घुम्नका लागि धरान पुग्नेहरू भेडेटारमा पुगेर चिसोको आनन्द लिने गरेको वर्षौं भइसक्यो। अर्थात् धरान र भेडेटार एकअर्काका पर्याय भइसके, स्थापित भइसके।
कवि उपेन्द्र सुब्बाले ‘भेडेटारको पिकनिक’ कवितामा भने झैँ भेडेटारमा रहेका पर्यटकीय पूर्वाधारले सबै उमेर समूहका व्यक्तिलाई लोभ्याउने गरेकै थियो।
अहिले भने भेडेटारसम्म पुग्नै पर्दैन। केही तलका डाँडापाखामा खुलेका राम्रा, आकर्षक, शान्त र मनै लोभ्याउने होटल रिसोर्टले स्थानीय र टाढाटाढाका पर्यटकलाई राम्रै सेवा दिन थालेका छन्।
धरान उपमहानगरपालिका–१३ स्थित भ्यू–पोइन्ट र साराङ्गा डाँँडा लगायतका डाँडापाखा केही वर्ष पहिले सुनसान जङ्गल थिए। तर ती ठाउँ अहिले नयाँ होटल, रिसोर्ट र रमणीय पार्कहरूले भरिँदै गएका छन्।
पार्क र होटलहरू निर्माण भएसँगै पर्यटनको आगमन पनि बढ्दै गएको छ।
अहिले यस क्षेत्रमा ४० वटाभन्दा बढी होटल रिसोर्ट र रेष्टुरेन्टहरू सञ्चालनमा रहेका छन् भने दर्जनौं पार्क निर्माण गरिएको छ, जसका कारण यहाँ दैनिक नेपाल भारत लगायतका ठाउँहरूबाट उल्लेखनीय सङ्ख्यामा पर्यटकहरूको आगमन हुने गरेको स्थानीय व्यवसायीहरूको भनाइ छ।
धरान–१३ का स्थानीय निरज कोइरालाको भनाइअनुसार धरानको सन्ध्याकालीन व्यापार र रमझम केही माथिका डाँडातिर सरेको छ।
'केही वर्ष अगाडिसम्म यी डाँडा, जङ्गल, झाडी र गोठालाका खेल मैदान सुनसान जस्तै हुन्थे। हामी घाँसदाउरा र गोठाला जाने गथ्र्यौं,' कोइरालाले सुनाए।
'कुनै समय उजाडझैँ देखिने डाँडापाखाहरूमा पार्क र रिसोर्टहरूले ढाकिएसँगै यहाँका स्थानीयवासीले रोजगारीका लागि नयाँ अवसरहरू पनि पाइरहेका छन्,' कोइरालाले भने।
‘लाहुरेको सहर, फेसनेबल सहर, खेलकुदको सहर’ लगायत अनेक उपनामले परिचित धरान सहर पछिल्लो समय मनोरञ्जन क्षेत्रका रूपमा निकै अगाडि छ। यसैको एउटा नमूना हो, डाँडापाखामा खुलेका नयाँ होटल, रिसोर्ट र मनोरञ्जनात्मक पार्कहरू।
पर्यटकीय हिसाबले भरपुर सम्भावना देखिएसँगै यस क्षेत्रलाई लक्षित गर्दै स्थानीय तथा बाह्य लगानीकर्ताहरूले पर्यटन व्यवसायमा लगानी बढाउँदै लगेका छन्।
वैदेशिक रोजगारीका सिलसिलामा १४ वर्ष कतारमा दुःख गरेर नेपाल फर्किएका सुनिल श्रेष्ठले धरान उपमहानगरपालिका–१३ मा ‘द होटल भ्यू’ सञ्चालन गरिरहेका छन्। विदेशमा गएर सिकेको सीप, अनुशासन र व्यवसाय कौशललाई होटल सञ्चालन गरेर उपयोग गरिरहेको सञ्चालक श्रेष्ठले बताए।
'सुरूमा ठूलो लगानीबाट सुरू गरिएको व्यवसाय कतै डुब्ला कि भन्ने डर थियो। सुरूआती समयमा चुनौतीहरू भए पनि अहिले होटल राम्रो चलिरहेको छ। त्यही कारण व्यवसायमा थप लगानी गर्ने हौसला मिलेको छ। धरानको प्राकृतिक सौन्दर्यलाई जोगाउँदै आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने प्रयत्न गरिरहेका छौँ,' उनले भने।
अहिले तीन कट्ठा जमिनमा करिब एक करोडको लगानीमा सपरिवार मिलेर होटल सञ्चालन गरिरहेको उनले जानकारी पनि दिए।
धरान आसपासका डाँडामा होटल र मनोरञ्जन पार्क निर्माण भई सञ्चालनमा आएपछि रोजगारीको अवसर पनि खुलेको छ।
‘द होटल भ्यू’ मा मात्रै १७ जनाले रोजगारी पाएका छन्।
'समय समयमा कामदारलाई तालिम दिने गरेको छु। अब चाहिँ लाग्न थाल्यो स्वदेशमै बसेर पनि राम्रो कमाइ गर्न सकिने रहेछ,' श्रेष्ठले भने।
द होटल भ्यूमा विगत तीन वर्षदेखि काम गरिरहेका समीर परियार भन्छन्, 'मैले यहाँ रोजगारी नपाएको भए अहिले म विदेश पलायन भइसक्थेँ होला। आफ्नै ठाउँमा रोजगार पाएको छु। धेरथोर भए पनि आम्दानी गरिरहेको छु। परिवारसँग बस्न पाएको छु। आफ्नो गाउँ ठाउँका होटलहरू विदेशी र स्वदेशी पाहुनाहरूको स्वागत सत्कार गर्न पाउँदा खुसी लागेको छ।'
धरानका डाँडापाखामा व्यावसायिक प्रयोजनका लागि होटल र पार्कहरू तीव्र गतिमा भरिने क्रममा रहेको छ। डाँडापाखा शान्त वातावरण, प्राकृतिक सौन्दर्य र शीतल हावाको मजा लिन चाहनेहरूका लागि धरानका डाँडापाखाहरू गन्तव्य बनेको छ।
पिकनिक स्पट, भव्य रिसोर्ट, आकर्षक पार्कले आन्तरिक पर्यटकलाई तानिरहेको इटहरीबाट घुम्न आएकी सुमी राईले बताइन्।
'धरानको सिरानमा रहेका यस क्षेत्रका होटल रिसोर्टहरू साँच्चिकै मनमोहक छन्। इटहरीबाट साथीहरूलाई लिएर घुम्न आएँ। यस ठाउँबाट धरान बजारका साथै सुनसरीको समथर फाँट, कोशी नदी, चारकोसे झाडी, चिन्डे डाँडा लगायतका ठाउँको दृश्यावलोकन गर्न सकिन्छ रहेछ। साथै चिसो हावापानी पाउँदा साँच्चिकै रमाइलो लागेको छ।'
सुमी राईलाई जस्तै तराईको गर्मी छल्ने र केही घण्टा भए पनि मनोरञ्जन गर्नेहरूका लागि धरान आसपासका डाँडा नयाँ गन्तव्य बनेका छन्।
केही वर्षअगाडि यस ठाउँमा आउँदा फाट्टफुट्ट मात्र रिसोर्टहरू थिए। तर अहिले डाँडाभरि होटल रिसोर्टहरू खुलिसकेका छन्।
'हामी सहरको भीडभाडबाट केही माथि सुन्दर अनि शान्त ठाउँमा आएर निकै रमाइलो गर्यौँ, यहाँको प्राकृतिक सौन्दर्यले मन नै आनन्दित हुन्छ अरू साथीभाइलाई पनि यस ठाउँमा घुम्न आउन आग्रह गर्छु,' सुमीले भनिन्।
धरानका डाँडापाखामा खुलेका होटल र फास्टफुड पसलमा नेपाली पर्यटकसँगै भारतीय पर्यटकको पनि आकर्षण बढेको छ।
धेरैजसो पर्यटकहरू धनकुटाको भेडेटार र नाम्जे जाने गर्थे। तर धरान आसपासका डाँडामा होटल र रिसोर्टहरू खुलेपछि पर्यटकहरू आकर्षित भएको धरान–१३ स्थित होटल साराङ्गाका सञ्चालक जेशिस राईले बताए।
कोशी राजमार्ग आसपास रहेको होटल र रिसोर्टमा आउने पर्यटकमध्ये करिब ४० प्रतिशत भारतीय नागरिकहरू रहेका छन्। पूर्वाधार विकाससँगै थप मनोरञ्जनका क्षेत्र विस्तार गर्न सके यो क्षेत्रमा पर्यटन व्यवसाय अझै फस्टाउने होटल साराङ्गाका सञ्चालक राईको भनाइ छ।
धरान आसपासका डाँडामा व्यक्तिका नाममा जग्गा भए पनि उपयोगमा आएका थिएनन्। घारी जङ्गल थियो, चोरी डकैती हुने गथ्र्यो। लागुऔषध सेवनकर्ता जताततै देखिन्थे। दिउँसो एक्लै हिँड्डुल गर्न कठिन थियो। साँझ परेपछि धनकुटातिर जाने सवारी साधनहरुमा समेत लुटपातको डर हुने गथ्र्यो। तर अहिले मध्यरातसम्म यी ठाउँमा झिलीमिली र गुल्जार हुने गरेको धरान–१३ का स्थानीय पदम राईले बताए।
'डाँडापाखामा चारैतिर होटल रिसोर्टहरूले झिलीमिली भएको देख्दा साह्रै राम्रो लाग्छ। होटल रिसोर्टहरूमा सयौँ युवाले स्वदेशमै रोजगार पाएका छन्। अझै थप पूर्वाधार निर्माण हुने क्रममा छ। अब यो ठाउँ धरान आउने पर्यटकका लागि पुग्नै पर्ने गन्तव्यका रूपमा विकास भएको छ,' उनले भने।
यहाँ सुनसरी, मोरङ, झापा, विराटनगर लगायत नेपालका विभिन्न ठाउँबाट आन्तरिक पर्यटक घुम्न जाने क्रम बढ्दै गएको छ। यहाँ पारिवारिक मिलन र भेटघाट, पारिवारिक घुमफिर, जन्मदिनका कार्यक्रम गर्ने चलन पनि बढ्दै गएको छ। यहाँका होटलमा नेपाली खानाका परिकार, स्थानीय जातजातिका खानाका परिकार, धराने कालो बङ्गुरको सेकुवा, सुकुटी, तोङ्बालगायतका स्थानीय खानाको स्वाद पनि पाइने होटल व्यवसायीहरूले बताए।