पर्यटन उद्योग र वायुसेवा भनेको उस्तै प्रकृतिका एउटै वर्गका उद्योग हुन् । दुबै सेवामूलक भएकोले दुबै पर्यटन नै हामीलाई चाहिन्छ । हामीले सकारात्मक सोच राखेर पर्यटन प्रवद्र्धन गर्नुपर्छ । सकारात्मक सोचबाट मात्रै पर्यटन सेवा सञ्चालन हुन्छ । नकारात्मक सोचबाट यो उद्योग नै चल्न सक्दैन । सकारात्मक सोच भएन भने कुनै पनि संविधान, विधान वा ऐन राम्रो भए पनि त्यसले काम गर्दैन । देश विकास पर्यटनबाट हुन्छ । यसका लागि पर्यटनप्रतिको सकारात्मक सोच चाहिन्छ ।
जुनबेलासम्म हाम्रो ज्ञान विवेकले काम गर्छ त्यहीँबेला मात्रै पर्यटन विकासले देश अगाडि बढ्छ । अन्यथा पर्यटन प्रवद्र्धन र विकास हुनै सक्दैन । हामी सबैले जनजनमा न्यायिक सचेतनाको नियम बसाउनु पर्छ । त्यसपछि मात्रै हाम्रो समस्याको समाधान हुन्छ ।
हाम्रो देशमा एकले अर्कोलाई गाली गरेको, राजनीतिक आक्षेप, आलोचना गरेको र नकारात्मक भाव प्रवाह भएको मात्रै समाचार आइरहेको छ । मैले जागिर खाएको समयमा करिब ६५ वर्ष पहिले राष्ट्रिय योजना आयोगका तत्कालीन उपाध्यक्ष डा. हर्क गुरुङ र मोहनमान सैजुसँग मेरो कुरा हुन्थ्यो । त्यतिबेला देश पहाडै पहाड, हिमालै हिमालेले घेरिएको छ, यस्तो देशमा बाटो कहिले पुर्याउने, बिजुलीको लागि तार कहिले तान्ने र कसरी काम गरेर देश विकास गर्न सकिन्छ भन्ने निकै चिन्ता हुन्थ्यो । अहिले २१ औं शताब्दीमा आइपुग्दा हामीले त्यतिबेला असहज महशुस गरेको र असम्भवजस्ता काम अहिले भइसकेका छन् । त्यसैले नेपाल नबनेको होइन बनाउने इच्छाशक्ति नभएको हो ।
हाम्रो देश विश्वमै उत्कृष्ट छ । भगवानले नेपाललाई स्वर्ग बनाइदिएकै हुन् । देशले दिएको प्राकृतिक सम्पदादेखिको स्रोत साधान प्रयोग गर्न नजानेको हो । माल पाएर चाल नपाउने भनेजस्तै हामी नेपाली मूर्ख भएर देश विकास ढिलो भएको हो । हामी नेपाली गरीब होइन, सोचाइमा गरीब हौं ।
मानसिकता दरिद्र बनाएर बिग्रिएको हो । यो देश न राजाले बिगारेको हो न नेताले । यो त तपाईं हामी जनताले नै बिगारेको हो । हामी सबैलाई अरुले गर्नुपर्ने काम सबै थाहा हुन्छ तर आफूले गर्नुपर्ने र पूरा गर्नुपर्ने जिम्मेवारी केही पनि थाहा हुँदैन । वास्ता गर्ने गरिएको छैन।
आजको समय हामी जनताकै हो । तर हामी नेपाली नागरिक नै हुन सकेको छैनौं । हामी नेपाली नागरिक हुन त अर्काको आँखामा राम्रो काम गर्न सक्ने र गरेको हुनुपर्छ । हामी नेपालीले गर्नुपर्ने काम के हो भनेर सबैले आआफ्नै जिम्मेवारी पूरा गर्ने मात्रै हो भने पनि देश सलल बगेको नदी झैं विकास निर्माणको गतिमा गइरहेको हुन्छ ।
हामी नेपाली जन्मजात नै संस्कारी हौं । अमेरिका र अष्ट्रेलिया भन्ने देश थाहै नहुँदा झझराउँदो नेपाल बनाउने पूर्खाका सन्तान हौं, हामी । हामीले गर्न सक्ने काम धेरै छन् । मैले देश विकास गर्न सकिने आधार र सम्भावना मैले प्रसस्तै देखेको छु । म ८३ वर्षमा त देश विकास गर्न सकिन्छ भनेर सकारात्मक सोचाका साथ लागि परेको छु । युवापुस्ताको सोचाइले काम गर्ने हो भने पक्कै देश बन्छ ।
अहिले त युवापुस्ता देशमा बस्नै नमान्ने र नसक्ने भएका छन् । देशमा बस्नेलाई हीनता र ग्लानी हुने अवस्था सिर्जना भएको र त छिटोछिटो बाहिरिरहेका छन् । अभिभावकले नै आफ्ना सन्तालाई बाहिरै लखट्ने काम गरेका छन् । मैले त गाउँ गाउँसम्म पुगेर भन्ने गरेको छु, आफ्नै पौरखले काम गर्नुपर्छ देशमा संभावना अपार छ ।
बाहिर काम गर्न जाने भनेको अर्काको नोकर बन्ने हो, मालिक बन्ने हो भने देशभित्रै बस्नुपर्छ । देशभित्रै बस्ने हो भने आमाको काख, साथीको साथ, संस्कृतिको छहारी यही छ । यो राज्यले वातावरण बनाउने काम गर्नुपर्छ ।
म आफैं अहिले २०/३० लाख रुपैयाँ खर्च गरेर नैतिक शिक्षाको पुस्तिका प्रकाशन गर्न थालेको छु । यो काम राष्ट्रिय योजना आयोगले गर्न सक्ने काम हो । राज्यले गर्नुपर्ने काम हो । पहिले हामी नैतिक शिक्षा पढेर आएका नेपाली हौं । नैतिक शिक्षा नै नभएको कारण सफल मात्रै बनेर हुँदैन असल बन्नुपर्छ भन्ने भन्ने मेरो मनसाय हो ।