राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार कोशी प्रदेशमा सबैभन्दा बढी रोजगारी रहेको छ ।
तथ्यांकअनुसार रोजगारको हिसाबले हेर्दा सबैभन्दा बढी भाग्यमानी कोशी प्रदेशका बासिन्दा रहेका छन् । त्यसपछि बागमती प्रदेशमा बढी रोजगार छन् । कोशी प्रदेशका ९४.८ प्रतिशत जनसंख्या विभिन्न आर्थिक कृयाकलापमा संलग्न छन् भने बागमती प्रदेशका ९४.१ प्रतिशत जनसंख्या विभिन्न आर्थिक कृयाकलाप तथा रोजगारीमा संलग्न छन् ।
गण्डकी प्रदेशमा ९२.६ प्रतिशत, कर्णाली प्रदेशमा ९२.५ प्रतिशत, सुदूरपश्चिम प्रदेशमा ९२ प्रतिशत, लुम्बिनी प्रदेशमा ९१.९ प्रतिशत, र मधेश प्रदेशमा ९१.७ प्रतिशत रोजगारी रहेको तथ्यांकमा उल्लेख छ ।
जनसंख्याको हिसाबमा भने बागमती प्रदेशमा बसोबास गर्ने २५ लाख ६२ हजार २ सय ६३ जना नेपाली कुनै न कुनै रोजगारीमा संलग्न छन् । यसपछि कोशी प्रदेशका २१ लाख ३४ हजार ८ सय ९१ जना नेपाली रोजगारसँग आवद्ध छन् ।
यसैगरि, लुम्बिनी प्रदेशका १८ लाख ७२ हजार २ सय ११ जना, मधेश प्रदेशका १८ लाख ३ हजार ८ सय ३८, गण्डकीका ९ लाख ८६ हजार ५ सय २०, सुदूरपश्चिमका १० लाख ९ हजार ६ सय ६७ जना र कर्णालीका ६ लाख ६८ हजार ७ सय १५ नेपाली रोजगारीको पहुँचमा पुगेका छन् ।
युवापुस्ता बाहिरिँदा जनसंख्या वृद्धिदर घट्यो
नेपालको जनसंख्या वार्षिक वृद्धिदर घट्दै गएको छ ।
राष्ट्रिय तथ्याँक कार्यालयले राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनलाई विश्लेषण गर्दै जनसंख्याको अवस्थाबारे आइतबार प्रतिवेदन सार्वजनिक गर्दै सन् २००१ को तुलनामा सन् २०२१ मा जनसंख्याको वार्षिक वृद्धिदर घट्दै गएको जनाएको हो ।
कार्यालयका अनुसार सन् २००१ मा जनसंख्याको वार्षिक वृद्धिदर २.२५ प्रतिशत थियो ।
सन् २०११ मा जनसंख्याको वार्षिक वृद्धिदर एक दशकअघिभन्दा ह्रास भएर १.३५ प्रतिशतमा पुगेको थियो भने सन् २०२१ मा आएर जनसंख्याको वृद्धिदर घटेर ०.९२ प्रतिशतमा पुगेको तथ्यांक कार्यालयले जनाएको छ ।
उपप्रमुख तथ्यांक अधिकारी डा.हेमराज रेग्मीका अनुसार सन् २००१ मा जनसंख्याको वार्षिक वृद्धिदर २.२५ प्रतिशत हुँदा त्यो वेला नेपालको कूल जनसंख्या २ करोड ३२ लाख थियो । वार्षिक वृद्धिदर क्रमिक रुपमा घटेर सन् २०११ मा आइपुग्दा १.३५ प्रतिशतमा झरेको थियो । यो बेला नेपालको जनसंख्या २ करोड ६५ लाख थियो ।
सन् २०२१ मा जनसंख्याको वार्षिक वृद्धिदर झनै खुम्चेर ०.९२ प्रतिशतमा झर्दा नेपालको जनसंख्या २ करोड ९२ लाख पुगेको छ । तर, सन् १९२० मा पनि जनसंख्याको वार्षिक बृद्धि दर ऋणात्मक अवस्थामा थियो । त्यो वेला ०.१३ प्रतिशत मात्रै जनसंख्याको वार्षिक वृद्धिदर थियो ।
तथ्यांक कार्यालयका अनुसार जनसंख्याको वार्षिक वृद्धिदर सबैभन्दा उच्चतम विन्दुमा सन् १९८१ मा पुगेको थियो । त्यो वेला नेपालको जनसंख्या १ करोड ५० लाख हुँदा वार्षिक वृद्धिदर भने २.६२ प्रतिशतसम्म पुगेको थियो ।
तथ्यांकअनुसार जनसंख्याको वार्षिक वृद्धिदर घट्दै गएको अवस्था तराई, हिमाल र पहाडमा करिब उस्तै देखिएको छ । सन् २०११ को तुलनामा सन् २०२१ मा तराईमा १.७२ प्रतिशतबाट घटेर १.५४ प्रतिशतमा पुगेको छ । यस्तै हिमालमा १.०६ प्रतिशतबाट घटेर ऋणात्मक ०.३० प्रतिशतमा र पहाडमा ०.५४ प्रतिशतबाट घटेर ऋणात्मक ०.०५ प्रतिशतमा पुगेको छ ।
अधिकाँश युवापुस्ता वैदेशिक रोजगारीमा गएका कारण प्रजनन क्षमतामा ह्रास आएकाले जनसंख्याको वार्षिक वृद्धिदर कमजोर बन्दै गएको हो ।
प्रजनन क्षमता पुगेको युवापुस्ता सन्तान उत्पादन गर्ने समयमै वैदेशिक रोजगारीको क्रममा विदेशिन लागेकाले जनसंख्याको वार्षिक बृद्धि दर खुम्चिदैं गएको देखिएको हो ।
अर्कोतर्फ पहिले एउटा दम्पतिले ३ वटासम्म सन्तान जन्माउँदै आएकोमा अहिले आएर एउटा मात्रै सन्तान जन्माउँदै प्रवृतिसमेत सुरु भएकाले पनि जनसंख्याको वार्षिक वृद्धिदरमा ह्रास आएको हो ।
वैदेशिक रोजगारको क्रममा गत आर्थिक वर्ष २०७९/८० मा विदेश जाने युवाको संख्या करिब ८ लाख पुगेको थियो ।
वैदेशिक रोजगार विभागका अनुसार गत आर्थिक वर्षमा अहिलेसम्मकै सबैभन्दा बढी ७ लाख ७१ हजार ३२७ जना श्रमिक श्रम स्वीकृति लिएर विदेश गएका थिए । यो नयाँ र पुनः श्रम स्वीकृति लिएर जानेहरुको संख्या हो ।
चालु आर्थिक बर्ष २०८०/८१ को ८ महिनाको अवधीमा वैदेशिक रोजगारीमा जाने युवाको संख्या घटेको विभागले जनाए तापनि वैदेशिक रोजगारमा जाने क्रम रोकिएको छैन ।
विभागको तथ्यांकअनुसार गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु आवको सोही अवधिमा १३ प्रतिशतले वैदेशिक रोजगारीमा जानेको संख्या घटेको हो ।
गत आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालबाट रोजगारीको खोजी गर्दै ५ लाख ४० हजार ६७५ जना विदेशमा पुगेका थिए । चालु आवको सोही अवधिमा ४ लाख ७१ हजार २१० जना विदेशिएका छन् ।
नेपालबाट चालु आर्थिक वर्षको साउनमा ५५ हजार ५७५ जना नेपाली विदेशिएका थिए ।
भदौमा ५० हजार ८८४ जना, असोजमा ५६ हजार २३५ जना, कात्तिकमा ४३ हजार ६२२ जना, मंसिरमा ७१ हजार २७६ जना, पुसमा ६५ हजार ८१३जना, माघमा ६२ हजार १४७ जना र फागुनमा ६५ हजार ६५८ जना विदेशिएका छन ।
यस्तै, तथ्यांक कार्यालयका अनुसार जनसंख्याको आधारमा सबैभन्दा बढी जनसंख्या मधेश प्रदेश र वागमति प्रदेशमा रहेको छ । ती दुबै प्रदेशमा समान अर्थात कूल जनसंख्याको २१– २१ प्रतिशत जनसंख्या रहेका छन् ।
सबैभन्दा कम जनसंख्या कर्णालीमा ५.८ प्रतिशत मात्रै छ । दोश्रो जनसंख्या बढी हुने प्रदेश लुम्बिनी भएको छ । लुम्बिनीमा १७.६ प्रतिशत जनसंख्या बसोबास गर्छन ।
यस्तै सुदुरपश्चिममा ९.२, गण्डकीमा ८.५ र कोशीमा १७ प्रतिशत जनसंख्या बशोबास गर्छन् ।
अत्याधिक जनसंख्या बशोबास गर्ने हिसावले सबैभन्दा बढी मधेश र वागमति प्रदेश भएपनि जनसंख्याको वार्षिक वृद्धिदरको हिसाबले भने सबैभन्दा बढी लुम्बिनी प्रदेशमा छ ।
लुम्बिनी प्रदेशमा जनसंख्याको वार्षिक वृद्धिदर १.२४ प्रतिशत रहेको छ ।
वार्षिक वृद्धिदर सबैभन्दा बढी लुम्बिनी प्रदेशको भएकाले यहि वृद्धिदर कायमै रहने हो भने आगामी १० बर्षपछि सबैभन्दा बढि जनसंख्या लुम्बिनी प्रदेशमा हुन सक्ने अवस्था सिर्जना भएको छ ।
वार्षिक वृद्धिदरको हिसाबले हेर्दा सबैभन्दा कम गण्डकी प्रदेशको छ । गण्डकी प्रदेशको जनसंख्या वार्षिक वृद्धिदर ०.२५ प्रतिशत मात्रै रहेको छ । यसपछि सुदुरपश्चिमको ०.५२, कर्णालीको ०.७०, वागमतिको ०.९७, मधेशको १.१९ र कोशीको ०.८६ प्रतिशत वार्षिक जनसंख्या वृद्धिदर रहेको तथ्यांक कार्यालयले जनाएको छ ।
नेपाल बाहिर ४४ लाख नेपाली
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार जनसंख्या गणना भएको बर्षलाई आधार मान्दा सन् २०२१ मा काम गर्न र बाहिर बसाई गर्ने उद्देश्यले गरी कूल जनसंख्यामध्ये १५.३ प्रतिशतका दरले कूल ४४ लाख ५७ हजार ८ सय २८ नेपाली विभिन्न मुलुकमा पुगेका छन् ।
नेपाल छाडेर विदेश जानेमध्ये पुरुषको संख्या २१.७ प्रतिशतका दरले ३० लाख ९४ हजार ६ सय १० छन् भने महिलाको संख्या १३ लाख ६३ हजार २ सय १८ छन् ।
विदेश पुगेका कूल नेपालीमध्ये श्रम स्वीकृति लिएर कामदारको रुपमा ७.८ प्रतिशत (२२ लाख ६७ हजार २ सय ३७ ) नेपाली विभिन्न मुलुकमा पुगेका छन् भने बसाई गर्ने उद्देश्यले ७.५ प्रतिशत (२१ लाख ९० हजार ५ सय ९२ ) नेपाली पनि विभिन्न मुलुक पुगेका छन् ।
प्रदेशगत संरचनाअनुसार सबैभन्दा बढी गण्डकी प्रदेशको २६.३ प्रतिशत नेपाली कामदार र बसाई गर्ने उद्देश्ले नेपालबाहिर पुगेका छन् ।
क्षेत्रगतरुपमा कामदारको रुपमा भने सबैभन्दा बढि पहाडी भेगका १५ प्रतिशत नेपाली विभिन्न मुलुक गएका छन् । बसाई गर्ने उद्देश्यले भने सबैभन्दा बढि गण्डकी प्रदेशका ११.६ प्रतिशत नेपाली विदेश गएका छन् ।
तथ्यांकअनुसार सन् २०११ मा नेपाल बाहिर भएका नेपालीको जनसंख्या ७.३ प्रतिशत थियो ।
साक्षरता दर बढ्यो
कार्यालय सार्वजनिक गरेको तथ्याकअनुसार साक्षरता दर पनि वृद्धि भएको छ । सन् २०११ मा समग्र नेपालको साक्षारता दर ६६.६ प्रतिशत थियो । सन् २०२१ मा आइपुग्दा यो दर बढेर ७६.३ प्रतिशत पुगेको छ । यसमध्ये पुरुषको साक्षारता दर ८३.६ प्रतिशत र महिलाको ६९.४ प्रतिशत छ ।