नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कोशी प्रदेशमा मध्यावधि निर्वाचन गराउँदा हुने देशको अनावश्यक खर्च जोगाउन विद्रोही कांग्रेसलाई समर्थन गरेको बताएका छन्।
आइतबार प्युठानको विजवार ज्रुमीमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कोशीमा कांग्रेसमा आएको विद्रोहले गठबन्धनलाई धक्का दिएको बताए।
‘तेस्रो भएको माओवादीलाई जताततै बोकेर हिँडेपछि सबैतिर कांग्रेसका नेता कार्यकर्ता आक्रोशित छन्। अति भएर कोशी प्रदेशमा कांग्रेसका केही साथीहरुले विद्रोह गर्नुभएको हो। कांग्रेसका नेताहरुले प्रचण्डले भनेको मात्रै गरेपछि यस्तो भएको हो। ८ सिटका पछि कांग्रेसको ह्वीप लागे पनि केही सांसदले विद्रोह गर्नुभयो,’ ओलीले भने।
एमालेलाई मध्यावधिले फाइदा हुने भए पनि चुनावका लागि हुने देशको ठूलो खर्च रोक्न कांग्रेसको विद्रोही पक्षलाई समर्थन गरेको बताए। उनले केन्द्र र प्रदेशमा सत्ताका लागि भएको अपवित्र गठबन्धनले सबैतिर संघीयताप्रति वितृष्णा जगाएको बताए।
‘कोशीमा हेर्नुस्, कति पटक किर्ते गरे, कति प्रदेशमा भागवण्डा पुर्याउन मन्त्रालय थपे। को–कोलाई कानुनविपरीत नियुक्त गरे, अनि यो प्रणालीमाथि वितृष्णा फैलिँदै गएको हो, यो सत्तारुढ गठबन्धनकै कारण भएको हो,’ ओलीले भने।
एमालेविरुद्ध घेराबन्दी हुँदा पनि नेकपा एमालेले देश बनाउँछ भन्ने विश्वासका साथ देशभरबाट धेरै मत पाएर पहिलो दल बने पनि सरकार बनाउन बहुमत नभएकाले अहिलेको अवस्था आएको उनले बताए। एमाले सकाउन हिँडेका आफै सकिएको उनको भनाइ थियो।