मुख्य प्रतिस्पर्धी दलहरूले प्रतिष्ठाको लडाइँ बनाएको इलाम- २ को उपनिर्वाचनमा विजयी एमाले उम्मेदवार सुहाङ नेम्वाङकी चुनावी कमाण्डर थिइन्, डा. शिवमाया तुम्बहाम्फे । झण्डै दुई महिना इलाममै बसेर आफ्नो उम्मेदवारलाई चुनाव जिताएपछि उनले शिलापत्रसँग भनिन्, ‘यो जितबाट म पूर्ण रूपमा सन्तुष्ट छु । अघिल्लो चुनावको तुलनामा मत घटेको छ तर जनताको विश्वास उस्तै छ, तलमाथि भएको छैन ।’
त्यसो त, चुनावी सरगर्मी सुरु नहुँदै उनी उम्मेदवारकै दौडमा रहेको चर्चा थियो । पार्टी अध्यक्ष केपी ओलीले सुहाङलाई अघि सार्ने संकेत पाएपछि भने उनी पछि हटिन् । इलाम पार्टी इन्चार्जका रूपमा उनले चुनावको सम्पूर्ण कमाण्ड हाँकिन् । आन्तरिक असन्तुष्टि मत्थर पारिन् र कमिटीहरू परिचालन गरिन् । ‘हामीले व्यवस्थित चुनावी योजना बनाएका थियौँ । सिंगो पार्टी परिचालन गर्यौँ र जित हासिल गर्यौँ,' उनले भनिन् ।
संविधानसभा अध्यक्ष एवं एमालेका दिवंगत नेता सुवास नेम्वाङको लामो विरासत रहेको इलाम- २ को पार्टी पङ्क्ति उनकै छोरा सुहाङलाई उम्मेदवार देख्न चाहने र नचाहने दुई खेमामा बाँडिएको थियो । उम्मेदवारी चयनको प्रक्रिया सरल र पारदर्शी नबनाएको भए आन्तरिक विवादले चुनावी नतिजा नै तलमाथि हुन सक्ने टिकाटिप्पणीसमेत भइरहेका थिए । अध्यक्ष ओलीले सुहाङलाई अघि बढाउन चाहेपछि पनि इच्छुक आकाँक्षीसँग निवेदन मागेर छलफल चलाइयो ।
एमालेलाई इलाम २ मा ३० वर्षदेखिको विरासत जोगाउनु थियो भने कांग्रेसलाई तोड्नु थियो । अघिल्लो निर्वाचनमा माओवादी केन्द्रसहित गठबन्धनमा रहेको कांग्रेस ११४ मतको झिनो मत अन्तरले पराजित भएको थियो । यसपटक माओवादी केन्द्रको साथ एमाले उम्मेदवारलाई थियो । त्यसैले तुलनात्मक रूपमा सहज भए पनि पहिचान पक्षधरको सोझो निशानामा एमाले थियो । ‘एमालेलाई जर्बजस्ती पहिचानविरोधी भनेर प्रचार गरिएको थियो । त्यसैले घरघरै पुगेर मतदातासँग आफ्ना कुरा भन्यौँ,’ तुम्बहाम्फे भन्छिन्, ‘कसको भोट कता जाँदैछ, एकएक विश्लेषण गरेका थियौँ ।’
उपनिर्वाचनलाई प्रतिस्पर्धी दलहरूले उच्च महत्त्व दिएर चुनावी कमाण्डर तोकेका थिए । कांग्रेसले महामन्त्री विश्वप्रकाश शर्मालाई इलाममा खटाएको थियो । अर्का महामन्त्री गगन थापा पनि चुनावी प्रचारका लागि इलाम पुगेका थिए । अघिल्लो चुनावमा संस्थापन इतरको सहयोग नभएको गुनासो भएपछि यसपटक नेता शेखर कोइराला आफैँ इलाम पुगेका थिए । कांग्रेस एकढिक्का भएर चुनावी मैदानमा उत्रिएको थियो ।
नेकपा एकीकृत समाजवादीले पूर्वप्रधानमन्त्री एवं सम्मानित नेता झलनाथ खनाललाई चुनावी कमाण्डर बनाएको थियो । तर, इलाम- २ को मत परिणाम आउँदा एसको कन्तबिजोग देखियो । खनालले कमाण्ड हाँकेको चुनावमा एसका उम्मेदवारले ४०८ मत प्राप्त गरेका छन् ।
पूर्वप्रधानमन्त्री खनाल र एमाले नेतृ तुम्बहाम्फेबीच एक दिन होटलमा भेट भयो । तुम्बहाम्फेले हाँसिमजाक पनि गरिन्, ‘हिजो तपाईंलाई जिताउन हामी नै हिँड्थ्यौँ । तपाईंहरूले गर्दा आज छुट्टै कित्ताबाट चुनाव लड्ने भयौँ ।’
नेता खनालले हाँस्दै जवाफ फर्काएका थिए, ‘नआत्तिनुस् कमरेड । अब नजिक हुँदैछौँ ।’
kumari bankGrammar School
रास्वपाले पनि चुनाव जित्न सम्पूर्ण शक्ति लगाएको थियो । पार्टी सभापति एवं उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने आफैँ इलाम- २ को चुनाव परिचालनमा खटिएका थिए । मन्त्री सुमना श्रेष्ठदेखि सांसद्हरू स्वर्णिम वाग्ले, तोसिमा कार्की, सोविता गौतमसमेत इलाम पुगेका थिए । राप्रपा प्रवक्ता एवं सांसद् ज्ञानेन्द्र शाहीको कमाण्डमा चुनावमा होमिएको थियो ।
त्यस्तै, पहिचान पक्षधरका साझा उम्मेदवारका रूपमा रहेका डकेन्द्रसिंह लिम्बुको पक्षमा माहोल बनाउन धरान उपमहानगरका मेयर हर्क साम्पाङसमेत चुनावी प्रचारमा पुगेका थिए । यस्तोमा एमालेले जिल्ला इन्चार्जसमेत रहेकी स्थायी कमिटी सदस्य तुम्बहाम्फेलाई चुनावी कमाण्डर बनाएको थियो ।
एमाले अध्यक्ष केपी ओली र उपाध्यक्ष रामबहादुर थापा बादल दुईपटक चुनावी सभालाई सम्बोधन गर्न इलाम पुगेबाहेक चुनावी कमाण्ड तुम्बहाम्फेकै हातमा थियो । ‘अध्यक्ष र उपाध्यक्ष कमरेडलाई सम्बोधनका लागि बोलाएबाहेक हामीले अरु ठूला नेतालाई ल्याएनौँ,’ नेतृ तुम्बहाम्फे भन्छिन्, ‘बाहिरबाट नेता ल्याउनुभन्दा मतदाताकहाँ पुग्ने र आफ्ना कुरा राखेरै कन्भिन्स गर्यौँ ।’
त्यसो त, सुहाङप्रति आम मतदाताको सहानुभूति पनि थियो । गाउँ पुग्दा कैयौँ पुराना कार्यकर्ता बुबा सुवास नेम्वाङलाई सम्झिएर रोएका दृश्यहरू पनि सामाजिक सञ्जालमा आएका थिए । बृद्धबृद्धा र युवा पुस्ताको विशेष आकर्षण सुहाङप्रति देखिएको थियो । इलाम- २ को चुनावी मैदानमा नयाँ अनुहार भएकाले पनि सुहाङले मतदातालाई सजिलै अपिल गर्न सकेको देखियो ।
पहिचान पक्षधर स्वतन्त्र उम्मेदवार लिम्बुले पाएको मतलाई एमाले नेतृ तुम्बहाम्फे स्वाभाविक ठान्छिन् । प्रचारप्रसारको समय कम हुँदा स्वतन्त्र उम्मेदवार लिम्बुले नतिजा निकाल्न नसकेको टिप्पणी भइरहेको छ । तुम्बहाम्फेलाई भने त्यस्तो लाग्दैन । भन्छिन्, ‘हामी एकएक हिसाब गरेर बसेका थियौँ । पहिचान आन्दोलनका साथीहरूको भोट बढ्नेवाला थिएन ।‘