भाले बास्यो पर्वतैमा, पोथी ना बास्यो गाउँमा ।
यति जना भेला ना भयौँ, साकेन्वाको नाउँमा ।।
गैरी गाउँको ढोडे ना उखु, भाँचौँ ना भाँचौँ लाग्छ ।
ढोल झ्याम्टाको सुरैमा सुन्दा, नाचौँ ना नाचौँ लाग्छ ।।
धरानका साकेला थानहरुमा आज यी र यस्तै गीत गाउँदै ताल मिलाएर नाच्नेहरुको लस्करै देखिन्छ । धरान–१० का पूर्णिमा राई साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्न जाने गरेको बताइन् । उनले भनिन्, ‘हाम्रो पुर्खाहरुले मान्दै आएको किरातीहरुको महान् चाडपर्व हामीले बिर्सिनु हुन्नँ, यसलाई हामीले संरक्षण गर्नुपर्छ । त्यसैले म त भाइबहिनी साथीभाइलाई पनि लिएर साकेला नाच्न आएकी हुँ ।’
दौरा सुरुवाल र टोपीमा सजिएका युवा र गुन्युचोली, लाछा, शिरबन्दी, चेप्टे सुन, पैसाको हारी माला, नौगेडीजस्ता गहनामा सजिएका युवतीहरू हातमा ढोल, झ्याम्टा र चम्मर बोकेर गीतमा लय मिलाउँदै नाच्न व्यस्त छन् । छातीमा पेचुरी धजुरी, वाबु, बुन्छत र मुर्चुङ्गा झुन्ड्याएका युवायुवती ढोल झ्याम्टाको तालमा विभिन्न चराचुरुङ्गी र जीवजनावरको हाउभाउ गर्दै नाचिरहेका छन् ।
आधुनिक सहरका रुपमा परिचित धरानमा अरु बेला आधुनिक गीत, हिपहप, रकजस्ता पाश्चात्य सङ्गीतमा रमाउने युवापुस्ताहद्र पछिल्लो समय उधौली–उभौलीजस्ता सांस्कृतिक चाडपर्वमा पनि उत्तिकै रमाउने गरेका छन् । आज साकेला थानमा साकेला सिलीमा युवापुस्ताकै बाक्लो उपस्थिति रहेको छ ।
धरान–१५ का सरोज राई साकेलाको समयमा साथीसँगै आफ्नो मौलिक गहना र पहिरनमा नाच्ने गरेको बताए । उनी भन्छन्, ‘आफ्नो पुर्खाले मान्दै आएको चाडपर्व हामी किरातीलाई चिनाउने एउटा मुख्य चाडको रुपमा लिइन्छ । हामीले साकेला आउनुभन्दा केही दिनअघिदेखि नै अग्रजहरुसँग प्रशिक्षण लिई साकेला नाच्न जान्छौं ।’
साकेला आउँदा छुट्टै रमाइलो हुने गरेको धरान–१८ का अविशेक राई बताउँछन् । ‘हामीले साकेलामा बान्तावा सिलिका रुपमा विभिन्न गीतहरु प्रस्तुत गरेर नाच्ने गर्छौं । आफ्नो सस्कृतिलाई बचाइराख्नुपर्छ भन्ने हिसाबले पनि साकेलाको अवसर पारेर भाइबहिनीलाई साकेला सिलीहरु सिकाएर धरानबाहेक हरु ठाउँहरुमा पनि नाच्न जाने गरेका छौँ ।’
उधौली साकेला सांस्कृतिक रुपमा राई जातिले अन्नबाली रोप्ने बेलामा भूमिको पूजा गर्ने क्रममा विकास भएको मानिन्छ । हातमा चम्मर, झ्याम्टा बोकेर वरिपरि गोलो घेरामा बसेर विभिन्न जनावारको अभिनय गर्दै नाच्नुलाई सिली भनिन्छ । हात र खुट्टाको ताल मिलाएर नाचिने सिली पनि राईका जाति र ठाउँपिच्छे फरकफरक हुने गरेको किरात राई यायोक्खा सुनसरीका अध्यक्ष राजेन्द्र राईले बताए ।
पूर्वका धरान, इटहरी, तरहरा, बेलवारी, विराटचोक, दमक, उर्लावारी, पथरी, विर्तामोडलगायतका शहरी क्षेत्रहरुमा यस पर्व उत्सवका रुपमा मनाउने प्रचलन बढिरहेको छ । साकेला विशेषगरी उधौली र उभौलीमा मात्र नाच्ने गरिन्छ तर पछिल्लो समय विवाह, व्रतबन्धलगायतमा पनि नाच्ने गरेको पाइन्छ ।
बुढापाकाको भनाइअनुसार पूर्वी पहाडी भेगमा उधौली अर्थात उभौली नाच सुरु हुनुभन्दा अगाडि पितृ पुजिन्छ । पितृलाई पूजा गरिसकेपछि कोशी काटेर जानुहुन्न भन्ने मान्यता रहेको धरान(११ का चिन्तमणि राईको भनाइ छ । उहाँले भन्नुभयो, ‘‘पहाडी भेगमा मनाइने साकेला र तराई भेगमा मनाइने पितृ पुज्ने धामी अथवा (नाक्छोङ) ले गाउँभन्दा बाहिर गएर गरिखानु हुँदैन भन्ने चलन रहेकाले वर्षमा घरको एक पाठी अन्न दिने चलन छ ।’’ पछिल्लो समय यो चलन लोप हुँदै गएको राईको भनाइ छ ।
यस चाडमा किरात राईहरुले पुर्खा लाई सम्झेर सिलीमार्फत सम्मान गर्छन् । किरात राई समुदायमा पुर्खाहरुको ठूलो स्थान र महत्व छ वर्षमा दुई पटक यस पर्व मनाइन्छ उधौली र उभौलीमा पितृहरुको पुजा अथवा (माङ) गर्ने चलन छ ।
साकेला किरात राईहरुको पहिचानसँग जोडिएको छ । आफ्नो आस्थाको देवतालाई आफ्नै तरिकाले पुज्ने र पूजालाई महान चाडको रुपमा लिने चलन किरात समुदायमा छ । यसलाई विशेष अवसर मानेर किरात राई महिला तथा पुरुषहरु मौलिक सांस्कृतिक पहिरनमा सजिएर नाच्ने गर्दछन् ।
चार किरात (राई, लिम्बू, सुनुवार र याख्खा) समुदायमा मङ्सिर पूर्णिमालाई बाली थन्क्याउने उधौली र वैशाख पूर्णिमालाई बाली लगाउने समयका रुपमा उभौली पर्व भव्यताका साथ मनाउने प्रचलन रहेको छ । उधौलीलाई लिम्बु, सुनुवार र याक्खाले समुदायले भव्य उत्सवका रुपमा मनाउँछन् भने राईहरुले मङ्सिर पूर्णिमा अर्थात् उँधौलीमा राई समुदायले एक दिन साकेला थानमा सिली नाचेर मनाउने गरेका छन् । वैशाख पूर्णिमा अर्थात उभौली एक महिनासम्म टोलटोलमा झोल झ्याम्टा बजाउँदै साकेला मनाउने गरिन्छ ।
हरेक वर्षको मङ्सिर पूर्णिमाका दिन मनाइने उधौंली पर्व किराती मान्यताअनुसार आजको दिनदेखि हिउँद शुरु भयो, मार्गशीर्ष मङ्सिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएको खुशीयालीमा यो पर्व मनाउने गरिएको बुढापाखाको भनाइ छ । वैशाख शुक्ल पूर्णिमादेखि चराचुरुङ्गीलगायत जङ्गली जनावर पनि उँभो लाग्ने किरात समुदायको विश्वास छ । नदीमा माछा पनि गर्मीबाट बच्न बेँसीको नदीबाट लेकतिर लाग्छन् भन्ने बुढापाखाको भनाइ छ भने मङ्सिर शुक्ल पूर्णिमाका दिन बाली भित्र्याएर जाडो छल्न बेँसी झरेका मानिस आजदेखि उँभो लाग्छन् । उँभोको अर्थ खेतीपाती राम्रो होस्, धेरै होस्, उन्नति होस् भन्ने भनाइ रहेको छ ।
किरात जातिहरुको मागलाई सम्बोधन गर्दै सरकारले २०५८ सालमा उँधौली अर्थात मङ्सिर पूर्णिमालाई किरात चाड घोषणा गरेको थियो भने २०६४ सालमा उभौली अर्थात् वैशाख पूर्णिमा समेतलाई किरात चाड भनेर घोषणा गरिएको थियो । उँधौली र उभौलीमा सरकारले राष्टिूय बिदासमेत दिने गरेको छ । सरकारले किरात चाड घोषणा गरेपछि उभौली र उँधौलीलाई विशेष उत्सवका रुपमा मनाउने गरिएको छ ।
लिम्बू समुदायको चासोक तङ्नाम
लिम्बू समुदायले महान् चाडका रूपमा मनाउँदै आएको चाड हो चासोक तङ्नाम । चासोक तङ्नाम न्वागी पूजो अर्थात् उधौली पूजा पनि भन्ने गरिन्छ । उधौली याममा बालीनाली भित्र्याउने बेलामा यो पर्व मनाउने गरिन्छ । चासोक भन्नाले उब्जाइएको नयाँ अन्नबाली चढाउने पूजा हो भने तङ्नाम भनेको पर्व हो ।
लिम्बू भाषामा ‘चासोक’ को अर्थ न्वागी र ‘तङ्नाम’ को अर्थ उत्सव वा चाडपर्व हुन्छ । लिम्बूहरूलाई उनीहरूकै भाषामा याक्थुङ्वा भनेर चिनाउने गरेका छन् । किराँत समुदाय अनुसार मानिस, जीवजन्तु तथा चराचुरुङ्गी लेकतिरबाट बेँसीतिर बसाइँ सर्ने समय भएको र अन्नबाली भित्रयाइएको खुसीयालीमा यो पर्व मनाउने गरिएको धरान १५ का प्रदिप मेन्याङ्बोले बताए । ‘आफूले लगाएको बालीनाली पाकेपछि माङहरुलाई चढाएपछि खाने र रमाउने चाडको रूपमा चासोक तङ्नामलाई लिइने गरिन्छ । सम्पूर्ण देवीदेवता तथा प्रकृतिको पूजा गर्ने क्रममा तीनराते धार्मिक अनुष्ठान तङसिङे पनि गर्ने गरिन्छ ।’
आफूले उब्जाएको अन्नबाली देवीदेवतालाई नचढाइ खाएमा धुताउने, बौलाउने, रगत छदाउने, कुन्जे सापे बनाउने, सोला हान्ने, जिउ सुकेर जाने, गाँड निस्कने, आँखा दुखाउने, अन्धो बनाउने, कान दुखाउने, बहिरा बनाउनेजस्ता भयावह रोगब्याधीले दुःख पाइने लिम्बू समुदायको विश्वास रहेको छ ।
यो समयमा हिमाली भागमा हिउँ पर्ने भएकाले उच्च पहाडी भाग तथा हिमाली भेगको खर्कतिर लगिएको गाईगोठ पनि तल बस्तीतिर झारिने गरिन्छ, जसलाई उधौली झारिएको भन्ने गरिन्छ । यिनै गाईगोठलाई हिउँदभरि खेतबारीमा मलजल गराई पुनः वैशाख महिनामा उकालो लगिइन्छ, जसलाई उभौली भन्ने गरिन्छ ।
जुन समयमा खेतबारीमा अन्न लगाउने समय भएको हुन्छ । प्रकृति पूजक लिम्बूहरूले यो समयमा पनि आफूले लगाएको अन्नबाली सप्रियोस् भनी देवीदेवतासँग प्राथना गर्ने गर्छ । यसलाई यद्वा पूजा उभौली पूजा भन्ने गरिन्छ र यिनै देवीदेवताको आर्शीवादले फलाएको उब्जाएको अन्नबाली चढाउने पूजालाई चासोक भनेर मान्ने गरिएको मेन्याङ्बोको भनाइ छ ।
हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु हुने चासोक तङ्नाम न्वागी पूजा अर्थात् उधौली सुरु भएको छ । चासोक तङ्नामलाई लिम्बूहरूले परिश्रमको फल खाने उपयुक्त समय मानी ‘तागेरा निङ्वा युमालाई’ चढाएर पूजाअर्चना गरी खाने चलन छ । यो पर्व प्रत्येक वर्ष संसारभरि छरिएर रहेका भूमिपुत्र भेला भएर विशेष पूजाअर्चना गरी मनाउने गरेका छन् ।
यस पर्वको अवसरमा नेपाल, भारत, हङ्कङ, संयुक्त अधिराज्य, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिकालगायत मुलुकमा रहेका लिम्बू समुदायले जातीय वेशभूषासहित सांस्कृतिक कार्यक्रम गरी चासोक तङनाम मनाउने गरेका छन् ।
यसैबीच आइतबारदेखि धरानमा किरात याक्थुङ चुम्लुङद्वारा आयोजित चासोक तङनाम उत्सव शुरु भएको छ ।
चासोक तङनामको अवसरमा धरानमा सांस्कृतिक रयाली प्रदर्शन समेत भएको छ । धरानको छाताचौकबाट शुरु भएको रयाली बजार हुँदै चासोक उत्सवस्थल चुुम्लुङ हिम पुगेर टुंगिएको थियो ।
शुरु भएको चासोक तङनाम उत्सव ४ गतेसम्म चलन चुम्लुङ नगर अध्यक्ष तीर्थ मादेम्बाले जानकारी दिए । उत्सवमा २१ वटा स्टलहरू राखिएका छन् भने पाँच दिन सम्म प्रत्येक साँझ सांस्कृतिक कार्यक्रम आयोजना हुने आयोजकले जनाएको छ । कार्यक्रममा राष्ट्रिय कलाकारसहित लिम्बू कलाकारहरूको उपस्थितिमा गायन तथा नृत्यको मनोरन्जन लिन सकिने आयोजकले जनाएको छ ।