धरानः धरान–१६ स्थित युएन, नवोदय कलेजमा फुड फेस्टिबलको आयोजना हुने भएको छ ।
भोलि बिहीबार कलेज परिसरमा भव्यताका साथ होटल म्यानेजमेण्ट पढ्ने विद्यार्थीले फुड फेस्टिबल आयोजना गर्न लागेका हुन् । फेस्टिबलमा विद्यार्थीले किराती परिकारदेखि अन्य परिकार चखाउने कलेज होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठले जानकारी दिए । नेपाली र विदेशी गरी खानाका २० भन्दा बढी परिकार चखाइने उनको भनाइ छ । सो दिन किरातीदेखि विभिन्न जातजातिका परिकार, खाना, धराने मःम, थुक्पाको परिरकार साथै अन्तर्राष्ट्रियस्तरका परिकारसमेत चखाइनेछ । उनले विद्यार्थी, अभिभावकबाहेक फुड फेस्टिबलमा प्रस्तुत गरिने परिकार चाख्न पनि उनले आग्रह गरे ।
होटल म्यानेजमेण्टको विद्यार्थीको क्षमता, प्रतिभा प्रदर्शन गर्न फेस्टिबलको आयोजना गर्न लागिएको उनले जानकारी दिए । ‘अभिभावक, साथीभाइसँग आफूमा रहेको क्षमता, आफूले सिकेका सीप देखाउन सकुन् भन्ने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गर्न लागेका हौं’, उनले भने । उनका अनुसार फेस्टिबलले खाना पकाउनेमात्रै होइन बेच्ने कलासम्मको ज्ञान मिल्नेछ ।
अध्ययनका क्रममा आफूहरुले सिकेका ज्ञान प्रयोग गरी बनाइएका परिकार र डिजाइनहरू प्रदर्शनीमा राखिने क्याम्पस प्रमुख डम्बरकुमार तुम्बापोले जानकारी दिए । फेस्टिबलका लागि विद्यार्थी आफैंले परिकार पकाउने र पस्कने गर्दा उनीहरुमा थप क्षमता अभिवृद्धि हुने उनी बताउँछन् । ‘वास्तविक प्रयोगात्मक अध्यास नै यस्तै कार्यक्रम हुन् । होटल व्यवस्थापनका विद्यार्थीले वास्तविकरुपमा अभ्यासलाई प्रस्तुत गर्ने अवसर पाएका छन्,’ प्रमुख तुम्बापोले भने, ‘विद्यार्थीलाई किताबीभन्दा पनि प्रयोगात्मक अभ्यास जरुरी रहन्छ । फुड फेस्टिबलले त्यो अभ्यास दिलाएको छ ।’
फुड फेस्टिबलबाट भविष्यमा आफैंले कुनै व्यवसाय गर्न वा जागिर खानका लागि व्यवहारिक ज्ञान आर्जन गर्न सक्ने उनले बताए । ‘पुस्तकबाहेक व्यावहारिक सीप उजागर गराउनका लागि एकदिने फुड फेस्टिबल आयोजना गर्न लागेका छौं’, उनले भने, ‘यसले विद्यार्थीलाई आफैंले कुनै व्यवसाय गर्न सहज हुनेछ भन्ने ठानेका छौं ।’
विद्यार्थीमा रहेको सीप पस्कने अवसर यस्ता फेस्टिबलले गर्ने हुनाले पनि यसलाई जोड दिँदै आएको कलेजका अध्यक्ष ज्ञानेश्वर झा बताउँछन् । उनले विद्यार्थीको वास्तविक सिकाई नै यस्तै कार्यक्रम हुने बताए । ‘विद्यार्थीले पुस्तकको ज्ञानमात्र पढेर हुँदैन । उनीहरुलाई व्यवहारिक सीप पनि दिनुपर्छ । कक्षाकोठामा पढेको ज्ञानलाइ भान्सामा व्यवहारमा लागू गर्ने भएकाले यस्ता कार्यक्रमले विद्यार्थीमा क्षमता विकास गर्छ,’ उनले भने, ‘फुड फेस्टिबल आफैंमा सिकाई भएकोले यसले विद्यार्थीलाई वास्तविक ज्ञान उपलब्ध गराउँछ ।’
कलेजले जनशक्ति उत्पादन गरेर साथ दिएको पनि उनले बताए । ‘नेपाल पर्यटकीय क्षेत्र हो, होटलमा यहाँ जनशक्तिको अभाव खडकिइरहेको हुन्छ । हामीले उत्पादन गरेका विद्यार्थीले अभाव भएको जनशक्ति पूर्ति गर्न सहयोग गरेका छन्,’ उनले थपे, ‘अझ भन्ने हो भने विदेशमा समेत हाम्रा विद्यार्थी पुगेर रोजगारीमा सहभागी हुँदै आएका छन् ।’
कलेजमा होटल म्यानेजमेण्ट, बिएचएमका साथै म्यानेजमेण्ट, कम्प्युटर साइन्स, साइन्स, बिबिएसको अध्ययन अध्यापक हुँदै आएको छ । कलेज नतिजामा पनि उत्कृष्ट नै छ । क्याम्पस प्रमुख तुम्बापोका अनुसार विद्यार्थी नेपाल ‘सेकेण्ड टप’ देखि वर्षेनी प्रदेश प्रथम समेत हुँदै आएकोले आफूहरुले गरेको लगानी सही सावित हुँदै आएको छ ।
कलेजमा पढ्ने विद्यार्थीले आफैंले ग्रिसमा होटल खोले
कलेजमा कक्षा–१२ सम्म होटल म्यानेजमेण्ट पढेका धरानका साजन राईले ग्रीसमा रेष्टुरेन्ट खोलेको कोअर्डिनेटर श्रेष्ठले जानकारी दिए । सीप सिकेर विदेश पुगेर पनि रेष्टुरेण्ट सञ्चालनमा ल्याउनु गर्वको कुरा भएको उनी बताउँछन् । ‘आफू लगानीकर्ता भएर त्यहाँको लोकललाई रोजगारी दिनु भनेको एकदमै ठूलो कुरा हो’, उनी भन्छन्, ‘यसले गर्दा सीप सबैभन्दा ठूलो कुरा हो, जुन सीप कलेजले प्रदान गर्न सहयोग गरयो, हामीले त गर्व महसुस गरिरहेका छौं ।’