भौतिक रूपमा देखिने गरी एकाध हिंसाका घटना बाहिर आएपछि त्यसले सामाजिक सञ्जाल र चिया गफका टेबलमा बहस, क्षणिक आक्रोश, उत्तेजना र उत्ताल सिर्जना गर्छ । भर्खर जन्मेका शिशुकोसमेत करणी भएका घट्नामा मान्छेहरू सामाजिक सञ्जालमा तातो आक्रोश पोख्छन्– अपराधीलाई झुण्ड्यार मार्नुपर्छ । आक्रोश र उत्तेजनामा बलात्कारीलाई फाँसी दिने कुरा उठ्नु स्वभाविक हो । तर, एक क्षणका लागि अपराधीको भौतिक समाप्ति उचित लागे पनि हिंसाको समाधान फाँसी नै हो त ? कठोर कानुन र कार्यान्वयन बलात्कार नियन्त्रणका लागि सशक्त साधन अवश्य हो । तर, फाँसी दिनेजस्ता कुराले बलात्कारको अन्तर्य पहिल्याउन सक्दैनन् । बलात्कार बारेका अनेक सामाजिक, आर्थिक र सांस्कृतिक बहसबाट मैले बुझेको कुरो हो– बलात्कार हाम्रै समाजको विषालु अर्गा्निक उत्पादन हो । र, समाजमा प्रत्येक दिन घट्ने यो हिंसाका अनेक कारण छन् ।
धेरै पर जानै पिर्दैन, हाम्रै आमा या हजुरआमा पुस्ताको बिहे छरसात वर्षको कलिलो उमेरमा भयो । जबकि हजुरबाउहरू विवाहको मण्डपमा बस्दा पच्चीस–चालिसको हुने गर्थे । पुराणमै सात वर्षकी बालिकाको बिहे सत्तरी वर्षको बुढासँग गराइदिएपछि बाँकी समाजले बालिकामाथि जस्तै हिंसा गरे पनि त्यो सहजै स्वीकार्य हुने नै भयो ।
त्यो सहजै संस्कार र प्रचलन बन्यो । ‘काउली कलिलो होस् कि छिप्पेको, आखिर तरकारी’ भनेजस्तै स्त्री भए भइगो, बच्ची, युवती होस् या वृद्धा। भारतका कतिपय गाउँमा वृद्धहरूले बालिका बिहे गरेका खबरहरू अहिले पनि त सुन्न पाइएकै छ । नेपाली समाजमा चलेको पोथी बास्ने, छोरीको जन्म, हारेको कर्म र छोरी मरी, बडाघर परीजस्ता आहान त्यही संस्कारको उपज हो । हामी त्यही संस्कारमा लिप्त भएर होला, अहिले पनि बाउआमाहरू छोरी पाउनुभन्दा छोरा पाउन धेरै रहर र प्रयत्न गर्छन् । गर्भमै छोरी मार्ने वैधानिक धन्दा नेपाली बजारका चोकचोकमा चलेका छन् । छोरो पाउन अनेक विधि, तन्त्र र टुनामुनाका पछि लागिन्छ । पुरूष चिन्तनले ग्रस्त राज्यको प्रशासन गर्भकी छोरी मार्दा त्यसविरुद्ध लाग्दैन ।
समाजमा भाले जाति नै श्रेष्ठ हो भन्ने मान्यता यसरी गडेको छ कि यत्र, तत्र र सर्वत्र भालेकै महिमा मण्डन छ । पुराण र शास्त्रहरूले ‘न्युट्रलाइज’ गराएका कारण धेरै महिलाले आफू हेपिएको या आफूमाथि समाजले गरेको दुव्र्यवहारको वोध नै गर्दैनन् । महिनावारीलाई श्राप ठान्ने समाज छ, मासिकश्रावकै कारण महिला मण्डप, पूजा, आरधना आदिमा पनि केवल पूजक छन् । मण्डपमा बस्ने, पुराण बाँच्ने र त्यसलाई महिला हित अनुकुल व्याख्या गर्ने अवसर तिनलाई छैन । नेतृत्व भनेको भाले जातिले गर्ने हो भन्ने मानसिकता महिला–पुरुष प्रायः सबैमा छ । चलचित्रका दृश्यले बलात्कारलाई मसलाका रूपमा प्रयोग गर्ने गरेको छ । महिलाको कपडा च्यात्दै महिलालाई नङ्ग्याउने दृश्य आज पर्यन्त छ । यसरी सांस्कृतिक रूपमै महिलालाई कमजोर र उपयोग गरिने वस्तुका रूपमा चित्रण गरिएका कारण त्यही चिन्तनले नै महिलामाथि युगौंदेखि बलात्कार गरिराखेको छ ।
दोबाटो छेउमा फलेको आँप जसरी बटुवाबाट जोगिन सक्दैन, त्यस्तै हामीले उमारेको महिलाविभेदी संस्कृतिकै कारण आमा दिदी, बहिनी र छोरीहरू वलात्कृत भइरहेका छन् । ती जोगिन सकेका छैनन् । यता, कसैमाथि यौनहिंसा हुने विषयलाई मिडिया र फिल्मले पनि ‘अस्मिता र इज्जत लुटिएको’ भन्दै भजाउने गरेका छन् जबकि यौनहिंसा केवल एउटा अर्को हिंसा हो । त्यसमाथि आजको प्रविधिको युगमा जतिसुकै बन्द समाजमा पनि यौन विषयवस्तु समेटिएका चलचित्र उपलब्ध छन् । बलात्कार र शरीर सुखलाई नै केन्द्र बनाइएका यस्ता फिल्म हेरेका पुस्ताले सहजै सहवासको साथी नपाउँदा के गर्छ ? फेरि मनोविज्ञान भन्छ, जुन कुरा प्राप्य छैन त्यसको तृष्णा बढी हुन्छ ।
महिला, युवती र किशोरीलाई बाहिर जान, घुम्न र डुल्न प्रतिवन्ध गरिएको समाजमा हुर्केका पुरूषले महिलासँगको भावनात्मक र शरीर निकटता बिरलै पाउँछ । यस्तोमा महिला र पुरुष दुवै कुण्ठामा हुन्छन् । दुवै कुण्ठामा हुने भए पनि किन महिलामाथि मात्रै हिंसा हुन्छ ? किनभने महिलामाथिको हिंसा शारीरिक र सामाजिक रूपमा पुरुषलाई सहज छ । हिंसापछि पुरूषलाई गर्भ रहने डर छैन । हिंसा गरेकै कारण समाजले उसलाई बहिष्कार र निन्दा गर्ने डर छैन । त्रास त ‘तरूनी भएकै कारण’ छोरीहरूलाई छ । रजस्वला रोक्ने औषधि बजारमा सहजै पाइएजस्तै छोरीलाई युवती हुन रोक्ने औषधि पाइए साँच्चै कति किन्दा हुन् किशोरीहरूका बाउआमाले ? ‘उनकै छोरी तरूनी, हामीलाई केको डर ?’
शरीर, आत्सम्मान र स्वतन्त्रताको विषयमा हाम्रो समाज कतिसम्म निम्छरो छ भने आफ्नो लोग्ने या श्रीमतीलाई एक क्षण अर्को कोही विपरित लिङ्गीसँग साथै देख्नै सक्दैन । स्वस्थानीमा शिवको अमोघ रतीकृडा र विर्यपानका समेत वखान सुन्ने तर दुई अलग व्यक्तिसँगै हुनेवित्तिकै त्यहाँ यौनकार्य भइहाल्छ भनेर त्रस्त हुनुपर्ने कस्तो ‘सिक’ समाज ? मन्दिरका टुँडालमा यौनआसनका चित्र राख्ने तर, एउटी युवतीले पेटिकोट लगाएर प्रदर्शन गर्दा आतङ्कित हुने कस्तो समाज बनायौं हामीले ? यसो भएपछि हुर्केकी छोरी, स्वास्नी, बुहारी र नातिनीहरूलाई सधैं अर्को पुरूषबाट सुरक्षा दिइरहनुपर्ने ! दाइले भाउजु जोगाउनुपर्ने, भाइले बुहारी । स्वास्नीमाथि आप्mनै बाउको यौनदृष्टि पर्ला भनेर छोरो सजग हुनुपर्ने अनि ‘सुरक्षा दिनको लागि खटिने’ त्यही कुण्ठित बाउरदाजुभाइ र आफन्तले नै छोरीचेलीलाई समेत बलात्कार गर्ने ।
प्रतिबन्धले मान्छेलाई हिंस्रक बनाउँछ । स्वतन्त्रताले जिम्मेवार । खाना पकाउनेलाई बास्नैले पुगेजस्तै किशोर–किशोरी र युवायुवतीका सहज भेटहरूले उनीहरूले यौन र यौनिकता बुभ्mन पाउँछन् । जति धेरै विचार र व्यक्तिहरूसँग हेलमेल भयो, मान्छे उति धेरै सवल, सक्षम, फ्लेक्स्बिल (सहज) हुन्छ । आफू अनुकुल गोप्य र वैधानिक ठाउँमा समय बिताउन गएका जोडीलाई प्रहरीले पक्रने र अपराधी करार गर्ने कुराले त समाजलाई झनै तालिवानी बनाउँछ । महिला–पुरुषको हेलमेल अति नै कम हुँदा त्यसले कुण्ठा जन्माउँछ, हिंसा बढ्छ । पुरूष त फुक्काफाल जहाँसुकै जान पाएका छन् । महिलाको स्वतन्त्र घुमफिरको अधिकारलाई राज्य, समाज र परिवारले सम्मान गरे महिला हिंसाका घट्ना कम हुन्छन् । खासमा महिला स्वतन्त्रताले धेरै हदसम्म यस्ता अपराध घटाउँछ ।
लुगाफाटो, औषधिलगायत हरेक सामान बेच्न महिलाकै मुहार र देह देखाउनु फेरि पनि महिलालाई वस्तुझैं ट्रिट गर्नु हो । जबकि, वर्षौंदेखि चल्दै आएको हुनाले हामीले पनि यसलाई स्वाभाविक ठानेका छौं ।
पुराणहरूले ठूला आँखा, छिनेको कम्मर र उचालिएको नितम्ब भएकी स्त्रीलाई सुन्दरीका रूपमा वर्णन गरेजस्तै बजारले सुन्दर युवतीको स्वभाव र गुणहरू तोकेको छ । महिलाको निम्ति सजिने, लगाउने, दल्ने र खाने अनेकन कृतिम उपभोग्य वस्तु सिर्जना गरिएका छन् । अर्बौं डलरको कस्मेटिक प्रशाधन दैनिक खपत हुँदैछ । बलात्कारसम्बन्धी ऐनमा यस विषयलाई ‘जर्वजस्ती करणी’ (जजक) उल्लेख छ । कानुनमै त्रुटीपूर्ण शब्द भएपछि प्रहरी र प्रशासनले त्यही शब्द बोल्ने र छाप्ने गर्नु कुनै अस्वभाविक भएन । तर, करणी भन्नेवित्तिकै त्यो जर्वजस्ती नै हुन्छ । राजीखुसी करणी र जर्वजस्ती करणी भन्ने हुन्न । यसरी समाजको चरित्र कानुनमा समेत प्रतिविम्वित भएको छ । मानौं राजीखुसी पनि करणी हुन्छजस्तो! त्यसैगरी बलात्कारमा दोषी ठानिएका व्यक्तिलाई कारबाही गर्ने सवालमा उमेर अनुसार फरक दण्ड व्यवस्था गर्नुले पनि अव्यक्त रूपमा बलात्कारलाई समर्थन गरेको भान हुन्छ ।
हिंसा आखिर हिंसा हो । उमेर बढेका स्त्रीको बलात्कारमा कम सजाय व्यवस्था हुनुले युवतीहरू बलात्कारका लागि योग्य भएजस्तो भान पर्छ । यसरी हाम्रा सोच कानुनमै प्रतिविम्वित छन् र कानुन कार्यान्वयनमा पनि महिलाको मर्का बुझ्न सक्ने महिला कम पुगेका छन् । एकाध महिला कानुन कार्यान्वयनको ठाउँमा पुगे पनि तिनमा सदियौंको भाले चिन्तन नै हाबी छ । ‘मर्ने बेलामा पानी खुवाउने त छोरै हो’ र यो सम्पत्तिको मालिक त छोरै हो’ भन्ने सोच छ ।
महिलालाई अलग व्यक्तिका रूपमा भन्दा पनि लिंग, भोग र बच्चा उत्पादनको साधनका रूपमा बुझिँदा कानुनका शव्दावली पनि त्यस्तै विभेदी छन् । बलात्कार घटना बारम्बार आउँछन् तर, यौनलाई अतिसय घिनलाग्दो चित्रित गरिएको छ । ‘इज्जत’ र ‘चरित्र’का कारण पनि कतिपय विषय प्रहरी प्रशासनमै पुग्दैनन् । बानी र युगौंदेखि पोषित मनको विचार र संस्कार र सोच हटाउन अति कठिन हुन्छ । तिनको निर्माण र विकासमा उत्तिकै धेरै समय लागेको हुन्छ । बलात्कार पनि यही समाजको विषालु उत्पादन हो ।
बलत्कार र बलात्कारी हाम्रै समाजको उत्पादन भएकाले त्यसको दोष बलात्कारीलाई मात्रै दिनु सोह्रै आना गलत हो । बीच बजारमा एउटा पेटिकोट देखेर तर्सिने समाजले अझै कति कहालिलाग्दा कुण्ठाजनित हिंसा भोग्नुपर्ने हो थाहा छैन तर समाजलाई खुला, जिम्मेवार र स्वतन्त्र बनाउन सकियो भने बलात्कारका घट्ना विस्तारै घट्छ । बलात्कारको कारक सोच हिजोदेखि जकडिएको आमा, दिदीबहिनी, छोरी र बुहारीहरूप्रतिको सोच हो । मृत्युदण्ड दिएर यौनहिंसा समाधान हुन्न । -दीपा कोइराला