धरानः धरानमा आयोजना हुने प्रदेश १ स्तरीय गायन र नृत्य प्रतियोगिताका लागि प्रतिभाको खोजी जारी छ ।
इभेण्ट कोअर्डिनेटर तिर्थ कार्कीले अहिले पनि प्रतिभाहरुको खोजी जारी रहेको बताए । सुनसरीको धरान, कालाबञ्जर, चक्रघटी, चतरा, तरहरालगायतका स्थानमा प्रतिभा खोज्दै टोली पुगिसकेको जानकारी दिए । ‘सुनसरीका अधिकांश स्थानमा हामी पुगिसकेका छौं’, उनले भने, ‘यस्तै, प्रदेश १ का पाँचथर, इलाम, झापा, मोरङ पनि पुगिसकेका छौं’, उनले थपे, ‘धनकुटा, उदयपुर, तेह्रथुम हुँदै सकेसम्म संखुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गासम्म पनि प्रतिभावान विद्यार्थी खोज्दै पुग्ने कोसिस गर्नेछौं ।’
उनका अनुसार यतिका दिनसम्म आइपुग्दा २ सय रुपैयाँ फारम शुल्क तोकिएकोमा करिब २ सयजनाले नै फर्म भरिसकेका छन् । अबका दिनमा फर्म शुल्क निःशुल्क गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
फक्ताङलुङ मिडिया हाउस प्रालिद्वारा सञ्चालित एफटिएल टिभी र फक्ताङलुङ खबर डटकमको आयोजनामा एसइई आइडल सिजन २ र डान्सिङ स्टार सिजन १ को तयारी हुँदैछ । दुवै प्रतियोगिताका लागि फागुन १७ गतेबाट फारम खुल्ला खुल्ला गरिएको आयोजकले जनाएको छ ।
२०७५ सालमा पहिलोपटक ‘एसइई स्टेट १ आइडल’ आयोजना गरिएको र यस वर्षदेखि कार्यक्रम थपेर डान्सिङ स्टार पनि गर्न लागिएको प्रालिकाका अध्यक्ष डम्बरकुमार तुम्बापोले जानकारी दिए । ‘यसअघि नै एसइई स्टेट १ आइडल भइसकेको थियो’, उनले भने, ‘यस वर्षदेखि डान्सिङ स्टार पनि हुने भएको छ ।’
‘गुणस्तरीय शिक्षा हाम्रो चाहना शिक्षासँगै विद्यार्थीको सर्वाङ्गीण विकास हाम्रो कामना’ भन्ने मूल नाराका साथ कार्यक्रम गर्न लागिएको हो । बालबालिकाहरुमा लुकेर रहेको प्रतिभालाई बाहिर ल्याउन यस्तो कार्यक्रम गर्न लागिएको उनले जानकारी दिए ‘हरेक बालबालिकामा कुनै न कुनै आन्तरिक क्षमता, प्रतिभा वा विशेषता हुन्छ । त्यो क्षमता वा प्रतिभा प्रदर्शनका लागि उनीहरूले उचित अवसर पाउनुपर्छ भनेर कार्यक्रम आयोजना गरिएको हो’, उनले भने ।
प्रतियोगितामा एसईई दिन बसेका छात्रछात्राहरूले मात्र भाग लिन पाउनेछन् । प्रतियोगितामा विजेताले नगद ५० हजारसहित एउटा गीत रेकर्ड, म्युजिक भिडियोमा खेल्ने अवसर, प्लस टु पढ्ने अवसर पाउनेछन् भने फस्ट रनरअपले ३० हजार, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति, अन्य गिफ्ट ह्याम्पर, सेकेण्ड रनरअपले २० हजार, प्लस टु पढ्न ३० प्रतिशत छात्रवृत्ति, विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ । यसका साथै विभिन्न सब–टाइटलहरू पनि प्रदान गरिने इभेण्ट कोअर्डिनेटर कार्कीले जानकारी दिए ।
प्रदेश १ का १४ जिल्लामा अडिसनहरू हुने आयोजकले जनाएको छ । अडिसन २०७९ वैशाख तेस्रो हप्तादेखि ओखलढुंगाबाट शुरु हुनेछ । २०७५ सालमा गौरव राई विजेता, राज लोहार फष्ट रनरअप र मिक्सोहा लिम्बू सेकेन्ड रनरअप भएका थिए ।