प्रायः मानिसकै आसपास रहन्छ, तर लार्भा भने सफा पानीमा पार्दछ ।
देख्नमा छिर्केमिर्के देखिने यो लामखुट्टेको लार्भा जम्मा गरेर राखिएको पानी, प्लाष्टिकमा जमेको पानी, गमलाको पानी आदिमा रहन्छ । नयाँ लार्भा पनि डेंगी सार्ने भाइरसबाट संक्रमित हुन्छ । मानिसमा सार्नसक्छ । त्यसैले डेंगी संक्रमण हुन नदिने प्रमुख उपाय नै लामखुट्टेको टोकाइबाट बच्नु भएको विज्ञहरु बताउँछन् ।
संक्रमण पुष्टी गर्न के के परीक्षण गर्ने ?
डेंगी संक्रमण भएमा १०४ डिग्री फरेनहाइटभन्दा बढी ज्वरो आउने, टाउको धेरै दुख्ने, बान्ता आउने, आँखाको पछाडिका भागमा दुख्ने, शरीरका विभिन्न भाग सुन्निने, रातो हुने, मांसपेशी तथा जोर्नीहरु दुख्नेजस्ता लक्षण देखिन्छन् । यद्यपि संक्रमण पुष्टी गर्न प्रयोगशाला परीक्षण नै आवश्यक हुने विज्ञहरु बताउँछन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार, डेंगी संक्रमण भए नभएको पहिचान मात्रैका लागि एनएस १, आइजीजी, आइजीएम परीक्षण गरिन्छ । जसले रगतमा प्रोटिन, इम्युनोग्लोबिन आदिको अवस्था बताउँछ । व्यक्तिमा डेंगी भाइरसको असर रहे वा नरहेको यही परीक्षणले पत्ता लगाउन सक्छ ।
यदि डेंगीको रिपोर्ट पोजिटिभ आएमा मात्रै सीबीसी कम्प्लिट ब्लड काउन्ट परीक्षण गराउनुपर्ने हुन्छ, जसले रातो, सेतो रगत, प्लेट्लेट्स्, हेमोग्लोबिन आदिको अवस्था बताउँछ ।
मानिसबाट मानिसमा सर्छ ?
विश्व स्वास्थ्य संगठनका अनुसार डेंगी संक्रमण मानिसबाट मानिसमा प्रत्यक्ष रुपमा सर्दैन । तर यदि संक्रमित व्यक्तिलाई टोकेको लामखुट्टेले दोस्रो व्यक्तिलाई पनि टोकेमा संक्रमण सर्ने सम्भावना रहन्छ ।
डेंगीको कुनै विशेष उपचार छैन, तर अस्पतालहरुमा नियन्त्रणका उपायहरुमार्फत् डेंगीको उपचार गरिन्छ ।
सिभियर डेंगी के हो ?
विश्व स्वास्थ्य संगठनका अनुसार डेंगी संक्रमण भएका ८० प्रतिशत व्यक्तिहरुमा सामान्य लक्षण देखिने तथा लक्षण नै नदेखिने हुन्छ । बाँकी २० प्रतिशतमध्ये पनि १ प्रतिशत संक्रमितलाई मात्रै कडा लक्षण देखिन्छ, जसलाई सिभियर डेंगी भनिन्छ ।
सामान्यतः उच्च ज्वरो (१०४ डिग्री फरेनहाइटसम्म) आउनु, टाउको तथा आँखाको पछाडिका भाग धेरै दुख्नु, शरीरका विभिन्न भागहरु असह्य हुनेगरी दुख्नु, बान्ता आउनु, ग्रन्थीहरु सुन्निनु डेंगीका लक्षण हुन् ।
यस्ता लक्षण भएका संक्रमित साधारणतया ७ दिनभित्र निको हुन्छन् । तर सिभियर डेंगी संक्रमितको तत्काल उपचार नभए मृत्यु समेत हुन सक्छ ।