किरण दहाल
नेपालमा गत वर्ष ३५ हजार वटा सवारीसाधन दुर्घटनामा परेका थिए। औषतमा हरेक दिन लगभग १०० वटा दुर्घटना भएका थिए। तीमध्ये सबैभन्दा बढी मोटरसाइकल दुर्घटना भए।
विगत पाँच वर्षको तथ्यांक हेर्दा मोटरसाइकलको तुलनामा अरू सवारीसाधन दुर्घटना निकै कम छ। आर्थिक वर्ष २०८०/८१ मा दुर्घटना भएका ३५ हजार सवारीसाधनमध्ये करिब २० हजार मोटरसाइकल थिए। अघिल्लो वर्ष पनि ३७ हजार दुर्घटनामध्ये साढे १९ हजार मोटरसाइकल थिए।
दुर्घटनामा हुने मृत्यु निम्त्याउने प्रमुख साधन पनि मोटरसाइकल नै छ। जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण–२०२२ को प्रतिवेदनअनुसार नेपालमा सवारी दुर्घटनाबाट हुने कुल मृत्यु वा घाइतेमध्ये ६८ प्रतिशत मोटरसाइकलका कारणले हुन्छ।
ट्राफिक नियम मिचेकोमा सबैभन्दा धेरै कारबाहीमा पर्ने पनि मोटरसाइकल नै छन्। गत पाँच वर्षको तथ्यांकमा हरेक वर्ष अन्य सवारीको तुलनामा मोटरसाइकल धेरै कारबाहीमा परेका छन्। यो अवधिमा करिब साढे ३४ लाख मोटरसाइकल कारबाहीमा परेका छन्।
आर्थिक वर्ष २०८०/८१ मा झन्डै १० लाख मोटरसाइकल कारबाहीमा परेका थिए। धेरै कारबाही भोग्नेको दोस्रो स्थानमा कार, जिप र भ्यान थिए, जुन साढे पाँच लाख थिए। त्यसो त, अन्य सवारीको तुलनामा मोटरसाइकलको संख्या पनि उच्च छ।
हरेक वर्ष मोटरसाइकल आयातमा वृद्धि भइरहेको छ र सडकमा मोटरसाइकलको चाप पनि बढिरहेको छ। आर्थिक वर्ष २०७९/८० मा एक लाख १५ हजार वटा मोटरसाइकल आयात भएका थिए। गत आर्थिक वर्ष २०८०/८१ मा १६ प्रतिशतले वृद्धि भएर एक लाख ३४ हजार मोटरसाइकल नेपाल भित्रिए।
यातायात व्यवस्था विभागका अनुसार नेपालमा दर्ता भएका कुल सवारीसाधनमध्ये ८० प्रतिशत दुई पांग्रे छन्। सानो रकममा खरिद गर्न सकिने हुँदा मोटरसाइकल आयात धेरै भएको हो। तर सडक सुरक्षा भने प्राथमिकतामा छैन।
काठमाडौँ उपत्यकालाई मोटरसाइकल दुर्घटनाको ‘हट्स्पट’ मानिन्छ। गत आर्थिक वर्ष यहाँ साढे सात हजारभन्दा बढी मोटरसाइकल दुर्घटना भए। दोस्रो हट्स्पट मधेश प्रदेश हो। सोही वर्ष यो प्रदेशमा ६ हजार मोटरसाइकल दुर्घटनामा परे।
गत वर्ष मात्र नभई, लामो समयदेखि मोटरसाइकल धेरै दुर्घटना हुनेमा काठमाडौँ पहिलो र मधेश प्रदेश दोस्रो स्थानमा छन्। पछिल्लो पाँच वर्षमा देशभर लगभग ९० हजार मोटरसाइकल दुर्घटना भएको ट्राफिक प्रहरी बताउँछ।
सडक सुरक्षाविज्ञ डा. पुष्पराज पन्त सर्वसाधारणको खरिद क्षमता बढ्दा र ‘फाइनान्सिङ’ लगायत कारणले मोटरसाइकल किन्न प्रोत्साहन भएको बताउँछन्। उनी भन्छन्, “सार्वजानिक यातायात चुस्त छैन। त्यसो भएपछि मानिसले एक ठाउँबाट अर्को ठाउँमा सहज रूपमा पुग्न मोटरसाइकल किन्ने नै भए।”
सार्वजानिक यातायातलाई प्रभावकारी बनाउनुपर्ने डा. पन्तको भनाइ छ। दुर्घटना कम गराउन नेपालको ‘ड्राइभिङ लाइसेन्स’ प्रणालीमा पनि सुधार ल्याउन आवश्यक छ। दुर्घटनाबाट क्षति कम गराउन राज्यले नीति बनाएर गुणस्तरीय हेल्मेट पनि उपलब्ध गराउनुपर्ने उनी बताउँछन्।
चालकहरूले हेल्मेट नलगाउने, तीव्र गतिमा चलाउने, मादक पदार्थ र लागुपदार्थ सेवन गर्ने, जथाभावी बाटो काट्ने, लेन मिच्नेजस्ता कारण दुर्घटना बढेको छ। ट्राफिक प्रहरीले हरदम निगरानी गर्ने काठमाडौँमा समेत नियम उल्लंघन गरेर मोटरसाइकल चलाउनेहरू प्रशस्त छन्। कतिपयले छेउछाउमा ट्राफिक हुँदा नियम मान्छन्, ट्राफिकबाट छलिने बित्तिकै उल्लंघन गर्ने प्रहरीको भनाइ छ।
चालकहरू जिब्राक्रसिङमा समेत स्पिड घटाउँदैनन्, बरू बढाउँछन्। यस्तो अभ्यासले दुर्घटना थप बढाएको छ। ज्रिबाक्रसिङमा भएको मोटरसाइकल दुर्घटनामाथि केही दिनअगाडि उकालोमा समाचार समेत प्रकाशित भएको थियो।
उपत्यकाका ट्राफिक प्रहरीका तत्कालीन प्रवक्ता उमाप्रसाद चतुर्वेदीले दुई हप्ताअगाडि उकालोसँग भनेका थिए, “चालकहरू हाम्रा निम्ति नियम मान्नु परेको जस्तो गर्नुहुन्छ। हाम्रा निम्ति मानिदिने हैन, आफ्नै सुरक्षाका लागि हो। सबै जना सचेत भए मात्र दुर्घटना घट्छ। ट्राफिकले मात्र बल लगाएर न्यूनीकरण हुँदैन।”
ट्राफिक नियम उल्लंघन कतिसम्म हुन्छ भने, एउटै चालक कयौँ पटक प्रहरीको कारबाहीमा पर्छन्। तर पनि अवस्था सुध्रिएको छैन। चतुर्वेदीले लापसे गरेर सवारी चलाउनेको संख्या बढेको समेत बताएका थिए। मोटरसाइकल दुर्घटना हुने अर्को कारण यो पनि हो।
संसद्को विकास समितिले २०७० सालमा तयार गरेको प्रतिवेदनले पनि सवारी दुर्घटनाका विभिन्न कारण औँल्याएको छ। प्रतिवेदनमा विशेषगरी पुराना सवारी साधनको प्रयोग, चालकको लापरबाही, सडकको दुरवस्था, कमजोर प्रशासनिक निकाय, कमजोर ट्राफिक नियम र फितलो अनुगमन लगायतलाई प्रमुख कारण मानिएको छ।
सडक सुरक्षामा जनचेतनाको कमी, कसुर र सजायमा अस्पष्टता, अव्यवस्थित पार्किङ प्रणाली, ट्राफिक संकेतको अभाव, सडकमा ट्राफिक फर्निसिङ नहुनु, सडक सुरक्षा कार्ययोजनाको प्रभावकारी कार्यान्वयन अभावका कारण पनि दुर्घटना भएको प्रतिवेदन बताउँछ। “यी समस्याबारे सम्बन्धित निकायहरू जानकार भएर पनि त्यसको समाधानमा गम्भीर नहुनु र उनीहरूबीच समन्वयसमेत नहुनु थप समस्याको रूपमा रहको पाइन्छ,” प्रतिवेदनमा उल्लेख छ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी सञ्जय राउत मोटरसाइकल दुर्घटनामा पर्नेहरू विशेषगरी २०–३५ वर्ष उमेर समूहका रहेको बताउँछन्। दुर्घटनाको मुख्य कारण ‘ओभरस्पिड’ भएको उनको भनाइ छ। उनी भन्छन्, “भक्तपुरको सडकमा स्पिड बढी हुन्छ। ठूलो र राम्रो सडक भएकाले बेस्सरी कुदाउँछन्, यसले पनि दुर्घटना हुन्छ।”
उपत्यकाका धेरै सडकमा ‘स्पिड लिमिट’ छैन, त्यसमध्ये भक्तपुर पनि एक हो। केही समयअघि एक दुर्घटनामा ट्राफिक प्रहरी विवादमा आएपछि त्यस खण्डमा नियमित चेकिङ हुन छाडेको थियो। यस क्षेत्रमा हरेक दिनजसो मोटरसाइकल दुर्घटना हुने गरेको छ।
हप्ता दिनअगाडि मात्र दुर्घटनामा एक जना मोटरसाइकल चालकको मृत्यु भयो। भक्तपुर सडकमा पर्ने जडीबुटीमा गत हप्ता रोकिराखेको टिप्परमा मोटरसाइकल ठोक्किएको थियो। मोटरसाइकल चालक सञ्जय सिंह गम्भीर घाइते भए, पछि ट्रमा सेन्टरमा उनको मृत्यु भएको थियो।
अहिले भक्तपुरमा पनि चेकिङ गर्न थालिएको र दुर्घटनामा कमी आएको राउतको भनाइ छ। अरू क्षेत्रमा पनि सक्रियतापूर्वक चेकिङ भइरहेको उनी बताउँछन्। “हामीले चेकिङ गरेका छौँ, जनचेतना जगाएका छौँ। तर पनि दुर्घटना उच्च छ। कतिपय चालक नियम मिचेर ट्राफिकलाई छल्न खोज्छन्,” उनी भन्छन्।