पाँचथरबाट विराटनगर झरेकी निरन्ती तुम्बापो पूर्वमा जारी पहिचान आन्दोलनको अग्रणी नेता हुन् । आदिवासी जनजाति आवाज, त्यहाँभित्र पनि महिलाको उपस्थिति उनको अभियानको केन्द्रमा छन् ।
पाँचथरकी निरन्ती तुम्बापो (३७) लाई विराटनगर मन पर्दैनथ्यो । गर्मी र सीमा छेउको शहर भएका कारण विराटनगर आउन उनी हम्मेसी रुचाउन्न थिइन् । तर पछिल्लो दुई वर्षयता यो ठाउँलाई हेर्ने उनको दृष्टि बदलिएको छ ।
यसको कारक हो– पहिचान आन्दोलन । ‘विराटनगर हाम्रो आवाज राख्ने र संघर्ष गरेर अधिकार लिने ठाउँ पनि भएको छ’, उनले भनिन् । किरात याक्थुङ चुम्लुङकी केन्द्रीय महासचिव रहेकी तुम्बापो कोशी प्रदेश नामकरण अघिको विराटनगर केन्द्रित खबरदारी र नामकरणपछिको हरेक आन्दोलनमा अग्रपंक्तिमा छिन् ।
नेतृत्व तहमा रहेर पहिचान आन्दोलन सञ्चालन गरिरहेकी तुम्बापोले पहिचानको नारालाई गाउँ–गाउँ पुर्याएकी छन् । १७ फागुन २०७९ मा प्रदेशको नामाङ्कन पछि उनी यो मुद्दा बोकेर पूर्वी पहाडका १४ वटै जिल्लाका गाउँ–गाउँ पुगिन्, यो आवाजलाई घर–घर पुर्याइन् ।
निरन्ती एक वर्षसम्म कोशीमा निरन्तर चलेको पहिचान आन्दोलनको अग्रपंक्तिमा देखिइन् । आन्दोलनसँगै आफ्नो विद्रोही छविलाई पनि स्थापित गरिन् । पहिचानवादी मोर्चा भित्र पनि उनले आफूलाई स्पष्ट वक्ता र कुशल व्यवस्थापकको रूपमा उभ्याएकी छन् ।
२६ माघ २०८० मा सरकार र आन्दोलनरत पक्षबीच पाँचबुँदे लिखित सहमति हुँदा उनले आफ्नो फरक मत राखिन् । उधारो सहमति भन्दै उनले नीतिगत असहमति राखिन् अनि त्यसमा पनि जम्बो वार्ता समिति बनाउँदा समेत महिलालाई नराखेका कारण खुलेर विरोध गरिन् ।
‘पहिचान आन्दोलनलाई सशक्त बनाउन उहाँको भूमिका महत्वपूर्ण छ, गाउँगाउँ पुगेर जनतालाई जागरुक बनाउनुभएको छ’ पहिचानवादी नेता अर्जुन जम्नेली राई भन्छन्, ‘आन्दोलनको फ्रन्टलाइनर महिला नेतृ हो उहाँ ।’
बुबाको राजनीतिक सोच भन्दा भिन्न धारमा उभिएर अघि बढेकी अभियन्ता हुन् निरन्ती । राप्रपाको राजनीतिमा रहेका बुबा देवी तुम्बापो अहिले निष्क्रिय छन् । तत्कालीन पाँचथर जिल्ला विकास समितिको तीन पटक सदस्य बनेका उनले २०५४ सालको निर्वाचनमा कांग्रेस नेता भीष्मराज आङदेम्बेलाई सदस्य पदमा पराजित गरेका थिए ।
‘बुबाबाट समानताको व्यवहार सिकें, उहाँले सबैलाई समान व्यवहार गर्नुहुन्थ्यो, छोराछोरीमा विभेद गर्नुभएन’ उनले भनिन्, ‘अहिले परिवारकै साथ पाएर आन्दोलनमा लाग्न पाएकी छु ।’
बाल्यकालमा भने उनलाई राजनीति खासै राम्रो कुरा हो भन्ने लाग्दैनथ्यो । ‘सानो छँदा बुबालाई आरोप र आक्षेप लाग्थ्यो, त्यो देखेर राजनीति गर्नुहुन्न भन्ने लाग्यो’ उनी भन्छिन्, ‘बुझ्दै जाँदा राजनीति त गर्नैपर्ने हरेछ । अनि सामाजिक आन्दोलनप्रति मेरो लगाव बढ्यो ।’
देवीले नै छोरीलाई पहिचानको आन्दोलनमा प्रोत्साहन गरिरहेका छन् । तर पहिचान पक्षधरको अग्रमोर्चामा लडिरहेका बेला उनलाई बेलाबेला राजावादी परिवारको सदस्य भन्ने आरोप लाग्ने गर्छ । सुरुमा आरोप आउँदा अप्ठ्यारो माने पनि विस्तारै उनले यो आलोचना पचाउन थालेकी छन् ।
मध्यम वर्गीय परिवारमा जन्मिएकी निरन्ती बाल्यकालदेखि नै बोल्न रुचाउँथिन् । विद्यालयमा हुने हाजिरीजवाफ र वक्तृत्वकला कार्यक्रममा सहभागी हुन्थिन् । स्कुल तहमा पढ्दा नै बोल्न नडराउने भएका कारण समाजको नजरमा परेकी थिइन् ।
‘हाम्रोतिर शुक्रबार घरमा काम सघाउने कुरा हुन्थ्यो, गाउँमा मकै सियो हाल्नुपर्छ, तर म स्कुल जान नपाउँदा घरमा रिसाउँथे’ उनी भन्छिन्, ‘माध्यमिक तहमा शुक्रबार अतिरिक्त क्रियाकलाप हुन्थ्यो, घरमा बस्नुपरे स्कुलको कार्यक्रम छुट्थ्यो ।’
एसएलसीपछि पाँचथर क्याम्पस पढ्दा निरन्ती राप्रपाको विद्यार्थी राजनीतिमा थिइन् । स्ववियू निर्वाचनमा कोषाध्यक्ष उठ्दा थोरै मतले हारिन् । पाँचथर क्याम्पसमै हुँदा लिम्बू विद्यार्थी मञ्चमा पनि आबद्ध भइन् । २०६२÷६३ को जनआन्दोलनपछि चाहिं पहिचानवादी आन्दोलनमा होमिइन् ।
पहिचानको मुद्दा बोक्न सुरु गरेलगत्तै तुम्बापो २०६५ सालको सातौं महाधिवेशनबाट किरात याक्थुङ चुम्लुङको केन्द्रीय सदस्य निर्वाचित भइन् । २०६८ को आठौं महाधिवेशनबाट दोस्रो कार्यकालका लागि केन्द्रीय सदस्य बनिन् । २०७१ सालको नवौं राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सचिव र २०७४ को दशौं महाधिवेशनबाट महासचिव भइन् । २०७८ को ११औं महाधिवेशनले पनि उनलाई नै महासचिवमा दोहोर्यायो ।
तुम्बापोलाई १०औं महाधिवेशनमा महासचिवको नेतृत्व दिन नेतृत्व तयार थिएन । महिला भएकै कारण उनलाई झण्डै एक वर्ष महासचिवको केही अधिकार अध्यक्षले नै राखे । तर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक बिदा कटौती गरेपछि सुरु भएको आन्दोलनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरिन् । अनि एक वर्षपछि महासचिवको सम्पूर्ण अधिकार पाइन् ।
प्रदेशको नाम कोशी राखेपछि त्यस विरुद्ध उनले आन्दोलनको नेतृत्व सम्हालिन् । पहिचान पक्षधर घटकलाई एक ठाउँमा उभ्याउँदै संयुक्त मोर्चा गठन गरेपछि उनी जागरणका लागि गाउँ दौडाहामा लागिन् । होचो कदकी तुम्बापोलाई देख्दा गाउँको जागरणसभामा पुगेकाहरूले खासै वास्ता गर्दैनथे । कोणसभामा भाषण गरेपछि उनीप्रति चासो राख्नेहरू धेरै हुन्थे । आन्दोलनप्रति ऐक्यबद्धता जनाउँथे ।
‘गाउँ–गाउँमा बुढापाकाले आन्दोलन अघि बढाउन ढाडस दिनुभएको छ, हामी छौं नानी अघि बढ्नुहोस् भन्नुहुन्छ, युवाहरूले साथ दिएर ऊर्जा थप्नुभएको छ’ उनी भन्छिन्, ‘आन्दोलनले गाउँ–गाउँको परिवेश बुझ्ने मौका दियो, पहिचानको मुद्दा गाउँसम्म पनि पुग्यो ।’
‘काठमाडौंकेन्द्रित आन्दोलन होइन, एक नम्बर प्रदेशलाई नै जगाउनुपर्छ भनेर एक वर्षदेखि यतै खटिएकी छु’ उनी भन्छिन्, ‘केन्द्रीय नेतृत्वमध्ये सबैभन्दा बढी गाउँ पुग्ने म नै हुँ भन्ने लाग्छ ।’ गाउँबस्तीको यात्रामा उनले राजनीतिक दललाई गाली होइन, नागरिकलाई प्रश्न गर्न सिकाइन् ।
यतिबेला निरन्तीको चाहना गाउँ–गाउँमा उठेको पहिचान आन्दोलनलाई सफल बनाउनु हो । तर सहज छैन । सडकमा आन्दोलन सशक्त छ, सदनमा पहिचानको आवाज न्यून छ । अहिलेको संसद्बाट सम्बोधन नभए अर्काे संसद्बाट भए पनि सम्बोधन हुने आशा भने जीवितै छ ।
‘पहिचानको आन्दोलन निरन्तर चलिरहन्छ’ उनी भन्छिन्, ‘अधिकारको आवाज गाउँसम्म पुगेको छ, जनता जागरुक भएका कारण यो रोकिनेवाला छैन ।’
महिला सहभागिता
स्नातक तह अध्ययन गर्ने क्रममा पाँचथरमा गैरसरकारी संस्थामा रहेर केही वर्ष काम गरेकी उनले जिल्ला दौडाहामा जाँदा नेतृत्वमा महिला भेट्टाउन्नथिइन् । नेतृत्वमा पुरुष मात्रै भेटिएपछि उनले महिला सहभागिताको पक्षमा आवाज उठाउन थालिन् ।
किरात याक्थुङ चुम्लुङको सचिव हुँदासम्म पनि उनको कार्यक्षेत्र पाँचथर नै थियो । कार्यकारी भूमिकामा बस्ने भन्दै उनी काठमाडौं लागिन् । तर त्यो सहज थिएन । नेतृत्वले पत्याएन, सवारी साधन छैन, काठमाडौंमा घर छैन भन्दै महासचिव हुन रोक्ने प्रयास भयो ।
उनले दाबी छाडिनन् र अन्तिममा निर्विरोध निर्वाचित भइन् । २०७८ सालमा अध्यक्षमा दाबी गरेकी उनी पुनः निर्विरोध महासचिव भइन् । उनी चुम्लुङको दोस्रो महिला महासचिव हुन् । दुई कार्यकाल महासचिव बन्ने उनी एक्लो महिला हुन् ।
‘नेतृत्वको आशंका चिर्न उनलाई एक वर्ष लाग्यो’ उनले भनिन्, ‘कार्यकाल पूरा गरेपछि महासचिव बस्ने चाहना थिएन, तर पुनः महाधिवेशनले दोहोर्यायो ।’ अहिले पनि उनी आन्दोलनमै छिन् । मुक्कुमलुङ (पाथीभरा) संरक्षण आन्दोलनमा चुम्लुङ नेतृत्व नै फ्रन्टलाइनमा छ । जमिन र जंगल संरक्षणका लागि भन्दै सुरु भएको आन्दोलन अहिले पनि चलिरहेको छ ।
निरन्ती पहिचान आन्दोलनसँगै आदिवासी महिलाले भोगिरहेको विभेद विरुद्ध पनि लडिरहेकी छन् । उनका भनाइमा, आदिवासी महिलाले दुई चरणमा विभेद भोग्नु परेको छ । आदिवासी कोटामा पुरुषसँग र महिला कोटामा अन्य महिलासँग प्रतिस्पर्धा गर्नुपर्छ । यो विभेदले आदिवासी महिला राज्यका सबै निकायमा पुग्न मुश्किल रहेको उनको बुझाइ छ ।
उनी राजनीतिमा महिला सहभागिता बढाउनुपर्ने पक्षमा छिन् । पहिचान आन्दोलनको नेतृत्व तहमा महिला सहभागिता न्यून छ । यसलाई बढाउन उनले प्रयास गरिरहेकी छन् ।
‘आरक्षण एक तहका लागि हुनुपर्छ, अहिले वडामा दुई जना महिला सदस्य हुन्छन्, एक कार्यकालपछि ती महिला वडा अध्यक्षमा दाबी गर्ने हुनुपर्छ’ उनी भन्छिन्, ‘ती महिलाको क्षमता विकास गर्नुपर्छ, नेतृत्व तहमा महिला पुग्ने वातावरण राज्यले बनाउनुपर्छ ।’
दलगत राजनीतिको प्रस्ताव
तुम्बापोले बिदा र आरक्षण कटौती विरुद्धको आन्दोलनमा प्रहरी दमन खेपिन् । पहिचानको आन्दोलन भने उनका लागि छुट्टै अनुभव भयो । पहिचानको आन्दोलनमा उनले सहकर्मी गुमाइन् । कोशी प्रदेश नामका विरुद्ध ५ चैत २०७९ मा विराटनगरमा भएको आन्दोलनमा घाइते भएका पदम लिम्बू लाजेहाङको उपचारका क्रममा मृत्यु भयो ।
‘आरक्ष र महिला आन्दोलनमा प्रहरी दमन खेपियो । तर पहिचान आन्दोलनमा सहकर्मी गुमाउँदा धेरै पीडा भएको छ’ उनले भनिन्, ‘मान्छे मारिने खालको आन्दोलन भोगेको थिइनँ, सँगसँगै लड्ने योद्धा गुमाउँदा पीडा भएको छ ।’
तुम्बापो कुनै राजनीतिक दलमा छैनन् । सामाजिक अभियानमा मात्रै छिन् । उनलाई पार्टी राजनीतिमा लाग्न दल र व्यक्तिबाट प्रस्ताव आइरहेका छन् । तर उनी तत्कालै पार्टी राजनीतिमा लाग्ने योजनामा छैनन् ।
‘धेरैले दलको नेता बन्नुपर्छ भन्नुभएको छ, तर सरकारलाई खबरदारी गर्ने मान्छे चाहिन्छ, दलहरूप्रति वितृष्णा बढ्दो छ’ उनले भनिन्, ‘अहिल्यै पार्टी राजनीति गर्ने इच्छा छैन । पहिचान र महिलाका मुद्दा उठाइरहन्छु ।’
उनी बृहत् नागरिक अभियानमा पनि जोडिएकी छन् । यो अभियानबाट उनले आफ्नो नेतृत्व क्षमता पनि विकास गरेकी छन् । आन्दोलनलाई ड्राइभ गर्न अभियानले पनि साथ दिएको छ ।
‘बहुपहिचानका आधारमा नाम राखेर अघि बढ्नुपर्छ भन्ने हाम्रो माग हो, तर यो पटक सम्बोधन भएन भने आन्दोलनलाई रचनात्मक बनाउँदै जान्छौं’ उनले भनिन्, ‘कति वर्षको चुनावसम्म जाने हो जान्छ, तर पहिचानको आन्दोलनले विश्राम लिंदैन ।’
– हरि अधिकारी