धरानः राज्यले नहेरिदिँदा सुनसरीको बराहक्षेत्रमा पर्ने प्रसिद्ध तीर्थधाम बराहक्षेत्र अहिले अलपत्र बनेको छ । धार्मिक दृष्टिकोणले ज्यादै महत्वपूर्ण बराह भगवान मन्दिर अलपत्र बनेको हो । राज्यका तीनै तह (स्थानीय, प्रदेश र सङ्घीय) कानमा तेल हालेर बसिदिँदा बराहक्षेत्रधाम अलपत्र बनेको स्थानीयले बताएका छन् ।
धार्मिकरुपले बराहक्षेत्रको महिमा र महत्व छ तर भौतिकरुपमा यसको अवस्था दयनीय बन्दै जाँदा पनि राज्यको आँखा त्यहाँसम्म पुग्न सकेको छैन । देश–विदेशबाट वर्षेनी लाखौं श्रद्धालु, भक्तजनहरु आउने बराहक्षेत्रमा धार्मिक पर्यटन विकासको प्रचुर सम्भावना भएपनि राज्य नलाग्दा अलपत्र बन्दै गएको हो ।
विगत तीन वर्षदेखि राज्यले झनै बेवास्ता गरिदिँदा अलपत्र नै परेको बराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्त श्रेष्ठ बताउँछन् । ‘राज्यले प्रसिद्ध धार्मिक क्षेत्र पनि भन्छ तर जति गर्नुपर्ने हो गर्न सकेको छैन’, उनी भन्छन्, ‘विगत तीन वर्षदेखि राज्यले बेवास्ता गरिदिँदा झनै अलपत्र बन्दै गएको छ ।’
उनले आउने भक्तजनलाई आकर्षण गराउने र राज्यले समेत लाभ लिन नसकेको उनी बताउँछन् । उनका अनुसार पर्यटक पुगेर रातभरी बस्न र खानको लागि ज्यान असुविधा छ । गतिलो होटल समेत छैन । ‘भक्तजन आइसकेपछि बस्ने व्यवस्था छैन, खाने गतिलो व्यवस्था छैन भन्दै गुनासो बढ्दै गएको छ’, उनी भन्छन्, ‘हामीले जति गरयौं, त्यतिमै सीमित छ ।’ केही वर्षअघि मेला व्यवस्थापनका लागि भनेर राज्यका तीनवटै क्षेत्र लाग्ने गर्दथ्यो तर अहिले त्यो पनि कसैले नहेर्ने गरेको उनी बताउँछन् ।
भारतको बिहारलगायत देशका विभिन्न भागबाट यहाँ भक्तजन ओइरिन्छन् तर अपाङ्गमैत्री मन्दिर नहुँदा वृद्धवृद्धा, अपाङ्ग (फरक क्षमता भएका) मन्दिर छेऊ आएर नै फर्किनुपर्ने बाध्यता छ । ‘भारतदेखि पनि भक्तजन आउँछन् तर मन्दिर पुग्नका लागि विभिन्न खुड्किलाहरु पार गर्नुपर्ने हुन्छ’, मूल पुजारी भण्डारी भन्छन्, ‘अपाङ्गमैत्री मन्दिर पुग्ने सडक नहुँदा त्यतिकै निराश भएर फर्किनुपर्ने बाध्यता छ ।’
मूल पुजारी पण्डित किरण भण्डारीले राज्यले ध्यान नदिँदा अहिले बराहक्षेत्र लथालिङ्ग बनेको बताउँछन् । उनले १९९० मा जीर्णोदार भएपश्चात्को मन्दिर अहिलेपनि जस्ताको त्यस्तै रहेको बताए । ‘अहिलेसम्म मन्दिरको जीर्णोदार हुन सकेको छैन’, उनले भने, ‘यसले गर्दा मन्दिर सङ्कटमा पर्दै गएको हो, अहिले मन्दिरमा झ्यालढोका भत्किन थालेका छन् भने भएका थोरै धर्मशाला पनि धमाधम भत्किन थालेका छन् ।’ उनले राज्यले सानोतिनो काम गरेर झारो टार्ने गरेको बताए ।
उनका अनुसार बाटो पुग्यो तर गतिलो शौचालय पनि छैन । कोशी कटानको समस्या, गतिलो शौचालय नहुनु, खाने, बस्नका लागि गतिलो होटल नहुनु, गतिलो बसपार्क, कोशीको स्नान घाट व्यवस्थित नहुनु, धर्मशाला बन्न नसकेको उनी बताउँछन् । उनले ठूला ठूला मेला, महाआरती हुँदा मागेरै काम चलाउनुपर्ने बाध्यता रहेको समेत बताए । ‘यस मन्दिरको संरक्षण र सम्वद्र्धनका लागि बराहक्षेत्र संरक्षण मञ्चका पदाधिकारीहरु गुहार माग्दै हिँड्ने गरेका छन्’, उनले दुखेसो पोखे ।
अहिले त्यहाँ पुग्ने सडक पनि ठाउँ ठाउँमा भत्किन थालेको छ । ‘अहिले ठाउँठाउँमा सडक भत्किन थालेको छ’, उनी भन्छन्, ‘बर्खायाममा त यहाँ सडकमा पहिरो खसेर आउजाउ नै बन्द हुन्छ ।’
अहिले मन्दिरको ट्याङ्कीको पाइप सिधै नदीमा जोडिएको छ । यसले गर्दा वर्षाको समयमा नदीबाट आउने दुषित पानी पिउनुपर्ने बाध्यता रहेको मञ्चका अध्यक्ष श्रेष्ठ बताउँछन् । ‘भक्तजन होस् मन्दिरक्षेत्रका बासिन्दाले धमिलो पानी पिउनुपर्ने बाध्यता छ, कारण हो सिधै नदीमा पाइप जोडेर पानी ल्याइनु ।’
बराहक्षेत्रको संरक्षण, प्रर्वद्धन एवं विकासको लागि स्थानीयले गुरुयोजना बनाउनुपर्ने आवाज नउठाएका होइनन् तर अहिलेसम्म गुरुयोजना कहाँ गयो थाहा छैन । गुरुयोजनाको अभावमा अव्यवस्थितरुपमा संरचनाहरु बनिएका छन् । अहिलेसम्म न राज्यले उचित पूर्वाधार विकासमा ध्यान दिन सकेको छ, न स्थानीयका निकायबाट नै पहल भएको छ । राज्यले ध्यान दिने हो भने बराहक्षेत्रको मात्रै नभएर त्यस आसपासका धार्मिक क्षेत्रहरु पनि उकासिन्थे । एकद्वार प्रणाली नहुँदा गुरुयोजना लथालिङ्ग नै छ ।
अहिले मन्दिर क्षेत्र नै पुरै भद्रगोल छ । ‘भन्नेबेलामा भन्छन्, ठूलो ठूलो कुरा गर्छन् तर अहिलेसम्म केही काम हुन सकेको छैन’, मूल पुजारी भण्डारी भन्छन्, ‘तर गुरुयोजनादेखि अन्य कुराहरु पनि भद्रगोल अवस्थामै छ ।’ उनले राज्य लागिदिने हो भने यही मन्दिरले नै कमाएर यहीँ लगानी गर्न सक्ने वातावरण बन्ने उनी बताउँछन् । ‘अहिले बराहक्षेत्र आइपुग्नेले के कोसेली लिएर जान्छन् भन्नेमा कसैलाई जानकारी छैन’, उनी भन्छन्, ‘राज्यले लगानी गरेर यहाँका उत्पादनलाई ब्राण्ड गरेर बिक्रीवितरण थाल्ने हो भने यस मन्दिरका लागि राज्यले केही गरिदिनै पर्दैन ।’
यहाँ नै उत्पादन गर्न सकिने खुकुरी, हस्तकलालगायतका सामानलाई प्रमोट गरिदिने हो भने राज्यले पनि केही लिन सक्ने उनी बताउँछन् । विश्वका हिन्दु धर्मावलम्बीहरुको चार क्षेत्र (हरिहर क्षेत्र, कुरु क्षेत्र, मुक्ति क्षेत्र र बराहक्षेत्र) छन्, ती मध्ये मुक्तिक्षेत्र र बराहक्षेत्र नेपालमा पर्छ । यी चार क्षेत्रमध्ये पनि बराह क्षेत्र भगवान विष्णुको तेस्रो अवतार भएकोले पवित्र र महत्वपूर्ण तीर्थस्थल मानिन्छ । यहाँ वैद्धिककालदेखि नै तीथालु भक्तजनहरु बराह भगवानको दर्शन गर्न आउने प्रचलन चलेको हो ।
माघे सङ्क्रान्ति, कात्तिके मेलामा यहाँ मेला आयोजना हुन्छ । यहाँ कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म तीर्थालु भक्तजनहरुको घुँइचो लाग्छ । त्यसबेला नेपाल र भारतबाट मात्रै नभई भुटानबाटसमेत भक्तजनहरु आउने गरेका छन् । बोलबमको बेला यहाँ दर्शनार्थीको झनै चहलपहल हुन्छ ।