कुरा एक वर्ष अघिको हो। करिडोरको एक पुल छेउमा एउटा मोटरसाइकल रफ्तारमा आयो। त्यो मोटरसाइकलमा दुई जना सवार थिए।
चालक र पछाडि बस्ने अर्का व्यक्तिको बीचमा ठूलो प्लाइउड तेर्स्याइएको थियो। उनीहरू अघि बढ्दाबढ्दै एक्कासि ठूलो आवाज आयो। मोटरसाइकल पछाडि बस्ने मानिस सडकमा पछारिए। सायद चालकले उचाइको ख्याल गरेनछन्, प्लाइउड पुलमा ठोक्किएछ। उनी सामान्य घाइते भए। तर प्लाइउड टिपेर फेरि मोटरसाइकलमै बसे। चालकले पुनः बेतोडले मोटरसाइकल हुँइक्याए।
साँघुरो सडक तथा ठाउँ–ठाउँमा होचो पुल मुनिबाट पार गर्नुपर्ने भएकाले धोबिखोला करिडोरमा चालकहरू हरदम चनाखो बन्नुपर्ने हुन्छ। तर यो मोटरसाइकलले त्यसलाई परवाह नै गरेको देखिएन।
मोटरसाइकल लडिसकेपछि उठेर उनीहरू गए पनि आफ्नै आँखाअगाडि भएको त्यो घटनाले धेरै पछिसम्म सोचमग्न गराइरह्यो। मनमा प्रश्न उब्जिइरहे– यदि त्यो मोटरसाइकलको पछाडि बस्नेले सिसा बोकेको भए? अथवा पछाडि रफ्तारमा अर्को गाडी आएको भए?
सम्भावित दुर्घटना सम्झेर अहिले पनि डर लागिरहन्छ।
नेपालमा सवारी दुर्घटना भयावह छ। प्रहरीको रिपोर्ट अनुसार विगत दश वर्षमा लगभग चौबीस हजारले सवारी दुर्घटनामा ज्यान गुमाएका छन्। दुर्घटनाको ठूलो हिस्सा मोटरसाइकलले ओगट्छन्। प्रहरीको तथ्यांकअनुसार सवारी दुर्घटनाबाट हुने कूल मृत्यु वा घाइतेमध्ये ६८ प्रतिशत मोटरसाइकलका कारणले हुने गरेको देखिन्छ।
मोटरसाइकलको भयावह यात्राबारे उकालोमा केही समय अघि विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो। विगत पाँच वर्षको तथ्यांक हेर्ने हो भने अन्य सवारीसाधनको तुलनामा मोटरसाइकलको दुर्घटना उच्च छ। गत वर्ष २० हजार मोटरसाइकल दुर्घटनामा परेका थिए। सडक तथा सवारी सम्बन्धी नियम उल्लंघन गरेर कारबाहीमा पर्ने मोटरसाइकल चालक पनि धेरै छन्। सडक तथा सवारी नियम मिचेको कसुरमा आर्थिक वर्ष २०८०/८१ मा करिब १० लाख मोटरसाइकल चालक कारबाहीमा परेका थिए।
कस्तो सवारी मोटरसाइकलको?
समाजमा अहिले धेरैका निम्ति सवारी साधन अपरिहार्य बनेको छ। बढ्दो शहरीकरण र शहरी जीवन धान्नुपर्ने सामाजिक–आर्थिक कारणले यसको आवश्यकता बढ्दो छ छ। सार्वजनिक यातायात चुस्त नहुँदा जोकोही व्यक्ति आफ्नै सवारीसाधन किन्न तम्सिएका छन्। यसमध्ये अधिकांशको रोजाई दुई पाङ्ग्रे बनेको छ। यसले आम जीवन र दैनिकी सहज बनाउन मद्दत त पुर्याएकै छ, सँगै दुई पाङ्ग्रेको प्रयोग सडकमा कसरी भएको छ भन्ने प्रश्न पनि टड्कारो बनेको छ। यो प्रश्नको जवाफ सडक सुरक्षासँगै जोडिन आइपुग्छ।
आँकडाहरूले नै देखाउँछन्, नेपालमा मोटरसाइकलको यात्रा जोखिमपूर्ण छ। केही दिन अगाडिको घटना हो। भक्तपुरको सल्लाघारीमा एउटा मोटरसाइकलमा चार जना सवार थिए। पछाडि बसेकी महिलाले ठूलो झोला भिरेकी थिइन्। उनले अगाडिपट्टि एक वर्ष जतिको बच्चासमेत च्यापेकी थिइन्। चालकले पनि त्यति नै उमेरको अर्को बच्चा कम्मरमा पटुका बाँधेर अगाडि च्यापेका थिए। मोटरसाइकलले सामान पनि बोकेको थियो। दुवैतिरको लेगगार्डमा सामानका ठुल्ठुला पोका थिए।
अरनिको राजमार्गमा यस्ता दृश्य पटक–पटक देखिन्छन्।
काठमाडौँ उपत्यकाका अन्य सडकमा समेत यस्ता दृश्य नौला होइनन्। बाध्यता पनि होला। तर पनि सुविधाको नाममा मानिसहरू सुरक्षाको ख्याल नै नगरी जोखिमपूर्ण यात्रा गर्न तयार भएका देखिन्छन्। खासमा यस्तै यात्रा दुर्घटनाका कारक बन्ने गर्छन्। यसले वयस्क चालकलाई मात्र हैन, बालबालिकालाई समेत जोखिममा पारेको छ। सडक दुर्घटना कम गराउने हो भने यसलाई निरुत्साहित गर्नुपर्छ। नभए दुर्घटनाको दर बढ्दै जाने छ। प्रश्न उठ्छ, त्यसका निम्ति कसले के गर्ने?
सडकमा हुने दुर्घटनामा बर्सेनि बालबालिकाको ज्यान जान्छ। २०८०/८१ मा ६ वर्ष मुनिका ८० जना बालबालिकाको मृत्यु भएको थियो भने चौध सयभन्दा बढी घाइते भएका थिए। ६ देखि १६ वर्ष उमेरका ८५ जनाको ज्यान गएको थियो भने दुई हजारभन्दा बढी घाइते भएका थिए। २०७९/८० मा पनि यो संख्या उच्च थियो। त्यतिबेला ६ वर्ष मुनिका ९० जना बालबालिकाको ज्यान गएको थियो भने लगभग तेह्र सय जना घाइते भएका थिए। यही साल ६ देखि १६ वर्ष उमेरका १०८ जनाको मृत्यु भएको थियो, लगभग उन्नाइस सय जना घाइते भएका थिए।
प्रहरीको तथ्यांकले विगत पाँच वर्षमा ६ वर्षभन्दा मुनिका झण्डै साढे चार सय बालबालिकाको सडक दुर्घटनामा ज्यान गएको देखाउँछ। यही अवधिमा सोही उमेरका बालबालिका पाँच हजार ४११ जना घाइते भएका छन्।
मोटरसाइकल यात्रामा देखिने दृश्यले अविभावकले कलिला बालबच्चाको ज्यानसमेत जोखिममा राखेको देखाउँछन्। जसले मानसिक र भौतिक सुरक्षा दिनुपर्छ, उसैले आफ्नो सहजताको लागि (यसलाई बाध्यता पनि भन्ने गरिन्छ) सन्तानको जिउज्यानसँग हेलचेक्र्याइँ गर्न सुहाउँदैन। यसमा नाबालिग सुरक्षाको प्रश्न पनि जोडिन्छ। यो सडक दुर्घटनाको विषय मात्र हैन, बाल सुरक्षा र अधिकारको पनि सवाल हो।
दुई पाङ्ग्रे सवारीसाधन नेपालमा असुरक्षित बनिरहेका छन्। सहजता र बाध्यता दुवै कारणले मानिस यसमा निर्भर हुँदै गए पनि सुरक्षाको दृष्टिकोणले यो जोखिमपूर्ण साधन भएको छ। मोटरसाइकल र स्कुटर जस्ता साधन ठूला गाडीको कारणले मात्र होइन, आफ्नै कारणले पनि असुरक्षित बनिरहेका छन्।
सत्तरीको दशकमा थाइल्यान्डको राजधानी बैंककमा अत्यधिक दुई पाङ्ग्रे चल्थे। नियमनको कमजोरी अहिलेको काठमाडौँ जस्तै थियो। त्यहाँ पनि मानिसहरू ठुलाठुला सामान बोक्न मोटरसाइकल प्रयोग गर्थे। एक पटक बैंककको सडकमा एउटा मोटरसाइकल खाट बोकेर दौडिएको पनि देखिन्थ्यो।
काठमाडौँका सडकमा पनि यस्ता दृश्य अहिले सामान्य लाग्छन्। दुई पाङ्ग्रेको पछाडि बस्नेले दुईतिर ग्यास सिलिन्डर बोकेका, खसीबोका बोकेका दृश्य त हामी हरेक दिनजसो हेरिरहेकै छौँ। दुर्घटना घटाउन यसमा ध्यान दिने बेला भएन र?