ईश्वर थापा
धनकुटा : खानेपानी समस्याकै कारण पहाडबाट तराई र दुर्गमबाट सुगमतिर हुने बसाइँसराइले पुराना गाउँबस्ती निर्जन बन्दै गएका छन्।
बसाइँसराइले खास गरेर पहाडी कन्दराका गाउँघरलाई मानवविहीन बनाउँदै लगेको छ। धनकुटामा विशेष गरी चौबिसे गाउँपालिका र छथर जोरपाटी गाउँपालिकामा बसाइसराइ गर्नेको संख्या धमाधम बढेको छ।
मुख्यगरी खानेपानी समस्याका कारण बसाइसराइँको संख्या बढेको चौबिसेका स्थानीय गोपीकृष्ण भण्डारी बताउँछन्।
बसाइँसराइँका कारण चौबिसे गाउँपालिका ३ र ४ मा पर्ने कुरुलेतेनुपा सुनसान बन्दै गएको छ। खानेपानी, शिक्षा, रोजगारी जस्ता आधारभूत सेवा सुविधाको खोजीमा युवा शहर बजार र विदेशिन थालेपछि गाउँ रित्तिँदै गएको हो।
धनकुटा सदरमुकामबाट करिब ६ घण्टा पैदल दूरीको यात्रापछि कुरुलेतेनुपा पुगिन्छ। कुरुलेतेनुपामा मोटरबाटो पुगे पनि गुणस्तरीय बन्न सकेको छैन।
कुरुलेतेनुपा पुगेपछि परम्परागत रूपमा बनाइएका घर रित्ता मात्रै भेटिन्छन। कुनै घरका छाना पूरै भत्किएका छन त कुनैका भत्किने क्रममा छन्। घरवरिपरि झाडीले ढाकिएको छ। हेर्दै मनोरम टारका बीचमा रहेका रहर लाग्ने ती घर अचेल खण्डहरमा परिणत भइरहेका छन्।
ठूलाटार बारी र खेत बाँझै छन्। कतिपयमा झारपात र रुख विरुवाले ढाकेर जंगल जस्तै बनेको छ। भौगोलिक विकटताका कारण स्वास्थ्य, शिक्षाको समस्याका साथै पुल पुलेसाको अभावले त्यहाँका बासिन्दा अन्यन्त्र बसाइँ सर्न थालेपछि गाउँ रित्तिँदै गएको हो।
आधारभूत सेवा सुविधाको खोजीमा खासगरी २०६३ देखि बसाइँ सर्नेको क्रम चुलिँदै गएको हो। ‘खानेपानीको चरम समस्या र सेवा सुविधाबाट टाढिँदै गएपछि बसाइँसराइ बढ्यो,’ भण्डारीले भने, ‘यसलाई रोक्न थालिएका योजना पनि सन्तोषजनक अवस्थामा छैनन्।’
प्रशस्त उब्जाउ भूमि छ तर सिँचाइको सुविधा छैन। आकासेपानीको भरमा खेती गर्न समस्या भएको छ भने गाउँमा पशु तथा कृषि प्राविधिकको उपस्थिति छैन। यसकारण कृषि क्षेत्रमा लगानीअनुसार प्रतिफल प्राप्त नभएर आफ्नै खेतबारीमा उब्जेको अन्नले परिवार पाल्न नसकिने भएपछि बसाइँ सरेर तराईतिर झर्नेको लर्को नै लाग्ने गरेको छ।
यति मात्र नभएर गुणस्तरीय उच्च शिक्षा हासिल गर्न गाउँमा शैक्षिक संस्था नहुनु, स्वास्थ्य उपचारका लागि सुविधा नहुनु जस्ता कारणले गाउँ छोड्ने दर बढेको हो। तराईमा आफूसँग जमिन नभए अधियाँ गरेर पनि परिवार पाल्न सकिने तथा ऐलानी जग्गासमेत कमाउन सकिने भएपछि अधिकांश बसाइँ सरेर गएको पाइन्छ।
सामान्य आय गर्न सक्नेसम्मले सके तराईका बजार क्षेत्रमा, नभए तराईका गाउँमै वा सदरमुकाममा मात्रै भए पनि घरघडेरी जोडेका छन।
गाउँमा जागिर खाएर बस्नेले पनि पनि आफ्नो आय स्रोतअनुसार सदरमुकाम वा तराईमा घरघडेरी जोडेका छन्। कति पूरै परिवार उतै बस्ने त कतिले यता र उता दुईतिर बस्ने व्यवस्था गरेका छन्। सपरिवार सधैँका लागि बसाइँ सरेर जाने त छँदै छन्, घरपरिवारले बाहिर पढ्न पठाएकाहरू पनि अधिकांश पढी लेखी उतै व्यापार व्यवसाय तथा जागिर गरेर बस्ने क्रम पनि बढ्दो छ।
सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत कर्मचारी, व्यापारी, राजनीतिज्ञ प्राय सबैले यता बसेर कमाएको रकम अधिकांश अन्यत्रै लगानी गरिरहेका छन्। गाउँका अधिकांश घरका युवा वैदेशिक रोजगारमा पुगेका छन्।
उनीहरूको कमाइले सुविधा सम्पन्न स्थानमा जग्गा खरिद गर्ने तथा घर बनाउने गरेपछि बसाइँसराइ चुलिएको हो।
गरिबी, आर्थिक विपन्नता, सामाजिक, सांस्कृतिक, शैक्षिक पछौटेपन कायमै रहनुमा बसाइँसराइ प्रमुख कारण भएको स्थानीय शिक्षक कैलाश ढुंगानाले बताए।
अध्ययन, व्यापार, व्यवसाय तथा जागिरको सिलसिलामा बाहिर जानेहरु फर्केर नआउँदा ज्ञान, सीप, प्रविधि र पुँजी गाउँमा भित्रिन सकेको छैन। त्यसैले नै जिल्लामा मानव विकास सूचकांकको पुछारमै यो गाउँ रहेको ढुंगानाको बुझाइ छ।
बसाइँसराइ गरेर गएका गाउँमा खानेपानीको चरम समस्या छ। घण्टौं टाढाका पँधेरामा पानी भर्न जानुपर्ने अवस्थाबाट दिक्क भएर गाउँले अन्यत्र जान बाध्य भएका हुन्।
पुराना कुवा सुक्दै गएको र विकल्पमा खानेपानी योजना सञ्चालन नहुनु मुख्य बसाइँसराइको मुख्य कारण हो। अघिल्लो वर्ष खानेपानी योजनाका लागि तत्कालीन जिल्ला विकास समितिमार्फत ५५ लाख रुपैयाँ बजेट विनियोजन भए पनि प्रभावकारी काम नभएको स्थानीयको गुनासो छ।
तमोर नदीबाट लिफ्ट प्रणालीले खानेपानीको विकल्प राखिएको पनि यसको काम अघि बढ्न सकेको छैन।
नेताहरुले पद र पहुँचमा हुँदा गाउँको विकासका लागि ठोस नीति तथा कार्यक्रम ल्याउनुको साटो गाउँलाई राजनीति गर्ने थलोको रुपमा मात्र प्रयोग गरेको स्थानियको आरोप छ। आफ्नै पार्टीदेखि स्थानीय तथा राष्ट्रियस्तरका चुनाव आउँदा गाउँ केन्द्रित हुने नेताहरु चुनाव सकिएपछि भने गाउँमा देखिनै छाड्ने गरेको स्थानीयको गुनासो छ। प्रत्येक राजनीतिक दलका उम्मेदवारले प्रत्येक निर्वाचनमा खानेपानीको मुल मुद्दा बनाएर चुनाव जिते पनि चुनावपछि यसतर्फ ध्यान नदिएको उनीहरुको गुनासो छ।
सुविधाको खोजीमा बसाइँसराइ गर्नु मानवीय स्वभाव नै हो। यो समस्या कुरुलेतेनुपाको मात्र पनि होइन तर कुरुलेतेनुपाबाट देशका विभिन्न ठाउँमा बसाइँ सरी जाने तथा कानुनी रुपमा बसाइँसराइ नगर्नेको संख्या उस्तै हुन सक्ने गाउँपालिकाको अनुमान छ।
वि.स. २०२० सालपछि सुरु भएको हिमाली र पहाडी क्षेत्रबाट तराईमा बसाइँ सर्ने प्रवृत्ति हिजोआज परम्पराकै निरन्तरता जस्तो बनेको छ। यसलाई रोक्न स्थानीय सरकारले काम गरिरहेको र बाहिर हल्ला आएजस्तो बसाइँसराइ नभएको चौबिसे गाउँपालिका अध्यक्ष खजिन्द्र राईले बताए।
यस्तै, धनकुटाको छथर जोरपाटी गाउँपालिको वडा न ४ तेलियामा दशवर्ष अघिसम्म ७० भन्दा बढी परिवारको बसोबास रहेकोमा बसाइँसराइँका कारण अहिले जम्मा ९ घर मात्र बाँकी छन्। बसाइँ सरेर देशका अन्य ठाउँमा गएपछि पुर्ख्यौली सम्पत्तिका रुपमा रहेका रहरलाग्दा घरहरु खण्डहरमा परिणत भएका छन्।
विशेषगरी खानेपानी समस्या तथा गुणस्तरिय शिक्षा, स्वास्थ्य, रोजगारी, लगानी, उद्योग व्यवसाय, सुरक्षा, सामाजिक सम्बन्ध र समानता खोज्दै तराई झर्ने क्रम तीव्र बन्दै जाँदा हिमाली र पहाडी बस्ती रित्तिँदै गएका छन्।
अनियन्त्रित बसाइँसराइ हिमाली र पहाडी क्षेत्रका स्थानीय तहको मुख्य चुनौतीका रूपमा देखा परेको छ।