विराटनगर : कोशी प्रदेशमा लागुऔषधको अवस्था भयावह बनेसँगै नियन्त्रणका लागि ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’ अभियान सुरु भएको छ।
कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयसँगको समन्वयमा प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीले सुरु गरेको अभियानको कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बुधबार सुनसरीको इटहरीमा शुभारम्भ गरेका छन्। समाजमा बढ्दो दुर्व्यसन नियन्त्रणको मुख्य उद्देश्य राखेर अभियान अगाडि बढाउन प्रदेश सरकारले प्रहरीसँग सहकार्य गरेको हो।
सुनसरीबाट २०७५ सालमा ‘पाइलट प्रोजेक्ट’का रूपमा सुरु गरिएको प्रारम्भिक अभ्यास प्रभावकारी देखिएपछि त्यसलाई ६ वर्षपछि प्रदेशका १४ वटै जिल्लामा विस्तार गर्न अभियान चलाइएको हो। सुनसरीमा २०७५ फागुन १४ गतेबाट सुरु भएको अभियानअन्तर्गत पहिलो चरणमा १६ वटा माध्यमिक विद्यालयमा प्रारम्भिक अभ्यास गरिएको थियो।
कार्यक्रममा अवधारणा प्रस्तुत गर्दै प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले ‘अबको युद्ध, दुर्व्यसनविरुद्ध’भन्ने मूल नाराका साथ दुर्व्यसनविरुद्धको अभियान ‘फाइट एगेन्स्ट नार्कोटिक’ (फेन) सुरु गरिएको बताए। उनका अनुसार इटहरीलाई केन्द्र बनाएर शुभारम्भ गरिएको अभियान प्रदेशका १४ वटै जिल्लामा सुरु भएको छ।
लागुऔषधले अवस्था भयावह बनाएको भनेर चिन्ता व्यक्त गर्दै डीआईजी अधिकारीले दुर्व्यसनले समाज ध्वस्त हुने स्थिति आइरहेको बताए। विशेष गरेर किशोर अवस्थाका बालबालिका साथीभाइको दबाब, ठूलाबडाको सिको, जिज्ञासु स्वभाव, भ्रम वा अज्ञानताका कारण लागुऔषधको दुर्व्यसनमा फस्ने उच्च जोखिम रहने उनको भनाइ छ।
‘अबको युद्ध, लागुऔषधविरुद्ध’ भन्ने नारालाई आत्मसात् गरी सबै एकजुट भएर अभियानलाई प्रभावकारी ढंगले अघि बढाउन उनले आह्वान गरेका छन्। ‘लागुऔषध नियन्त्रणमा सबैको सक्रियता आवश्यक छ। हैन भने अवस्था थप विकराल बनेर जान्छ। समाज ध्वस्त हुन्छ। लागुऔषधले चिन्ताजनक अवस्था उत्पन्न गराएको छ,’ डीआईजी अधिकारीले भने।
अभियानको शुभारम्भपछि मुख्यमन्त्री कार्कीले मानिसहरू पहाडबाट तराई बसाइँसराइ गरेजस्तै दुर्व्यसन तराईबाट पहाड तथा हिमाली भेगतर्फ सरिरहेको उल्लेख गरे। ‘अहिले तराईका जिल्लामा दुर्व्यसनको अवस्था भयावह छ। यो विस्तारै पहाडी र हिमाली क्षेत्रतर्फ सरिरहेको छ,’ उनले भने। दुर्व्यसन रोकथामका लागि सबै एकजुट हुन आवश्यक रहेको कार्कीले बताए।
लागुऔषधको भयावह अवस्था नियन्त्रण गरेर दुर्व्यसनमुक्त समाज निर्माण गर्न प्रदेश सरकार सक्रिय भएको उनको भनाइ छ। ‘प्रदेश सरकारले साझेदारी र सहकार्यका माध्यमबाट दुर्व्यसनविरुद्धको अभियान सञ्चालन गरेको छ। यसलाई सफल बनाउन सरकार एक्लैले मात्रै सम्भव छैन। सबैको साथ र सहयोग चाहिन्छ,’ उनले भने।
कार्कीले अभिभावक, शिक्षक, सामाजिक अभियन्ता, सरकार जनप्रतिनिधिहरुको सहकार्य र एकताबाट यो समस्याको समाधान हुने बताए। प्रदेश सरकार कानुनी र आर्थिक प्रबन्ध गरेर यसका काम अगाडि बढाउन लागि परेको उनको भनाइ छ। कार्कीले विगतमा आफू आन्तरिक मामिला तथा कानुनमन्त्री हुँदा ‘म अघि बढ्छु’जस्तो महत्वपूर्ण कार्यक्रम सुरुवात गरेर प्रदेशमा दुर्व्यसन र कुलत न्यूनीकरणका लागि भूमिका खेलेको स्मरण गरे।
‘हामीले त्यतिबेला राम्रो कामको सुरुवात गरेका थियौं। तर त्यो राजनीतिक कोपभाजनमा पर्यो। मानिसहरु बसाइँ सरेर गाउँबाट सहर छिर्छन्। तर, दुर्व्यसन सहरबाट गाउँतर्फ छिर्न थालेको छ। यो एकदमै चिन्ताजनक विषय हो,’ कार्कीले भने। लागुऔषधले समाजलाई पछाडि धकेलिरहेको भनेर उनले चिन्ता व्यक्त गरे।
कोशीका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले लागुऔषधका कारण सम्यता नष्ट हुने र समाज अपांग बन्ने जोखिम बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। यो अभियानमा प्रदेश सरकारसँग जोडिन सबै स्थानीय तह र सरोकारवालालाई उनले आह्वान गरेका छन्। मन्त्री भण्डारीले अभियानलाई प्रभावकारी र सफल बनाउन आगामी आर्थिक वर्षमा थप बजेटको व्यवस्था गरिने जानकारी दिए।
अभियानको शुभारम्भ गर्नुअघि प्रहरी बैण्डसहित प्रदेश सरकारका मन्त्री, राजनीतिक दलका प्रतिनिधि, नेपाली सेना, नेपाल र सशस्त्र प्रहरी, पूर्वप्रहरी संगठन, विभिन्न विद्यालयका विद्यार्थीहरु, संघ–संस्थाका प्रतिनिधि, पेसाकर्मी, नागरिक समाज तथा स्थानीय बासिन्दालगायतको उपस्थितिमा लागुऔषधविरुद्धका जनचेतनामूलक झाँकी र प्लेकार्डसहितको प्रभातफेरी निकालिएको थियो। कार्यक्रममा ‘फेन’ अभियानअन्तर्गत गठन भएका क्लबका पदाधिकारीलाई अभियानको ‘टी–सर्ट’ वितरण गरिएको थियो।
त्यस्तै, लागुऔषधविरुद्ध विभिन्न सचेतनामूलक कार्यक्रमहरु सञ्चालन तथा जनचेतना अभिवृद्धि गर्ने कार्यमा सक्रिय रहेका ‘फेन’ क्लबलगायत विद्यालय एवं संघ संस्थाका प्रतिनिधिलाई प्रशंसा पत्र प्रदान गरेर सम्मान गरियो। अभियानका परिकल्पनाकार डीआईजी राजन अधिकारीलाई पनि ‘फेन’ जिल्ला कार्यसम्पादन समितिको तर्फबाट सम्मान पत्र प्रदान गरिएको छ।
कार्यक्रममा इटहरी उपमहानगरपालिकाका मेयर हेमकर्ण पौडेल, सुनसरीका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी एवं ‘फेन’का पूर्वसंरक्षण ध्रुवबहादुर खड्का, ‘फेन’ जिल्ला कार्यसमिति सुनसरीकी संयोजक विमला ढकाल, दुर्व्यसनविरुद्ध सक्रिय शारीरिक सुगठनका पूर्वराष्ट्रिय खेलाडी मनोज सुवेदी, ‘फेन’ क्लबमा आबद्ध विद्यार्थी रञ्जु दाहाल (तिर्सना)लगायतले सबै एकजुट भएर लागुऔषधविरुद्ध लड्नुपर्नेमा जोड दिए। कार्यक्रममा ‘जागौं सबै जागौं, लागौं सबै लागौं दुर्व्यसनको विरुद्ध’ बोलको गीतमा प्रहरी कर्मचारीले सचेतनामूलक नृत्यसमेत प्रस्तुत गरेका थिए।