वैवाहिक जीवनमा पति–पत्नीबीच समय समयमा स्वस्थ्य यौनसम्वन्ध आवश्यक छ भन्ने मान्यता छ । नेपाली समाजमा यौनबारे भरसक कुरा गर्न नचाहने प्रवृत्ति बढी छ । व्यक्तिअनुसार यौनबारे ज्यादै महत्वपूर्ण, आवश्यक, केटाकेटी जन्माउनको लागि मात्र भएपनि आवश्यक वा नभै नहुने कुरा जस्ता फरक धारणा हुनसक्छ । तर, सफल दाम्पत्य जीवनको लागि स्वस्थ्य यौनसम्वन्ध आवश्यक छ भन्न सकिन्छ । पुरुषहरुमा देखिने विभिन्न यौनसमस्या मध्ये नपुंसकता पनि एक हो । यौन उत्तेजना वढाउने धेरै खालका औषधी बजारमा आइसकेका छन् र ती भन्दा अझ राम्रो औषधीहरुको खोजी भइराखेको छ । औषधी उत्पादक कम्पनीहरुलाई यस्ता यौन उत्तेजना वढाउने औषधीको माग छ भन्ने कुरा थाहा छ ।
स्वस्थ्थ पुरुषमा, पहिले यौनसम्वन्ध राख्दा कुनै समस्या नभएपनि पछि नपुंसकता हुन सक्छ । नपुंसकता नहुनको लागि पुरुषको यौनाङ्गमा रक्तसञ्चार गर्ने रक्त नलीहरू र नशाहरू स्वस्थ्य हुनु आवश्यक छ । कुनै कारणवस यौनाङ्गमा उत्तेजना ल्याउन आवश्यक पर्ने नशाहरूले राम्रो काम गर्न सकेनन् भने नपुंसकता हुन सक्छ । यस्तो अवस्था मधुमेहका बिरामीहरु र मदिरा पानको लत लागेका पुरुषहरुमा हुन सक्छ । किनकी यी दुवै अवस्थाले विभिन्न नशाहरुलाई असर पारेका हुन्छन् र ती मध्ये यौनाङ्गमा जाने नशा पनि पर्दछन् । अर्थात् मधुमेहका बिरामीले रोगलाई नियन्त्रणमा राख्ने प्रयास गर्नु पर्दछ, मदिरापानको लतवाट बच्न पनि जरुरी छ ।
खानेवानी र नपुंसकता धेरै हदसम्म अन्तरसम्बन्धीत कुरा हो । रगतका नलीहरुलाई साँगुरो गराउने २ वटा मुख्य तत्वहरुमा एउटा कोलेस्टेरोल हो र अर्को निकोटिन (चुरोट) हो । निकोटिन नपुंसकताको एउटा कारण मानिएको छ । चुरोट पिउनेहरुको मुखमा छिटो चाउरी पर्छ वास्तविक उमेरभन्दा बुढो देखिन्छ मुटुमा रक्त सञ्चार गर्ने नलीहरुलाई खुम्च्याउँछ र हृदयघात गराउन सक्छ र यौनाङ्गका रक्त नलीलाई खुम्च्याएर नपुंसक बनाउन सक्छ । लिङ्गमा उत्तेजना आउनु भनेको लिङ्गमा रगतको राम्रो सञ्चार हुनु हो र रगतका नलीहरु खुम्चिएर आवश्यक मात्रामा रगतको प्रभाह हुन सकेन भने लिङ्गमा हुनु पर्ने उत्तेजना र कडाइपन हँुदैन र कडाइपन नै नभएको लिङ्गबाट यौन सम्वन्ध सफल हुन सक्दैन ।
त्यस्तै, रगतका नलीहरुमा बोसोको लेउ लाग्यो भने रगतको नली साघुँरिदै जान्छन् । बोसोको लेउ लाग्ने भनेको कोलेस्टेरोल हो । कोलेस्टेरोल हाम्रो शरीरलाई आवश्यक पर्ने तत्व हो तर चाहिने भन्दा यसको मात्रा वढी भयो भने यसले रगतका नलीहरुलाई साँघुरो बनाउँदै जान्छ । रगतका नली साँघुरिएर ७० वा ८० प्रतिशत ब्लक भएका छन् र मुटुमा रगत पु¥याउन सकेका छैनन् भन्ने हामीले सुन्ने गरेका छौं, मुटुमा राम्रोसँग रगत सञ्चालन भएन भने हृदयघात हुन्छ ।
त्यस्तै, यौनाङ्गमा जाने रक्तनलीले यौन सम्बन्ध राख्ने इच्छा भएको बेलामा आवश्यक मात्रामा रगत लिङ्गमा पु¥याउन सकेनन् भने नपुंसकता हुन्छ । यही कुरालाई अर्को तरिकाले पनि भन्न सकिन्छ रगतमा कोलेस्टेरोलको मात्रा धेरै छ भने रगतको नलीहरु साँघुरिन्छन् र नपुंसकताको साथै अन्य विभिन्न स्वास्थ्य समस्याहरु आउन सक्छन । मानिसले चाहना राखेमा चुरोट नपिउन सक्छ र खानेकुरामा विशेष ध्यान दियौं भन कोलेस्टेरोललाई नियन्त्रणमा राख्न सकिन्छ । त्यस्तै गरेर मानसिक तनावलाई सकेसम्म कम गर्न सक्यो भने तनावका कारण हुनसक्ने यौनसमस्या पनि हँुदैनन ।
धेरैलाई लाग्न सक्छ रक्सिले यौन इच्छा वढाउनु पर्ने हो, हुन त हो रक्सिले यौनसम्वन्ध राख्ने इच्छा त बढाउन सक्छ तर सफलतापूर्वक यौनसम्पर्क राख्न सक्ने शक्ति कम गर्छ । अन्य यौनसमस्या उत्पन्न गर्ने रोगहरुमा डिप्रेसन, एन्जाइटी न्युरोसिस, मृगौला सम्बन्धी रोग, ब्लड प्रेसरको उपचारमा दिइने केहि औषधी, डिप्रेसनको उपचार गर्दा दिइने केही औषधी आदि हुन । मांसाहारी भोजन खास गरेर रातो मासु र धेरै वोसो भएको मासुले कोलेस्टेरोल बढाउँछ । त्यस्तै, गरेर घिउ, नौनी, चीज र विभिन्न प्रकारका तेलहरुले कोलेस्टेरोल बढाउँछन् । यसको मतलव यी पदार्थहरु खानै नहुने भन्ने भने होइन । सकभर रातो मासु र घिउको चिल्लो नखाएको राम्रो । तेलहरु सकेसम्म कम खानु उपयुक्त हुन्छ । यसका साथै भुटेको र तारेको खानाहरुमा धेरै चिल्लो हुनेहुँदा नखानु राम्रो हुन्छ ।
शाकाहारी भोजन स्वास्थ्यको लागि लाभदायक हुन्छ । शाकाहारी खानाहरु जस्तै चामल, दाल, आलु, गेडागुडीहरु, हरियो सागपात, तरकारीहरु, फलफूलहरु, चिल्लो नभएको दुध, दही, आदी खाँदा कोलेस्टेरोल बढ्दैन । शाकाहारी खाना खानाले कोलेस्टेरोल बढेका कारण नपुंसकता भएको रहेछ भने हट्छ । नपुंसकता मात्र होइन यस्तो खाना खानाले वजन घटाउन, ब्लड प्रेसर घटाउन, मुटु सम्बन्धी रोग कम गर्न, कब्जियत हटाउन र विभिन्न क्यान्सर रोगहरुबाट बच्न समेत सकिन्छ । शाकाहारी खाना खाँदा सकभर नुन र चिनी पनि कम खानु राम्रो हुन्छ । शाकाहारी खानाको साथै सलाद जस्तै गाँजर, काँक्रो, मूला, गोलभेडा आदि इच्छानुसार खाए हुन्छ ।
शाकाहारी खाना न स्वादिलो हुन्छ, न मिठो हुन्छ, न मन पर्छ यस्तो खाना कसरी खान सकिन्छ भन्ने प्रश्न कसैकसैले गर्लान् । हो मांसाहारी खाना खाने बानी परेकाहरु, धेरै चिल्लो र बोसोयुक्त खाना खानुपर्नेहरु, भुटेको र तारेको खाना खान मात्र मन पर्नेहरु र प्रशस्त आइसक्रिम चकलेट केक आदिको स्वाद लिनुपर्नेहरुलाई शाकाहारी खाना खान निकै कठिन हुन्छ । यस्ता स्वादका पारखीहरुले मिल्क चकलेटको बदला एक टुक्रा डार्क चकलेटमा बढीमा २ चम्चा आइसक्रिम राखेर खान सक्छन् । माछा, मासु खानै पर्ने भए छाला फालेको कुखुराको मासु र राम्रो खालको माछा स्वास्थ्यकर हुन्छ । यस्तो अवस्थामा तारेको भन्दा, ग्रील गरेको वा पकाएको खान सकिन्छ ।