आफ्नो परिवारको सुरक्षित भविष्य र खुशीको लागि लाखौं नेपाली युवाहरू वैदेशिक रोजगारीमा छन् । कतिपय विवाहित छन् भने कतिपय अविवाहित । हाम्रो समाज पनि अचम्मको छ । श्रीमान् परदेशमा रहँदा सम्पत्ति कुम्ल्याउँदै टाप कस्ने, परदेशबाट घर फर्किनेवित्तिकै विदेशबाट पठाएको भएभरको सम्पत्ति लिएर अर्कैसँग जाने । यस्ता समाचारले जरो गाडिरहेको छ । इलाका प्रहरी कार्यालय धरानको तथ्याङ्कले भन्छ– ८० प्रतिशत निवेदन महिला हराएको भन्ने आउँछ । यसले पारिवारिक विखण्डनको भयावह रूप बनेको देखाउँछ । यो त महिला हराएका कुरा भए । तर समाजमै यस्ता महिलाको बिगबिगी पनि छ–जसले परदेशमा पसिना चुहाएको श्रीमान्ले पठाएको रकम नबचाएर मोजमस्ती गर्ने, घुमफिर गर्ने, अन्यत्रै जाने र अन्त्यमा जे जति रकम पठाएपनि नपुग्ने गरी फजुल खर्च गर्ने । तर यस्ता महिला पनि यही समाजमा छन् जो परदेसिएका श्रीमान्को कमाइ खर्च गर्दैनन्, बरू उल्टै घरमा बसेपनि श्रीमान्लाई सघाउँछन् ।
धरान–१७ रेल्वेकी लक्ष्मीकुमारी श्रेष्ठ (मैया)को कुरा गरौं । उनका श्रीमान् ९ वर्षअघि वैदेशिक रोजगारमै थिए । बहराइनमा १७ वर्ष बिताएका राजेन्द्र श्रेष्ठ घर फिरेपछि सन्तुष्ट छन् । लक्ष्मीकुमारीले त्यो समयमा परिवारलाई चाहिने खर्चभन्दा बढी खर्च गरिनन् । ‘महिनैपिच्छे जति रकम थाप्नुहुन्थ्यो, मेरै हातमा आइपुग्थ्यो’, उनले खुलाइन्, ‘मलाई पनि साथीभाइसँग घुम्ने, मोजमस्ती गर्ने रहर थियो होला तर पनि परिवारलाई चाहिनेभन्दा फजुल खर्च गरिनँ ।’
त्यतिबेला उनले पारिवारिक जिम्मेवारीसँगै अघि बढिन् । उनले छोरी सपनालाई फार्मेसीसम्म पढाइन् भने छोरा श्रवणलाई उच्च शिक्षासम्म । अहिले छोरी सपना जागिरे छिन् भने छोरा घरमै सघाउँदै आएका छन् । उनले यस्तै बिँडो थामेका कारण अहिले उनको परिवार सुखी र खुशी छ । त्यही भएर त अहिले उनको परिवार आर्थिकरूपमा दर्बिलो बन्दै गएको छ ।
अहिले रेल्वेचोकमा ‘चाँदनी सपिङ सेन्टर’ नामक पसल सञ्चालन छ । पहिला जग्गा किनेको र पछि चोकमा घर बनाएको उनले बताइन् । ‘अहिले हाम्रै समाजका महिलाहरू फजुल खर्चमा रमाउने पनि छन्, मैले जतन गरेर पैसा नबचाएको भए यो सम्भव नै थिएन’, उनले थपिन्, ‘महिलाकै सोचाइमा भर पर्ने हो ।’ उनले विदेशबाट पठाएको रकम ब्याजमा लगाइनन् । पछि जति रकम थियो त्यसको ब्याज बढ्दै गयो र श्रीमान् आएपछि रकम बढेको देखेपछि खुशी छाएको उनले सुनाइन् । उनले फजुल खर्च बचाएर दीर्घकालीन प्रतिफल पाउने आशामा रहेको बताइन् । ‘फजुल खर्चको रकम बचाएर केहीमा लगानी गर्न पाए हुथ्यो भन्ने सोचमा थिएँ, पछि श्रीमान् आएपछि डिपार्टमेण्टको सोचाइमा पसल खोल्यौं ।’
लाहुरेका श्रीमती र छोराछोरीले फजुल खर्च मात्रै गर्छन् भन्ने कुरालाई अस्वीकार्ने र श्रीमान्को दुःख बुभ्mनेमध्ये धरान–१७ स्थित सेण्ट जोसेफ इङ्लिस बोर्डिङ स्कुलमा कार्यरत् शिक्षिका ज्योति गुरूङ उदाहरणकी पात्र हुन् । धरान–१७ सयपत्री मार्गस्थित माइतीमा बस्ने उनी समयमै स्कुल जान्छिन् । उनका श्रीमान् छिरिङ दोर्जे भने भारतको मनिपुरमा सेनाका रूपमा कार्यरत् छन् । उनी हाल एक वर्षका लागि अमेरिकास्थित हाइटीमा कायरत् छन् । उनको एकजना छोरा छन् । टेण्डुप दोर्जे गुरूङ । उन िएलकेजीमा अध्ययनरत् छन् । ‘दैनिक स्कुल जान्छु, कमाउँछु र छोराछोरी हेर्छु, मोजमस्ती गर्ने त फुर्सदै हुँदैन’, उनले भनिन्, ‘यसले गर्दा श्रीमान्को दुःख पनि बुझियो, आफूले पनि कमाइयो ।’
पहिला पहिला श्रीमान्को मात्रै भरमा चल्नुपर्ने भएपछि असहज नभएको भने होइन । ‘पठाएजति सबै रकम सकिनखोज्यो’, उनले सुनाइन्, ‘तर म पनि आफै काम गर्छु र श्रीमान्लाई सहयोग गर्छु भन्ने भावनाले लागेपछि अहिले बचत पनि हुन थालेको छ ।’ परिवार रिटायर्ड भएपछि धरानमै घर–घडेरी जोडेर घरजम गर्ने सुरमा छन् उनीहरू । भविष्यका लागि भएपनि कामचाहिँ गर्नैपर्दो रहेछ अनि मात्रै जोगिन्छ भन्ने सोंच उनको छ । ‘कति गर्छु गर्छु नि श्रीमान्ले कमाएको पैसा जोगाउनलाई’, उनले भनिन्, ‘बचतको रकमले धरानमै केही गर्ने सोंच राखेका छौं ।’ स्कुलका प्रिन्सिपल श्रीधन राई ६–७ वर्षदेखि टिचिङमा लाग्नुभएकी गुरूङ नानीहरूको साइकोलोजी बुझेर पढाउने, पङ्चुअल, ड्युटीप्रति समर्पित र विद्यार्थीले समेत मन पराउने रहेको बताउँछन् । ‘यस्तो भयो भने समाज ट्रयाबाहिर जाँदैन, अघि बढ्छ, परदेशीले मात्रै होइन, परिवारले नै पनि समाज फेर्नुपर्छ ।’ उनले थपे ।
‘शुरूमा श्रीमान् पठाएको रकम चोख्खै जोगिन्थ्यो तर अहिले छोराछोरी बढे, हुर्के, माग पनि बढ्दो छ’, धरान–१७ की तिर्थ विकले भनिन् । उनका श्रीमान् शान्तकुमार भारतीय सेनामा कार्यरत् छन् । २ जना छोरी, एक छोराका धनी उनी श्रीमान् बाहिर रहेपनि छोराछोरी हुर्काउने, बढाउने मात्रै नभएर घर बनाउनेसम्मको जिम्मेवारी आइपरेपनि पछि हटिनन् । ‘काठको घर थियो पछि केही समय श्रीमान्ले सघाएपछि आफैले पक्की घर बनाएँ, पसल चलाएर जीविकोपार्जन गर्न थालें ।’ पसल चलाएपछि आफू आत्मनिर्भर बनेको उनले बताइन् ।
शुरूमा खर्च कसरी गर्ने भन्ने चिन्ता उनमा पनि नभएको होइन तर खर्चलाई कम गर्दै लगेपछि आफै लाइनमा आउँदो रहेछ भन्छिन् उनी । ‘अहिलेको महङ्गीमा पढाउन, खान, जोगिनै मुस्किल थियो तर पसल गर्न थालेपछि केही रकम जोगिन थालेको छ ।’ भविष्यमा साह्रो गाह्रो नपरोस् भन्दै आफू जोगाउनपट्टि लागेको उनले खुलाइन् । ‘भविष्य पनि त सोच्ने हो नि’, उनले भनिन्, ‘बालबच्चाको भविष्य, बुढेसकाल लागेपछिको पीडाको लागि भएपनि केही बचत गर्नुपर्छ ।’
विदेश जानेका पत्नी फेसबुक र मोबाइलबाटै परपुरूषको सम्पर्कमा पुगेपछि विदेशमा कमाएको रकम यो वा त्यो बहानामा स्वाहा पार्ने गरेको गरेको सुनेको धरान–६ पानबारीकी सविता बस्नेतले बताइन् । परदेशीले होइन, परिवारले नै फेर्नुपर्छ भन्ने आफूले बुझेको उनले बताइन् । ‘कतै विदेशबाट पठाएको पैसा पत्नीले मनपरी खर्च गरेको सुनिन्छ’, उनले भनिन्, ‘तर मेरो मामिलामा यस्तो छैन, मैले बुझेको छु परदेशीको पीडा ।’ अन्त्यमा सबैले भने पैसा जोगाइदिनुहोला, कन्ट्रोल गरिदिनुहोला ।