धरानः धरान उपमहानगरपालिकाले अबको एक महिनादेखि सुर्तीजन्य वस्तु (रजनीगन्धा, तुलसी, भोला, गुट्खा, खैनी साथै पानपराग समेत) बिक्री वितरणमा रोक लगाउने भएको छ ।
बिहीबार बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । अबको महिनादिनभित्रमा आफ्नो २० वटै वडामा सुर्तीजन्य पदार्थको बिक्रीमा पूर्ण निषेध गर्ने निर्णय भएको धरान उपमहानगरपालिका मेयर हर्कराज राई साम्पाङले जानकारी दिए ।
अबको एक महिनापछि प्लास्टिकमा प्याक गरिएका सुर्तीजन्य पदार्थको बिक्री, भण्डारण तथा प्रयोगलाई पूर्ण निषेध गर्ने तयारी गरिएको उनले जानकारी दिए । कार्यपालिका सदस्य विकास भाटीका अनुसार (चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, प्लास्टिकमा प्याक गरिएका कच्चा सुर्ती, खैनी, गुट्खा, पानपराग वा यस्तै प्रकृतिका मुखमा राखेर रस लिने पानदेखि अन्य) सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री र प्रयोग गर्न पाइने छैन । कसैले बिक्री गरेको देखे नगर प्रहरीमार्फत त्यस्ता किसिमका सामग्री जफत गर्ने मेयर साम्पाङले जानकारी दिए ।
कार्यपालिका बैठकमा सबैले यो राम्रो कामको शुरुवात हो भन्दै प्रशंसा गर्दै यस्तो निर्णय गरेका हुन् । ‘अब व्यवसायीलाई एक महिनासम्म ‘स्टक क्लियरेन्स’ को समय दिइन्छ, त्यसपछि धरानमा सुर्तीजन्य वस्तु बेच्न र प्रयोगमा पूर्णरुपमा निषेध गरिन्छ ।’ मेयर साम्पाङले भने ।
यो निर्णयसँगै अबदेखि धरान उपमहानगरपालिका क्षेत्रभित्र कच्चा सुर्ती, खैनी, गुट्खालगायत सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोग गर्न पााइने छैन । जस्तोसुकै तरिकाले प्याक गरिएको भएपनि कच्चा सुर्ती, खैनी, गुट्खा प्रकृतिका चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, बिक्री र भण्डारणमा प्रतिबन्ध लगाइएको उनले बताए ।
‘प्लास्टिकमा प्याकिङ गरिएका मात्र निषेध गर्ने हो भन्ने धेरैले प्रश्न गर्नुभयो । तर त्यसो होइन । सुर्तीजन्य वस्तु प्लास्टिकले बेरेको भए पनि वा कागजले बेरेको भए पनि हानीकारक हो । प्लास्टिकले वातावरणमा थप नकारात्मक असर गरिरहेकोले प्लास्टिक प्याकिङको कुरा जोडिएको हो । कच्चा सुर्ती, खैनी, गुट्खा प्रकृतिका चुसेर रस लिने सबै प्रकारका सुर्तीजन्य पदार्थको प्रयोग, विक्री र भण्डारणमा प्रतिबन्ध लगाउने निर्णय भएको हो ।’
उपमहानगरपालिकाले प्रतिबन्धको कार्यान्वयनको अवस्थाबारे अनुगमन गर्नेछ यदि बिक्री वितरण र भण्डारण गरेको पाइए पसल बन्द समेत गर्न सकिने उनको भनाइ थियो । ‘पसलहरुमा सुर्तीजन्य पदार्थ भण्डारण वा बिक्री गरेको पाइए पहिलो र दोस्रोपटक जफत गरिनेछ । तेस्रो पटक पनि भण्डारण वा बिक्री गरेको पाइए पसल नै बन्द गराइनेछ ।’ उनको भनाइ छ ।
सार्वजनिक स्थानमा धुम्रपान गरेको पाइए सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन सम्बन्धी ऐन २०६८ को व्यवस्थाअनुसार कारबाही हुने उनको भनाइ छ । ऐनमा सार्वजनिक स्थलमा धुम्रपान गरे त्यस स्थानबाट निकाल्ने, १ सय रुपैयाँसम्म जरिवाना गर्ने, सार्वजनिक स्थलको १ सय मिटर वरपर बिक्री वितरण गरे सामान जफत गर्ने र पसल बन्द गर्नेसम्मको कारबाही गर्न सकिने व्यवस्था छ ।