धरानः निजी विद्यालयमा अतिरिक्त क्रियाकलापले विद्यार्थीमा सिकाइ उपलब्धि बढ्दो छ । केही समयअघि थोरै विधामा मात्रै क्रियाकलाप हुन्थे तर आजकाल धेरैजसो पढाइसँगै अतिरिक्त क्रियाकलापको पनि विधा थपिँदो छ । हिजोआज अतिरिक्त क्रियाकलापको शैली बदलिन थालेको छ । ‘हामीले हाउसवाइज विद्यार्थीहरूलाई समूह बनाएर क्रियाकलाप गराउँदै आएका छौं’, डिपोट स्कुलका प्राचार्य राजकुमार राई भन्छन्, ‘उनीहरूबीचमा त्यस्ता क्रियाकलाप गर्ने प्रतिस्पर्धा नै चल्छ, प्रतिस्पर्धाकै कारण बालबालिकाहरुले प्रगति गर्न सक्छन् ।’ प्रायः खेलकुद, नृत्य, गीत–सङ्गीत, नाटकजस्ता विधामा यहाँका विद्यार्थीले अब्बलता कायम गर्दै सावित पनि गरिसकेका छन् ।
यस वर्षको रेकर्ड हेर्ने हो भने मात्रै पनि अब्बलताबारे सावित गर्न काफी हुनेछ । वार्षिकरुपमा बालबालिकाहरुको प्रतिभालाई बाहिर ल्याउन साथै खेलमा बाल मोह जगाउन वर्षेनी डिपोट कप गराउँदै आएको डिपोटले मनमोहन मेमोरियल फुटबलमा च्याम्पियन बन्दै ४० हजार रूपैयाँ, प्याब्सनले आयोजना गरेको धरान क्षेत्रस्तरीय नृत्यमा प्रथम, क्वीज कन्टेष्टमा पहिलो, प्लस टु लेवलमा बास्केटबलमा च्याम्पियन बन्यो । यस्तै, धरान उपमहानगरपालिकाले आयोजना गरेको मेयर स्कुल ओलम्पिकमा च्याम्पियन बनेको उसले १ लाख रुपैयाँ नगद हात पा¥यो । पुरुष बास्केटबल, छात्रा बास्केटबल, छात्रा भलिबल, कराँतेमा २ स्वर्ण, टेबलटेनिसमा १ स्वर्ण, एथ्लेटिक्समा १ स्वर्ण हुत्याउँदै च्याम्पियन बन्न सफल बनेको हो । यस्तै, धरान उपमहानगरपालिकाले नै आयोजना गरेको लोकनृत्य प्रतियोगितामा प्रथम बन्यो । यस्ता अनेक अतिरिक्त विधामा डिपोटले नहारेको प्राचार्य राई बताउँछन् ।
पढाइको साथमा अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै जोड दिन थालेपछि विद्यार्थीको मानसिकता बदलिएको उनको कथन छ । स्कुलमा विद्यार्थी आकर्षित हुनुको प्रमुख कारणमध्ये पढाइ साथै अतिरिक्त क्रियाकलाप पनि ध्यान दिनु रहेको उनको भनाइ छ । ‘अहिले विद्यार्थीलाई पढाइमा मात्रै ध्यान दिएर दक्ष बनाउन सकिँदैन भन्ने कुरा विद्यालयले बुझेको छ, यही कुरालाई मनन गर्दै विद्यालयले दक्ष साथै योग्य नागरिक बनाउन लागिपरेको छ ।’
पढाइमा पहिलो प्राथमिकता त्यसपछि अतिरिक्तमा दोस्रो भनेर विद्यालय जहिल्यै लागिपरेको बताउँदै उनले हरेक विधामा प्रशिक्षकको व्यवस्था गरिएको जानकारी दिए । उनले स्कुल १३ बिगाहा १० कट्टा ६ धुरमा फैलिएको र भौतिक पूर्वाधारले सम्पन्न भएको विद्यार्थीले खेलकुद लगायत सबै विधामा भरपुर प्रयोग गर्न पाएको बताए । विद्यालयमै बास्केटबल कोर्ट, भलिबल कोर्ट, ब्याडमिन्टन कोर्ट, टेबलटेनिस कोर्ट, फुटबल ग्राउण्ड पनि छ । ‘सैद्धान्तिक ज्ञानले मात्र विद्यार्थीको चौतर्फी विकास हुँदैन, त्यसैले व्यवहारिक ज्ञान पनि दिन्छौं ।’ उनले भने ।
अतिरिक्त क्रियाकलापअन्तर्गत फुटबल, भलिबल, बास्केटबल, क्रिकेटलगायत खेलकुदसँग सम्बन्धित विधादेखि विद्यार्थीलाई सामाजिक कार्य सिकाउने समेत गर्ने गरेको छ । ‘कुन विधामा कसरी दक्ष हुने, विद्यार्थीलाई समाजमा कसरी मिलेर बस्ने आदि कुरा पनि सिकाउँछौं, यसले विद्यार्थीमा सामाजिक भावनाको विकास गराउँछ ।’ पुरानोमध्ये एक डिपोट गुणस्तरीय शिक्षा दिने उद्देश्यले लागेको हुनाले यो पनि एउटा गुणस्तरको पाटो हो भन्छन् प्राचार्य राई । अतिरिक्त क्रियाकलापमा जति विद्यार्थी अघि बढेका छन् शैक्षिक क्षेत्रमा पनि त्यति नै । डिपोटमा नर्सरीदेखि बिबिएस सङ्कायसम्म अध्ययन अध्यापन हुने हुन्छ ।