-टीएस ठकुरी
आइरन गेट मानिने एसएलसीको परिष्कृत रूप एसईई भर्खरै सकिएको छ । उपल्लो खुड्किलो चढ्दा हरेक अभिभावक आफ्ना सन्तानको रोजाइ विज्ञान विषय भइदिओस् भन्ने चाहन्छन् । सबैलाई डाक्टर, इन्जियर भइदिए हुने भन्ने छ । आफ्नो रुचि, सपना सन्तानको थाप्लोमा थोपर्ने अधिकांश नेपाली अभिभावकको स्वभाव हो । तर, बच्चाको गहिरो अभिरुचिले नै उसलाई सफलताको शिखर चढाउँछ, जिन्दगीभर खुसी र सन्तुष्टिसँगसँगै प्राप्त हुँदै जान्छ भन्ने धेरैलाई लाग्दैन ।
विश्वप्रसिद्ध फुटबलर लियोनल मेस्सीको आकर्षक कमाइ, सर्वत्र क्रेज र लोभलाग्दो जीवनशैली हेर्दाचाहिँ हरेक आमाबुबालाई छोरा वा छोरी यस्तै भइदिए हुने भन्नेचाहिँ लाग्न सक्छ । हो, यस्तै अभिभावकका लागि हेर्नैपर्ने सिनेमा हो अञ्जिला, जुन नेपालका सिनेमाघरहरूमा यतिबेला तेस्रो हप्तामा उत्तिकै जबर्जस्त हाउसफुल चलिरहेको छ ।
सामान्यतया म सिनेमालाई सिनेमाकै हिसाबले हेर्छु । अभिनय र कलाको संगम हो ठान्छु । हो, कतिपय सिनेमा समाजलाई मार्गनिर्देश गर्नेखालका पनि हुन्छन् । बलिउड सुपरस्टार आमिर खान अभिनित सिनेमा 'दंगल'ले मेरो अन्तरहृदय छोएको थियो । भारतीय कुस्तीबाज महावीर सिंह फोगटले आफूले देखेको सपना छोरी बालकुमारीमार्फत पूरा गर्न गरेको संघर्ष, त्याग र समर्पणलाई उक्त सिनेमामा चित्रण गरिएको छ । एउटा बाबुले छोरीको सपना पूरा गर्न कुन हदसम्म त्याग गर्छ भन्ने सन्दर्भलाई निकै मर्मस्पर्शी ढंगले देखाउँदा सायद हरेक अभिभावकको मन छोएको हुनुपर्छ । आमिर यसै पनि अभिनयमा पोख्त छन् । हरेक दर्शकको मनमा बसिदिन्छन् । बक्स अफिसमा बायोपिक जनराको उक्त सिनेमाले राम्रो व्यापारसमेत गर्न सफल भएको थियो ।
म अक्सर बायोपिक हेर्न रुचाउँछु । बायोपिकप्रति मेरो रुझान अलिक गहिरो नै छ । खेलाडीको बायोपिक त झन् अनुशासन, संघर्ष र सफलताले भरिएको हुने गर्दछ । देश जोड्ने सामर्थ्य बोकेको कथा खेलाडीसँगै हुन्छ । तसर्थ, वास्तविक कथाका नायकका पुस्तक अध्ययन गर्न र त्यस्ता खेलाडीका बारेमा बनेका बायोपिक फिल्म मेरालागि जहिल्यै प्राथमिकता रहने गर्दछ ।
नेपाली महिला फुटबल सुपरस्टार अञ्जिला सुब्बा तुम्बापोको जीवनकथामा निर्मित सिनेमा 'अञ्जिला' मेरा लागि बहुप्रतीक्षिति थियो । संयोगवश प्रिमियरमा उपस्थित हुन सकिनँ । खेलकुद पत्रकारिता गर्ने अधिकांश साथीहरू प्रिमियरमा पुगेका थिए । जबकि खेल पत्रकारका लागि सिनेमा खासै प्राथमिकतामा रहने गरेको मैले पाएको छैन ।
नेपाली राष्ट्रिय फुटबल टिमको कप्तान अञ्जिलाको जीवनकथामा बनेको भएर नै आमखेलपत्रकारलाई आकर्षित गरेको हुनुपर्छ । अञ्जिला निर्माण टिमले पनि चुस्त समन्वय गरेका कारण हुन सक्छ, धेरैको सहभागिता रह्यो। धेरैजसो साथीहरूले प्रिमियरपछि सामाजिक सञ्जाल रंगाए । मुखामुख प्रशंसा पनि सुनियो । सबैले सिनेमाको उच्च तहमै तारिफ गरे । खेलाडीको तारिफ त नेपाली खेल पत्रकार गर्छन् नै । सिनेमाको त्यो तहको तारिफले मैले 'अञ्जिला' जतिसक्दो चाँडो हेर्नैपर्ने सिनेमाको सूचीमा राखिसकेको थिएँ । जब मैले सिनेमा हेरेँ, म निकै भावुक बनेँ । अझ भनाैँ अञ्जिलाको साँच्चिकै फ्यान पो भएँ । निर्माता प्रेम श्रेष्ठप्रति थप श्रद्धा जाग्यो । निर्देशक मिलन चाम्ससहित कलाकार टिमलाई स्याबास् भन्न मन लाग्यो ।
अञ्जिला सामान्य निम्न वर्गीय परिवारबाट आएको र उनै प्रेम श्रेष्ठले बाटो देखाएको त मैले पनि सुनेको थिएँ । तर, यति गहिराइको कथाबाट स्वयम् म पनि अनभिज्ञ थिएँ । इलामको ग्रामीण परिवारमा जन्मिएकी र आर्थिक अवस्था निकै कमजोर भएको परिवारबाट फुटबल खेलाडी बन्ने सपना देखेपछि त्यसलाई पछ्याउँदै गरेको दु:ख, संघर्ष र सफलता नै सिनेमा अञ्जिलाको कथा हो । यसमा बुबाले छोडेर गएपछि अञ्जिला र उनका भाइलाई हुर्काउन पढाउन गरेको आमाको संघर्ष छ ।
एकल महिला भएर बाँच्न पनि सकस हुने अवस्थामा उनी ओत लाग्न अर्को विवाहित पुरुषको शरणमा पुग्छिन् । दोस्रो घरमा पनि पतिले छाेरीलाई खेलभन्दा पढाइमा लाग्न बाध्य पार्न खोज्छन् । त्यतिबेला पनि आमाले छोरी अञ्जिलाको रुचि र सपनालाई साथ दिन्छिन् । जिल्लास्तरीय प्रतियोगितामा छनोट हुँदा पनि खेल्न नपाएको झाेँकमा अञ्जिलाले जुत्ता, मोजा, बल जलाइदिन्छिन् । तर, उनको अन्तरहृदयमा फुटबल रहेको आमाले चाल पाउँछिन् । सन्तानको अन्तरआत्माको आवाज सुन्न सक्ने भनेकै आमा हुन् ।
यस सिनेमामा यसलाई राम्रोसँग देखाइएको छ । समाजले लगाउने अनाहकका लाञ्छनाबाट बच्न पनि दोस्रो बिहे गरेकी आमाले ठूलो जोखिम उठाएर छोरी अञ्जिलालाई फुटबलको सपना पूरा गर्न काठमाडौं पठाइदिन्छिन्, पतिलाई थाहै नदिई । काठमाडौंमा टाढाको नाता पर्ने बहिनी छिन् । उनैकहाँ अञ्जिलालाई पठाएकी हुन्छिन् । घरमा श्रीमान्सँग भिड्न बरू तयार हुन्छिन्, छोरीको सपनाविरुद्ध उभिन सक्दिनन् । काठमाडौंका लागि बिदाइ गर्दा उनले अञ्जिलालाई भन्छिन्, ‘यहाँ तेरो पीडामा आँसु पुछिदिने म थिएँ, अब काठमाडौंमा आँसु पुछ्ने कोही हुने छैन । आँसु आफैँ पुछ्नुपर्छ, लड्दा आफैँ उठ्नुपर्छ ।’
काठमाडौंमा सानिमाको घर पनि अञ्जिलाको अनुकूल हुँदैन । सबैले पढ्न सुझाव दिन्छन्, खेल्न कसैले पनि सल्लाह दिँदैनन् । यसैबीच एक दिन उनको भेट सशस्त्र प्रहरी बल खेलकुद शाखामा कार्यरत प्रेम श्रेष्ठसँग हुन्छ, उनकै अफिसमा । बजारमा फुटबल पोशाक खरिद गर्ने क्रममा पसलेले भेट्टाइदिएका हुन्छन् । एपीएफका लागि पहिलो ट्रायलमा प्रशिक्षकको नजरमा नपरेकी अञ्जिला अलिकति निराश हुन्छिन् । फेरि पनि आमालाई सम्झिन्छिन्, आमाले भनेका वाणी सम्झिन्छिन् । मनोबल उच्च पार्छिन् । दोस्रो ट्रायलमा एपीएफ क्लबका लागि छनोट हुन्छिन् । एपीएफका लागि छानिनु नै उनका लागि टर्निङ प्वाइन्ट बन्यो । अझ भनौँ प्रेम श्रेष्ठसँगको भेट नै सिङ्गो देशकै छोरी बन्नेतर्फको ढोका बनिदियो ।
शहरिया र मध्यमवर्गीय परिवारले पढाइको विकल्प पढाइ नै मान्छ । डाक्टर, इन्जिनियर एउटा फगत पेसा हो । समाज बन्न त सबै पेसा, सबै व्यवसाय अपिरिहार्य छ भन्ने समाजले बुझ्दैन । निम्न वर्गले त झन् कसरी बुझ्ला यस्ता कुरा । अञ्जिलाकी आमाले छोरीको सपना, इच्छा, रहर पूरा गर्न त्यो हदसम्म पाएको तिरस्कार, उनले गरेको त्याग र समर्पणको बाटो हरेक आमाका लागि प्रेरणादायी छ । बच्चा र परिवारभन्दा वैयक्तिक मोजमस्ती नै जीवन ठान्ने पहिलो श्रीमान्लाई चटक्कै छोडेर दोस्रो, त्यो पनि विवाहित श्रीमान्को छहारी खोज्नु उनका लागि रहर थिएन, बाध्यता थियो ।
प्रारम्भिक दिनमा फुटबल खेल्दा खुट्टामा चोट लागेका कारण दोस्रो पतिले अञ्जिलालाई खेल्ने छुट दिँदैनन् । अञ्जिला भने घाँस, दाउरा, मेलापात, वनपाखा गर्दा फुटबल साथमै लिएर जाने गर्छिन् । जुन पितालाई पटक्कै मन पर्दैन । यद्यपि, उनले अञ्जिलालाई सौतेनी नमानी आफ्नै छोरीकै हैसियत दिएका छन् । अञ्जिला पनि पिता नै मान्छिन् । पिताले पुत्रीलाई फुटबलको छुट नदिँदा मातापिताबीच द्वन्द्व भइरहन्छ । एक दिन पिता (दयाहाङ राई)ले आफ्नो आदेश सुनाउँछन्, ‘यो घर मेरो हो, मेरो आदेश सबैले मान्नुपर्छ ।’
अञ्जिलाकी आमाले जवाफ फर्काउँछिन्, ‘घर तिम्रो होला, छोरी मेरी हो । छोराछोरीको रहन सपना पूरा गर्न सकिन्छ कि भनेर म तिमीसँग आएकी हुँ ।’ सधैँ घरझगडा गर्नुभन्दा काठमाडौं पठाउने निधो उनले भित्रभित्रै गरिसकेकी हुन्छिन् । उनले रात्रिबस चढाइदिन्छिन् । आमाको भूमिकामा सिर्जना सुब्बाले पनि न्याय गरेकी छन् । अञ्जिलालाई शहर पठाउञ्जेल उनीहरूका संवाद दृश्य निकै मार्मिक छन् ।
शहर साह्रै स्वार्थी हुन्छ । गाउँजस्तो अपनत्व शहरमा हुन्न । शहरले स्नेह दिन जान्दैन । स्वार्थको सम्बन्ध मात्र राख्न जानेको हुन्छ शहरले । अञ्जिलाजस्तो किशोरी मस्तिष्कले यो बुझ्ने कुरै भएन । सानिमाको घर छाडेर निस्केपछि गरेको संघर्ष निकै मर्मस्पर्शी छ । जब उनी प्रेम श्रेष्ठको सम्पर्कमा पुग्छिन्, सम्भवतः उनको जीवनकै टर्निङ प्वाइन्ट त्यही बनिदिन्छ ।
प्रेम श्रेष्ठ आफ्नो समयका राष्ट्रिय भलिबल खेलाडी हुन् । नेपाल एपीएफ क्लबको जिम्मेवारीमा रहँदा पनि उनी खेलाडीमैत्री र पत्रकारमैत्री भनेर चिनिन्छन् । यदाकदा साथीहरूले अञ्जिलाका धर्मपिता भनेको पनि सुनियो । तर, तमाम अञ्जिला तयार गर्न प्रेम श्रेष्ठले योगदान गरेका छन् । सिनेमा समयावधि अञ्जिलाको संघर्षले सबैलाई रुवाउँछ । हरेक दृश्य र संवाद रुवाउने खालकै छन् । सिनेमा हलमा नरुने विरलै छन् । अझ, स्वयम् अञ्जिला आफैँले अभिनय गरेको हुँदा यसको वजन बढेको हो । यसमा निर्देशकले जोखिम लिएकै हुन् । यद्यपि, अञ्जिलाको अर्ग्यानिक अभिनय जीवन्त छ ।
सुरुदेखि अन्त्यसम्म सिनेमा हेरिरहँदा अञ्जिलाको अभिनयमा खोट लगाउने ठाउँ भेटिन्न । निर्देशक चाम्सले अञ्जिलाप्रति गरेको विश्वासले पनि उनको दूरदृष्टि झल्काउँछ । जिल्लास्तरको प्रतियोगिता खेल्नबाट वञ्चित अञ्जिलाले सिधै एपीएफ क्लबको ढोका उघारिन् । नेपालको राष्ट्रिय टिमको सदस्य हुँदै कप्तान बनिन् । पछिल्लो समय उनी ग्रीसमा व्यावसायिक फुटबल खेल्दै छिन् ।
आमफुटबलरको सपना हुन्छ, युरोपमा व्यावसायिक फुटबल खेल्ने । सायद नेपाली महिला फुटबलर सावित्रा भण्डारी साम्बापछि युरोप (ग्रीस)मा व्यावसायिक फुटबल खेल्ने अञ्जिला नै हुन् । स्याबास् अञ्जिला, तिम्रो वास्तविक कथाले आमकिशोरकिशोरीलाई भनिरहेकाे छ- जुनसुकै विषय पढ, जुनसुकै विधा रोज । तर, त्यसको गहिराइमा पुग । त्यसका लागि कठोर मिहिनेत गर, निष्ठाका साथ लागिपर, कहिल्यै बिचलित नहोऊ, मिहिनेत, अनुशासन र लगनशीलतालाई शिरोपर गर, सफलता अवश्य पाउनेछौ भन्ने शिक्षा दिन तिमी सफल भएकी छौ । अठोट, संघर्ष र सफलताको त्रिवेणी बन्न सफल छिन्, अञ्जिला । सबैको उत्प्रेरणा बनिराख्नू ।