पेसाले अधिवक्ता हुन्, सुहाङ नेम्बाङ। बुवा सुवास नेम्बाङको निधनपछि उनलाई एमालेले राजनीतिक बाटोमा डोर्याएको छ। उमेरले ३५ वर्षीय सुहाङ एमालेले दिएको चुनौतीपूर्ण भारी बोकेर अहिले इलामका गाउँबस्ती डुलिरहेका छन्। उनलाई २५ वर्षदेखि अनवरत बुवाले बनाएको जितको विरासत जोगाउनुपर्ने बाध्यता एकातिर छ भने अर्कोतिर नयाँ दलको देशव्यापी बढ्दो उपस्थितिको सामना गरेर संघीय संसद्मा स्थान सुनिश्चित गर्नुपर्नेछ। कोसीमा पहिचानवादीका गतिविधि, स्वतन्त्र उम्मेदवारको लहर र केन्द्रमा फेरिएको सत्ता समीकरणका बीच सुहाङले आफूलाई कसरी चुनावी मैदानमा उतार्दै छन्?
यिनै सन्दर्भमा उपनिर्वाचनमा इलाम २ का एमाले उम्मेदवार सुहाङ नेम्बाङसँगको कुराकानी :
टिकट पाउनुअघिदेखि नै इलाम घुमिरहनुभएको थियो। कस्तो प्रतिक्रिया पाइरहनुभएको छ?
अहिले म इलाममा घुमिरहँदा यहाँका शुभचिन्तक, शुभेच्छुकहरू सबै हर्षित देख्छु। उहाँहरूले माया गरिरहेको देख्छु। उहाँहरूले ‘सुहाङ तिमी आउनुपर्छ’ भनेर पहिल्यैदेखि भनिरहनुभएको थियो। त्यसकारण अहिलेको माहोल एकदमै राम्रो पाएको छु।
तपाईंले जनतामा कस्तो पाउनुभयो उत्साह?
अवश्य पनि नेकपा एमाले देशभरि नै एक हिसाबले लोकप्रिय पार्टी भनेर स्थापित छ। समानुपातिकतर्फको मतले पनि त्यो देखिन्छ। इलाममा पनि अवस्था त्यस्तै नै पाएको छु, जनताको उत्साह। एमाले र युवालाई अघि बढाएको कुरालाई लिएर हर्षित हुनुहुन्छ। स्वागत गर्नुभएको छ।
एमाले नेतृत्वले नयाँ पुस्तामा विश्वास गरेकामध्ये पछिल्लो समय तपाईं पनि हुनुहुन्छ। यो विश्वास कायम राख्न इलाममा उपनिर्वाचन जित्ने तपाईंका आधार के हुन्?
इलाम २ मा मेरो अघिदेखिकै एजेन्डा भनेको, अपूरा सपना र प्रतिबद्धतालाई पूरा गर्नु छ। थप शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार लगायतका विषयमा काम गर्नु छ। सँगसँगै पार्टीले जुन घोषणापत्र तयार गर्छ, त्यसले इलामको सिंगो हितका लागि बोल्नेछ।
हामी गाउँगाउँ गएर आदरणीय आमाबुवा, दाजुभाइ, दिदीबहिनी लगायतबाट छलफलमा टिपोट गरेका कुराहरूलाई टिपेर घोषणापत्रमा थप गर्छौँ। सँगै, हाम्रो संगठन पनि बलियो छ। अहिलेसम्म विश्वास जित्ने काम गरेका छौँ। यिनै आधारले हाम्रो जित सुनिश्चित छजस्तो लाग्छ।
कोसीमा लामो समयदेखि पहिचानको मुद्दा उठिरहेको छ र यहाँ एमाले पहिचानविरोधी पार्टी भनेर चिनिएको छ। यसलाई कसरी सामना गर्नुहुन्छ?
पहिचानको कुरा एकदमै संवेदनशील छ। एमालेलाई पहिचानविरोधी भनेर जुन भाष्य स्थापित गरिएको छ, यो गलत छ। यो मात्रै एउटा पार्टी हो, जसले सबै धर्म, जातजाति समेटेर अघि बढेको छ। संविधान बनाउँदा पनि सबैको हक अधिकार सुनिश्चित होस् भनेर अन्य पार्टीसँग पनि मिलेर स्थापित गर्ने काम भएको छ।
हामीले भन्दा, फाल्गुनन्द गुरुलाई जुन राष्ट्रिय विभूतिको दर्जा दिइयो, त्यो पनि हाम्रो अगुवाइमै अरु पार्टीसँग मिलेर भएको हो। अन्य थुप्रै कारणले पनि एमाले पहिचानविरोधी पार्टी होइन। जुन तरिकाको कुरा उठेको छ, त्यसलाई हामीले एकअर्कासँग सल्लाह गरेर अघि बढ्नुपर्छ। यदि हक अधिकार मिचिएको हो भने त्यसलाई कसरी समाधान गर्न सकिन्छ भनेर हामी युवा अघि आएका हौँ। यसमा वार्तालाप गर्नुपर्छ। समस्याको समाधानका लागि ‘मिडपोइन्ट’मा पुग्नुपर्छ।
पुराना कुराहरूलाई कोट्याउँदै एकअर्काको गालीगलौजमा उत्रिनु राम्रो हुँदैन। यसले हामी कहीँ पनि पुग्दैनौँ। समस्यालाई बल्झाउने र झन् जटिल बनाउने होइन, समाधानतर्फ अघि बढ्नुपर्छ।
इलामको निर्वाचनमा आफ्नो मुख्य प्रतिस्पर्धी कसलाई लिनुभएको छ?
म इलामको चुनावमा होमिइसकेपछि सबैजना मेरो मुख्य प्रतिस्पर्धी नै हुनुहुन्छ। नेकपा एमाले विशाल पार्टी हुँदाहुँदै पनि कसैलाई पनि सानो भनेर हेर्न हुँदैन। नेपाली कांग्रेस, रास्वपालगायत अन्य स्वतन्त्र उम्मेदवारी दिनुभएकाहरू सबै सक्षम हुनुहुन्छ, अब्बल हुनुहुन्छ। सबैजना समाज रुपान्तरण र आर्थिक रुपान्तरणका लागि देशका निम्ति राजनीति गर्छु भनेर लड्न आउनुभएको छ। मैलै कसैलाई पनि कमजोर ठान्नुहुन्न।
रास्वपाबाट उम्मेदवारी दिनुभएका मिलन लिम्बूसँग तपाईंलाई तुलना गर्न थालिएको छ। उहाँसँगको प्रतिस्पर्धालाई कसरी हेनुभएको छ?
मिलन लिम्बूजी पत्रकारिता गर्दै राजनीतिसम्म आउनुभएको भन्ने मैले सुनेको छु। आज इलामकै मैदानमा हाम्रो भेट पनि भयो। हामीले एकअर्कालाई शुभेच्छा व्यक्त गर्यौँ। मैले उहाँका अन्तर्वार्ताहरू हेरेको छु। उहाँ सक्षम व्यक्ति हुनुहुन्छ। अब्बल हुनुुहुन्छ। केही गर्छु भनेर राजनीतिमा आउनुभएको छ। उहाँलाई शुभकामना छ।
तपाईंलाई परिवारवादको सहारामा राजनीतिमा भित्रिएको भन्ने पनि आरोप छ। कसरी लिनुभएको छ?
मैले धेरै वार्तालापमा भन्ने गरेको छु, परिवारको सुविधा भनेर एक खालको भाष्य स्थापित गर्न खोजिएजस्तो देखिन्छ। म सानैदेखि परिवारमा हुँदा, बुवा कतिबेला घर आउनुहुन्थ्यो र जानुहुन्थ्यो भन्ने पनि थाहा हुँदैन थियो। म अहिले ३५ वर्षको भएँ।
मलाई बुवासँग बसेर जम्मा ७/८ वटा मात्रै दसैँ मनाएको याद छ। परिवारमा बुवासँग चाड मनाउनका लागि एकदमै महत्त्वपूर्ण हुन्छ। बुवा जेल जानुभएको पनि याद छ। घट्टेकुलोदेखि ज्ञानेश्वरसम्म जम्मा पाँच मिनेटको दूरी थियो। तर मेरो आधा जिन्दगी होस्टलमा बित्यो। होस्टलको जिन्दगीको बारेमा त के भनूँ?
बुवा घर फर्कनुहुन्छ कि हुँदैन भन्ने डरैडरमा जिन्दगीभर बाँचेको छु। हाम्रो परिवारको बिहान उठ्दा र राति सुत्दादेखि, खाना खानेदेखि गेटबाट बाहिर निस्कने बेलासम्म हामी राजनीतिसँग जोडिएका थियौँ। हामी राजनीतिसँग सधैँ जोडियौँ। राजनीतिमा अप्रत्यक्ष रुपमा सधैँ योगदान थियो।
तर, बुवा उच्च ओहोदामा बसिरहँदा कहिल्यै पनि त्यसको फाइदा उठाउन खोजेनौँ।
अहिले बाध्यताभन्दा पनि विशेष परिस्थितिको कारणले राजनीतिमा होमिएको छु। राजनीतिमा मेरो रुचि पहिल्यैदेखि थियो। परिवारवादको भाष्य जुन प्रयोग भएको छ, यो एकदमै निन्दनीय छ। यो राम्रो कुरा होइन।
इलाममा राई लिम्बूको बाहुल्य छ। धार्मिक भोटसमेत छ भनिन्छ, त्यो मुद्दालाई कसरी सम्बोधन गर्नुहुन्छ?
प्रदेशभरि नै राई लिम्बूको बाहुल्य छ। भाषा, धर्म संरक्षण र विकास गर्ने एउटा ठाउँमा छ। सबैले यसको सम्मान पनि गर्नुपर्छ। यहाँ बसिरहँदा हामी इलामवासी भनेर चिनिनुपर्छ। काम गरेको आधारमा, काम गर्छ कि गर्दैन भन्ने आधारमा, विश्वास जितेको आधारमा भोट हाल्ने हो।
मतादाताले कसैको जातवाद भन्ने आधारमा भोट हाल्ने होइन। कसको विचारधारा राम्रो छ, को सक्षम छ, को अब्बल छ भन्ने आधारमा मत हाल्नुहुन्छजस्तो लाग्छ।
इलामको साक्षरता दर नै ८४ प्रतिशत छ। हामी सबैलाई थाहा भएकै कुरा हो। यो साक्षरता दर भएको ठाउँमा हामीले यी कुरा गर्दा राम्रो सुनिन्छजस्तो लाग्दैन।
सत्तारुढ घटक माओवादी केन्द्र र अन्य नेता–कार्यकर्ताको साथ–सहयोग कस्तो पाइरहनुभएको छ?
(हाँस्दै) सबैजना मेरो अग्रजहरू हुनुहुन्छ। मेरो बुवाको मित्रहरू हुनुहुन्छ। सबैले मलाई आशिर्वाद दिनुभएकै छ। उहाँहरूले हरेक तवरबाट साथ सहयोग गर्नुहुन्छ भन्ने मलाई अपेक्षा छ। गर्नुहुन्छ।
तपाईं कानुनी र खेल क्षेत्रको ज्ञान राखेर हिँड्नुभएको युवा हुनुहुन्छ। राजनीतिमा कस्ता खालका चुनौती देख्नुभएको छ?
कानुनी तवरबाट कुरा गर्दा, हामीले सुशासनको कुरा गर्नैैपर्छ। इलामको सबैभन्दा ठूलो चुनौती भनेको सुशासन नै हो। किनभने, २५ वर्षदेखि जुन बजेट आयो, जुन तरिकाले काम अघि बढ्यो, सुशासनकै कमीले कति कामहरू अपुग भएजस्तो देखिन्छ। अपूर्ण अवस्थाका कामहरू पूरा गर्नुपर्ने देखिन्छ।
कतिपय काम शून्यबाट सुरु गर्नुपर्नेछ।
खानेपानी, बिजुलीबत्ती लगायतका धेरै कुरा सुशासनका अभावमा कमजोरी भएजस्तो देखिन्छ। हामीले कसरी सुशासन बलियो बनाउन सकिन्छ भन्ने कुरामा विभिन्न कानुनी सुधार गर्नुपर्नेजस्तो देखिन्छ।
खेलकुदको कुरामा, पूर्व भनेको नम्बर एक हो। यहाँको खेलकुद, टुर्नामेन्ट लगायतमा सहभागी हुँदा त्यो देखिन्छ। यसलाई अझै पेचिलो ढंगबाट प्रस्तुत गर्न सकियो भने इलाम नम्बर एक खेलकुदको खेलाडी उत्पादन गर्ने ठाउँको प्रबल सम्भावना बोकेको ठाउँ हो।
पूर्वाधारको विकासतिर लाग्ने हो भने, प्रोत्साहनका लागि विभिन्न कोष बनाएर लाग्ने हो भने नेपालकै नम्बर एक सम्भावना बोकेको ठाउँ हो।