-पुष्पा पौडेल
विद्यार्थीलाई स्कुले जीवनको माध्यमिक तह पार गर्ने महत्त्वपूर्ण खुट्किलो हो, माध्यमिक शिक्षा परीक्षा (एसईई) । अनि विद्यार्थी, अभिभावक, विद्यालय एवं शिक्षकको खास मूल्याङ्कन हुने महिना चैत ।
कुनै बेला ‘फलामे ढोका’ भनिने माध्यमिक तहको परीक्षाप्रति अहिले पनि चासो, चिन्ता र भय उत्तिकै देखिन्छ । स्कुले जीवन पार गरी एक खुट्किलो माथि उक्लिने जोस जाँगरसहित वर्षभर मिहिनेत गरेका विद्यार्थीलाई एसईई अन्य कक्षाको वार्षिक परीक्षाजस्तै हो भन्ने बुझाइ स्थापित गराउन भने अझै नसकेको प्रस्टै देखिन्छ ।
हुनलाई एसईई, स्कुले जीवनको माध्यमिक तह पार गर्ने एउटा सामान्य परीक्षा मात्रै हो तर यसलाई ठूलो हाउगुजी बनाइएको सराेकारवाला बताउँछन् । एसईईमा प्राप्त अंकलाई मात्र प्रतिष्ठाको विषय बनाइएको छ, जसले पनि विद्यार्थीलाई बारम्बार तर्साइरहन्छ ।
नतिजा ग्रेडिङ प्रणालीमा आउँदासमेत त्यसलाई प्रतिशतमा रुपान्तरण गरेर होहल्ला गर्ने क्रम नरोकिएको एसईई यसपटक ननग्रेडिङका साथ सम्पन्न हुँदै छ । वर्तमान मूल्याङ्कन प्रणालीको आगमनका साथसाथै विद्यार्थीमा मिहिनेत गर्ने बानी क्रमशः हट्दै गएको पाइएको छ । पास भइहालिन्छ, अब त नपढे पनि हुन्छ भन्ने गलत सोचाइले गर्दा धेरै विद्यार्थी प्रायः असफल हुने गरेको अघिल्ला वर्षका नतिजाले देखाइदिएको अवस्थामा राष्ट्रिय परीक्षा बोर्डले यसपटक लेटर ग्रेडिङ निर्देशिका २०७८ लागू गरेको छ ।
यसपल्ट विगतभन्दा केही फरक विशेषतासहित सञ्चालन हुन लागेको राष्ट्रिय परीक्षा बोर्डअन्तर्गको कक्षा १० तर्फका परीक्षा नियन्त्रक नन्दलाल पौडेलले बताए । परीक्षा जटिल हुन्छ भनेर बालबालिकामा एक खालको मनोवैज्ञानिक त्रास उत्पन्न गराइएको भए पनि परीक्षा नियमित प्रक्रियाजस्तै सहज र सरल हुने हुँदा नआत्तिईकन परीक्षामा सहभागी हुन उनले आग्रह पनि गरे ।
पौडेलले भने, ‘यस वर्ष नयाँ पाठ्यक्रमअनुसार एसईई हुँदै छ । यसमा विगतका भन्दा केही व्यवस्था परिवर्तन गरिएको छ ।’
'विगतमा १०० पूर्णाङ्कका लागि ३ घण्टा र ७५ पूर्णाङ्कका लागि २ घण्टा १५ मिनेट समय तोकिन्थ्यो । नयाँ पाठ्यक्रमअनुसार ७५ पूर्णाङ्कका लागि पनि ३ घण्टा समय तोकिएको छ,' पौडेलले भने, ‘सय पूर्णाङ्कको कुनै परीक्षा हुँदैन । सबै विषयमा प्रयोगात्मक परीक्षाको व्यवस्था गरिएको छ । ५० पूर्णाङ्कका लागि भने २ घण्टा समय तोकिएको छ ।’
बोध तहका प्रश्नपत्र बढी सोधिने हुनाले परीक्षा सरल हुने परीक्षा उनको भनाइ छ । ‘सबै प्रश्न बोधतहबाट सोधिएको छ, सरलबाट सुरु भएर स्तरअनुसार केही जटिल प्रश्न छन्,’ उनले भने, ‘विद्यार्थीले आफ्नो ज्ञान, बोध र संज्ञानात्मक ज्ञानका आधारमा नै उत्तर दिन सक्छन् । त्यसो भएकाले परीक्षा सजिलो छ । आत्तिनु पर्दैन । राम्ररी बुझेर परीक्षा दिए हुन्छ ।’
प्रश्नको उत्तर अलिक विस्तृतमा लेख्नुपर्ने भएकाले विद्यार्थीलाई सहज होस् भनेर ७५ पूर्णाङ्कका लागि पनि ३ घण्टा समय तोकिएको पौडेलको भनाइ छ । प्रयोगात्मक परीक्षा भने तोकिएको मापदण्डअनुसार विद्यालयले नै लिने व्यवस्था गरिएको छ ।
लिखित परीक्षाको प्रश्नपत्रको ढाँचा पनि विगतका भन्दा फरक रहेको पौडेलले बताए । विगतमा ८ वटा विषयमा परीक्षा दिनुपर्ने व्यवस्थामा नयाँ पाठ्यक्रमअनुसार ७ विषय मात्र समावेश गरिएको छ । उनले भने, 'यसपटक एउटा विषय हटेको छ । नियमित तर्फको विद्यार्थीले ७ वटा विषयमा परीक्षा दिन्छन । तर, ग्रेडवृद्धितर्फका विद्यार्थीले भने ८ वटा विषयमा परीक्षा दिनुपर्नेछ ।' उनका अनुसार ग्रेडवृद्धिको परीक्षा भने पुरानो पाठ्यक्रमअनुसार हुनेछ । प्रश्नपत्र र समय निर्धारण पनि पुरानो पाठ्यक्रमअनुसार नै हुनेछ ।
यस्तै, सैद्धान्तिक परीक्षामा ३५ भन्दा कम प्रतिशत अंकभार र आन्तरिक मूल्यांकनमा ४० भन्दा कम प्रतिशत अंकभार आएमा ग्रेड सिटमा ८ स्टार दिइनेछ । दुई विषयसम्म नन ग्रेडेड अर्थात् एनजी ल्याएका वा दुई विषयमा अनुपस्थित भई अन्य सबै विषयमा ३५ र सोभन्दा बढी प्रतिशत ल्याएका विद्यार्थीले ग्रेडवृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् भने दुईभन्दा बढी विषयमा एनजी प्राप्त गरेका वा अनुपस्थित विद्यार्थीले पुनः सोही कक्षाको नियमित पठनपाठन क्रियाकलापमा सहभागी हुनुपर्ने परीक्षा नियन्त्रक पौडेलले बताए ।
उनका अनुसार, 'सैद्धान्तिक परीक्षामा ३५ प्रतिशतभन्दा कम आएमा, आन्तरिक मूल्याङ्कनमा ४० प्रतिशतभन्दा कम आएमा ग्रेड सिटमा नट ग्रेडेड लेखिनेछ । उक्त एनजी आएका विद्यार्थीले माथिल्लो कक्षामा अध्ययन गर्न पाउँदैनन् ।' आन्तरिक/प्रयोगात्मक परीक्षामा कम्तीमा सी ग्रेड र सैद्धान्तिक परीक्षामा कम्तीमा डी ग्रेड ल्याएमा मात्र स्तरीकृत अंक औसत एभरेज जीपीएसहितको ग्रेड सिट दिइने पौडेलले जानकारी दिए ।
परीक्षामा ५ लाख ४ हजार ४ सय १४ विद्यार्थी सहभागी हुँदै छन । तीमध्ये २० हजारजति ग्रेडवृद्धितर्फका छन् । यस वर्षको परीक्षाका लागि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको छ । जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले बताए । चैत १५ गतेदेखि सुरु भई २७ गते सम्पन्न हुने एसईई परीक्षाका लागि बोर्डले देशभर २ हजार ६४ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
विगतका एसईई परीक्षाको नतिजालाई हेर्ने हो भने अधिकांश विद्यार्थी अंग्रेजी, गणित, सामाजिक र विज्ञानमा कमजोर देखिएका छन् । यी विषयमा विद्यार्थीको सिकाइस्तर कमजोर छ । त्यसमाथि, एनजी प्रणालीले बालबालिकामा ३५ प्रतिशतभन्दा कम अंक ल्याउनेलाई अवर्गीकृत ग्रेडमा पर्ने भन्ने चिन्ता छ । तर, यो चिन्ता लिन आवश्यक नरहेको नियन्त्रक पौडेल बताउँछन् । प्रश्नमा नै समस्या खोजेर पत्ता लगाउन सक्ने सरल खालका भएको हुँदा संयमित भएर, बुझेर प्रश्नको समाधान गरे कोही आत्तिनु नपर्ने उनको बुझाइ छ ।
बोर्डद्वारा सञ्चालन हुने उक्त परीक्षालाई स्वच्छ, व्यवस्थित, मर्यादित, भयरहित र शान्तिपूर्ण वातावरणमा सञ्चालन गर्न गराउन परीक्षासँग प्रत्यक्ष र परोक्ष रूपमा संलग्न सबै सरोकारवालाहरूबाट भएको समन्वयात्मक प्रयासहरूप्रति आभार व्यक्त गर्दै परीक्षा सम्पन्न नहुँदासम्म आवश्यक सहयोग र समन्वयका लागि उनले अपिलसमेत गरे ।
पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभर ७७ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिए । ‘प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समयअगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्नपत्र पठाइनेछ’, उनले भने ।
परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको उनले बताए । परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको पौडेलले जानकारी दिए ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट ७ पुस २०७८ मा ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । यस वर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ ।
वास्तवमै एसईई सामान्य परीक्षासरह भए पनि त्यो बुझाइ विद्यार्थीमा छैन । अभिभावक र विद्यार्थीमा यो अझै विशेष हुने गरेको छ । एसईई परीक्षाबारे गरिने ठूलो हल्लाखल्लाले विद्यार्थीलाई मानसिक दबाब दिने गरेको छ । आफूले अध्ययन गरेको विद्यालयभन्दा बाहिर गएर धेरै विद्यार्थी परीक्षामा सहभागी हुनुपर्ने अवस्था छ । जसले गर्दा पनि उनीहरूलाई दबाबको महसुस हुन्छ । यसैबीच परीक्षा नियन्त्रक पौडेलले परीक्षा एउटा नियमित प्रक्रिया भएको र विद्यार्थी यस प्रकारका धेरै परीक्षाहरूमा सहभागी भई यहाँसम्म आइपुगेको हुँदा सदाजस्तै योपटक पनि परीक्षा सहज रूपमा सम्पन्न हुनेमा आफू विश्वस्त रहेको बताए ।