धरानः सुनसरीको इटहरीका राजु बस्नेत अहिले दक्षिण अफ्रिकी बोयर जातका खसीबाख्रा पालेर मनग्य आम्दानी गर्न थालेका छन् । इटहरी–१८ मा पर्ने रहिपुर भन्ने ठाउँमा १० कट्ठा जग्गा लिएर उनले कृषि फर्म सञ्चालनमा ल्याएका हुन् ।
उनले अहिले लाखौं कमाउँदै गएका छन् । उनको ‘बिएण्डजी’ नामक कृषि फर्ममा अहिले बोयर जातका खसीबाख्रा छन् । स्थानीय जातका भन्दा बोयर जातको खसीमा तौल धेरै हुने र धेरै नाफा हुने भएकोले यतसर्फ किसानको आकर्षण बढ्दो रहेको बताए । ‘मैले अहिलेसम्ममा फाइदा लिन सकेको भनेको बोयर जातको बाख्रापालनबाटै हो’, उनले भेटमा भने, ‘यसप्रतिको चासो अहिले पूर्वभर बढिरहेको छ ।’ उनका का अनुसार पूर्वका संखुवासभा, भोजपुर, खोटाङ, इलाम, पाँचथर, तेह्रथुम, धनकुटालगायतका जिल्लाबाट समेत यसप्रति चासो बढ्दै गएको र माग पनि बढ्न थालेको छ । उनले पूर्वका विभिन्न जिल्लाका कृषकलाई यो बाख्रापालन कसरी गर्ने भनेर आफूले जानेको जानकारी समेत दिँदै आएको बताए ।
विदेश (कतार) मा ६ वर्ष पसिना बगाएर फर्केका उनले बाख्रा पालनमा सक्रिय छन् । ‘अन्य कृषि पेशाभन्दा बढी बोयर जातका बाख्रापालनले मलाई उकास्यो’, उनले भने, ‘त्यही भएर यसैमा निरन्तर लागिरहेको छु ।’
उनी विदेश पनि नबसेका होइनन् । शिक्षण पेशामा रमाउँदा रमाउँदै उनी कतार हान्निएका थिए । ‘यहाँ शिक्षण पेशामै थिएँ, वैदेशिक रोजगारीमा साढे ६ वर्ष बसें’, उनले खुलाए, ‘विदेशमा सिभिल सुपरभाइजरको काम गर्थे, एक लाख बढी कमाउँथे, विदेशको लगानी अहिले इटहरीमा पोख्दैछु ।’
उनले १० कट्ठा जग्गा किनेर त्यसैमा लगानी गरिरहेको बताउँछन् । ‘अहिले विदेशमा पुगेर पसिना बगाउन परेको छैन, विदेशमा हुने कमाइ नेपालमै बसी बसी कमाइरहेको छु’, उनले थपे, ‘विदेश कमाउने गरेको लाख रुपैयाँ बढी त इटहरीमै कमाउँदै आएको छु ।’
उनले अहिले फर्ममा बोयर जातका बाख्रापालनसँगै बङ्गुरपालन, लोकल कुखुरा, टर्की पनि पाल्दै आएका छन् । हालसम्म उनले फर्ममा संरचनासहित ३० लाख रुपैयाँ बढी लगानी गरिसकेका छन् । ‘अहिले ३० लाख बढी लगानी गरेको छु’, उनले भने ।
कृषि क्षेत्रमै युवापुस्ता रमाउन सक्ने सजिलै कमाइने उनले बताए । ‘अहिले युवापुस्ताको कन्सेप्ट के छ भने पढेलेखेका युवाले कृषि कर्म गर्नु हुँदैन तर युवापुस्ताले नै कृषि क्षेत्र उकास्न सक्छन्, कृषिबाटै युवाले लाखौं कमाइ गर्न सक्छन् ।’ उनले थपे ।
विदेश हुँदै कृषि क्षेत्रमा होमिनेलाई अनुदान र सहुलियत सरकारले दिन्छ भनेर सुनेपछि हौसिएको बस्नेतले अहिलेसम्म अनुदान पाएका छैनन् । ‘सरकारको अनुदान पाएकै छैन’, उनले भने, ‘अहिले त्यही सहुलियत कर्जा लिएको छु, त्यसले केही सहज भने भएको छ ।’ अनुदानको लागि आफू विभिन्न ठाउँ चहारेपनि अहिलेसम्म कहीँकतैबाट अनुदान नपाएको उनले बताए । सरकारले वार्षिक करोडौं रुपैयाँ अनुदान बाँडेको समाचारबाहेक पैसा देख्न नपाएको उनको भनाइ छ । ‘सरकारले करोडौं रुपैयाँ अनुदान दिन्छ तर वास्तविक किसानलाई भन्दा पनि गैरकिसानहरुलाई ऋण दिनु दुःखद् हो’, उनले थपे ।