उत्तम पोखरेल
अध्ययन र कामका लागि भनेर इजरायल पुगेका सुनसरीको बराहक्षेत्र नगरपालिका– १ मधुवनका राजेशकुमार स्वर्णकारका बुवाआमा शनिवार साँझ छोराको दीर्घायुको कामनासहित पूजा आराधना गर्न भनेर मन्दिर पुगेका थिए ।
इजरायलमा हमासले आक्रमण गरेको र छोरासँग सम्पर्क नभएको अवस्थामा चिन्तित बनेका उनीहरूले छोरालाई केही नहोस् भनेर भगवान् पुकारे । तर, दुर्भाग्य ! मन्दिरबाट फर्किँदै गर्दा छोराको मृत्युको खबर सुन्नुपर्यो अनि होसहवास उड्यो ।
‘राजेशको दीर्घायुको कामना गर्दै दुई भाइलाई लिएर ममीबुवा साँझमा मन्दिर जानुभएको थियो,’ जेठा दाइ मुकेशले भने, ‘मन्दिरबाट आउँदै गर्दा छिमेकी भाउजूले कान्छो भाइलाई इजरायलस्थित नेपाली दूतावासले सार्वजनिक गरेको नाम देखाइदिनुभएछ । भाइले राजेश दाइ रहनुभएन भनेपछिबाट आमा होशमा हुनुहुन्न ।’
इजरायलमा शनिवार भएको आतंककारी हमलामा मृत्यु हुने १० नेपाली मध्ये एक हुन्, राजेश । उनी परिवारका साइँला छोरा हुन् । राजेश कृषि विज्ञान अध्ययनका क्रममा काम र अध्ययनका लागि भनेर इजरायलमा गएका थिए । शुक्रवार मात्र दाजुहरूसँग उनको कुराकानी भएको रहेछ ।
धनगढी जानुपर्ने काम परेपछि दाजु मुकेशले राजेशलाई फोन गरेका रहेछन् । इजरायल जानुअघि राजेश टिकापुर बसेर सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययन गर्थे ।
सोही कारण धनगढी जान कति समय लाग्छ, कति खर्च लाग्छ, कहाँ बस्ने भनेर राजेशलाई सोधेको दाइ मुकेशले बताए । ‘भाइले होटलमा बस्न भन्यो । २५ सय भाडा लाग्छ भनेको थियो । दाइ, भोलि कुरा गरौंला, अहिले खाना खाने बेला भयो भन्यो । शनिवार यहाँ छुट्टी हुन्छ, अलि लामो गफ गरौंला भनेको थियो,’ मुकेशले रुँदै भने ।
शनिवार आफैं फोन गर्छु भनेकाले आफूले फोन नगरेको उनले बताए । तर, यसबीचमा नसोचेको घटना हुन पुग्यो ।
चार दाजुभाइमध्ये राजेशका जेठा दाजु मुकेश बराहक्षेत्र नगरपालिकाका इञ्जिनीयर हुन् । माइलो विनोद पनि इञ्जिनीयर नै छन् । उनले कन्सल्टेन्सी चलाउँदै आएका छन् । कान्छा भाइले पनि इञ्जिनीयरिङ पढिरहेका छन् ।
कृषि विज्ञान अध्ययनका लागि इन्ट्रान्समा राम्रो अंक ल्याएपछि राजेशले सुदूरपश्चिम विश्वविद्यालयमा छात्रवृत्ति पाएका थिए । सोही कारण उनी टीकापुर बसेर पढेका हुन् ।
उनी इजरायल गएको २६ दिन मात्रै भएको दाजु मुकेशले बताए । इजरायल जानुअगाडि राजेशले दाजुहरूसँग पनि सोधेका रहेछन् ।
आफूहरूले अस्ट्रेलिया जान सुझाव दिए पनि त्यता जान पैसा धेरै लाग्छ, इजरायल गएर अनुभव बटुलेर आउँछु भन्ने जवाफ दिएको मुकेशले सम्झिए ।
राजेशका बुवा राजकुमार कोशी गाउँपालिकाका कर्मचारी हुन् । सुगर र प्रेसरका बिरामी राजकुमारको आँखा ओभएका छैनन्, उनी पत्नी (राजेशकी आमा) मुर्छा परेकी छन् ।
‘बुबा सुगर तथा प्रेसरका बिरामी हुनुहुन्छ । भाइको निधनको खबरले उहाँका आँखा ओभाएका छैनन् । आमा मुर्छा परेकोपर्यै हुनुहुन्छ । पानी छम्केर राख्नुपरेको छ । छरछिमेक तथा आफन्तहरूले आएर आमाबुवालाई सम्झाउँदै हुनुहुन्छ,’ मुकेशले रुँदै भने ।
त्रासमा बित्यो पूरा दिन
इजरायलमा आतंककारी हमला भएको भन्नेबारे आफूले शनिवार राति मात्र थाहा पाएको मुकेशले बताए ।
‘शनिवार राति १० देखि ११ बजेको बीचमा मलाई श्रीमतीले आत्तिँदै फोन गरिन् । राजेश बाबुलाई फोन गर्नु न भनिन् । मैले किन ? के भयो र भनें ? मलाई बाबुजीले भन्नुभएको, बाबुहरू बसेको ठाउँमा द्वन्द्व भयो रे, हल्ला राम्रो छैन भनिन् । त्यसपछि मैले म्यासेन्जरमा फोन गरें । उसको सम्पर्क नम्बर हामीसँग थिएन । मैले माइलो भाइलाई पनि भाउजूले भनेको कुरा सुनाएर फोन गर्न भनें । यति हुँदासम्म हामीले घरमा भनेका थिएनौं ।
आइतवार बिहान युट्युबमा इजरायलका दृश्य हेरेपछि होसहवास उडेको उनले बताए ।
‘मेरो फुपाजू दुबईमा हुनुहुन्छ, उहाँलाई पनि बुझ्न लगायौं, तर केही पत्ता लागेन,’ मुकेशले भने, ‘भाइको एक लेडिज साथी काठमाडौंमा छिन्, उनीसँग सम्पर्क गरेपछि राजेशसँग सम्पर्क नभएको र सम्पर्क गर्ने प्रयास भइरहेको जवाफ पायौं ।’
राजेशकी तिनै साथीमार्फत परिवारका सदस्यले कलेजका प्राध्यापकको नम्बर पाए ।
‘भाइ राजेशको फोन लाग्दैन भनेर प्रिन्सिपललाई भन्यौं,’ राजेशका माइला दाइ विनोदले भने ‘उहाँले त्यहाँ फोनमा कुरा गर्न पाइँदैन, फेसबूकमा जोडिनुहोस् भन्नुभयो । इजारायलमा पढ्ने विद्यार्थीहरूको म्यासेन्जर ग्रुप रहेछ । हामीलाई पनि त्यो ग्रुपमा जोडिदिनुभयो । पटक–पटक फोन गरे पनि ग्रुपमा कसैले फोन उठाएनन् ।’
भाइसँग कुरा हुन्छ कि भनेर फोन गर्दा नउठेपछि निराश भएको उनले बताए । ‘राजेशकै एक साथीले यहाँ फोनमा बोल्न मिल्दैन भनेर म्यासेज गरे । राजेश कता छ भन्दा सम्पर्क छैन भन्ने जवाफ आयो । भाइका साथीहरूले सम्पर्क नम्बर पनि दिए, तर फोन लागेन । आइतवार दिनभरी नै त्रासमा बस्यौं ।’
आइतवार साँझ मृत्युको खबर आएपछि उनको परिवार मात्र हैन, सिंगो गाउँमा सन्नाटा छ ।