धरानः ‘माघे संक्रान्तिको लागि तरुलको जोहो गर्न आइपुगें’, धरान–१४ बस्दै आएका एकु घिमिरेले भने भानुचोक छेऊ सब्जीमण्डी बजारको भीड देखेपछि भने, ‘तरुल किन्नेको कति भीड ।’ धरान–३ स्थित चिनियाँचोकस्थित तरकारी बजार, धरान–९ स्थित सब्जीमण्ड, छाताचोकलगायतका स्थानमा तरुल व्यापार बढी भयो । बजारमा तरुल, तिलको लडडु, भुजाको लडडु साथै फलफूल किन्नेको सोमबार भीड लाग्यो ।
बजारमा तरुलसँगै तिलको लडडु, भुजाको लडडु, सख्खर, भुजा, चिउरा जस्ता खाद्यवस्तुको व्यापार हवात्तै बढेको व्यवसायी राजु विश्वकर्माले जानकारी दिए । दिनभरजसो यस्ता सामान बेच्न बेच्न व्यापारीलाई भ्याइनभ्याइजस्तै रह्यो । स्थानीय भाषामा (तिला सकराइत) अर्थात् माघ संक्रान्ति पर्वमा यी परिकारका बिक्री वितरण अत्याधिक हुने गरेकाले बजारमा भीड लागेको उनको भनाइ छ ।
पूर्वी पहाडी जिल्लाबाट धरानमा विभिन्न प्रकारका तरुल भित्रिने गर्दछ । बजारमा वन तरुल, घर तरुल, सखरखण्ड, स्कुसको जरा, सिमल तरुल, पिँडालु आदि पहाडी जिल्लाबाट आउने गरेको धरान–१३ स्थित कृषि बजार उपजस्थलका बजार व्यवस्थापक लक्ष्मण भट्टराईले जानकारी दिए ।
यसपटक कारोबार घटेको उनको भनाइ छ । यसपटक अघिल्लो वर्षको तुलनामा तरुलको भाउ केही बढेको पनि बताए । अघिल्लो वर्ष १४० रुपैयाँ पर्ने घर तरुल अहिले १८० देखि २०० रुपैयाँसम्म रहेको उनले जानकारी दिए । यसपटक रातो तरुल कम आएको र तरुलको बिक्री पनि कम भएको उनको भनाइ छ । धरानस्थित खुद्रामा बजारमा भीड भएपनि काठमाडौं, पोखरासम्मबाट आउने व्यवसायी भने बजारस्थलसम्म कम आएको अनुभव गरेको उनले जानकारी दिए । ‘भाउ बढेको, सामान नभएको, मान्छेको भीड पनि त्यति भएन ।’ उनी भन्छन् ।
निम्न आयस्तर तथा मध्यमवर्गका उपभोक्ताले घर तरुल बढी किन्ने गरेको बजारस्थलका अध्यक्ष काजी गिरी बताउँछन् । धरानमा मुख्य गरी पहाडी क्षेत्रका तरुल भित्रिने गरेको छ । धनकुटा, संखुवासभा, तेह्रथुम, भोजपुर, उदयपुर लगायतबाट पनि तरुल भित्रिने गरेको उनले जानकारी दिए ।
शिशिर यामको मध्यसमयमा पर्ने यस दिनले विभिन्न समुदाय र जातिहरुका लागि भिन्दाभिन्दै महत्व बोकेको पाइन्छ । थारु समुदायले माघीको रुपमा मनाउने यस दिनलाई नयाँ वर्ष मानी शुभकामना आदानप्रदान गर्ने गर्दछन् । मगर, नेवार तथा ब्राहमण समुदायका लागि पनि यस दिनको गरिमा उच्च छ । यस अवसरमा घर घरमा तिलको लडडु, चाकु, घ्यू, खिर, उसिनेको तरुल, सख्खरखण्ड, पिँडालु र फर्सीलगायत खाने गरिन्छ ।
तरुलमा पर्याप्त मात्रामा कार्बोहाइड्रेट र खनिजको मात्रा पाइने गरेको यससँग सम्वद्ध विज्ञहरुको राय छ । यसमा भोजनलाई सन्तुलनमा राख्न सक्ने फाइबरको मात्रा पनि हुने भएकाले तरुल एक स्वास्थ्यवद्र्धक र बहुपयोगी कन्दमूल हो ।






