धरान–१० की सिर्जना सुब्बा (नाम परिवर्तन) लाई सामाजिक सञ्जालबाट सक्दो गालीगौलज गरियो तरपनि उनी एकपल्टलाई भै’गो नि त भन्दै चुप लागेर सहिन् । अर्कोपल्ट पनि त्यस्तै गाली आयो तर पनि उनले सहेरै बस्नुपरेको गुनासो पोखिन् । धरान–२० का प्रविन शाक्य (नाम परिवर्तन) को नाममा व्यक्तिगत लान्छना लगाउने खालका समाचार अनलाइनमा आयो, उनले समाचार पत्याएनन् तर त्यो समाचार भाइरल भइसकेको थियो । उनी पीडामा थिए । पीडा लुकाउनुबाहेक उनको उपाय थिएन ।
सामाजिक सञ्जाल सूचनामूलक सन्देश प्रवाह गर्ने भरपर्दो माध्यम बनेको छ नै तर त्यति नै सामाजिक सञ्चालमार्फत् व्यक्ति, संस्था र समूहलाई गालीगौलज गरेर रमाउनेको जमात बढ्दो छ । हिजोआज सामाजिक सञ्जालमा मन नपरेका व्यक्ति समूहलाई गाली गर्ने मात्र होइन, मनोगत कुण्ठा पोख्ने, व्यक्तिगत रिसइवी साँख्नेहरूको जमात उत्तिकै सक्रिय छ । नेपालमा दुईवटा सामाजिक सञ्जाल चल्तीमा छन्, फेसबुक र ट्वीटर । यिनकै माध्यमबाट मानिसहरूले मनमा लागेको कुरालाई नधकाई अभिव्यक्त गर्छन् र त्यसको परिणाम खोज्छन् । राम्रो परिणामसँगै यी दुई माध्यमबाटै सुरु हुन्छ–गलत समाचार अर्थात् ‘फेक न्युज’ वा ‘फल्स न्युज’को प्रवाह । कुनै अनलाइनले गलत समाचार दियो भने त्यसैलाई प्रोत्साहन गर्दै ‘सेयर’ गर्ने गरिन्छ ।
नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो प्रतिवेदनअनुसार ७० प्रतिशत नेपाली जनतासँग इन्टरनेट पहुँच छ । धेरैजसो युवावर्गले मात्र होइन पछिल्लो प्रतिवेदनअनुसार नेपालमा लगभग ६० लाखभन्दा बढीले फेसबुक चलाउने गरेको अनुमान छ । सूचना प्रविधिको विकाससँगै सामाजिक सञ्जालको पहुँच विस्तार भएको छ । सहज पहुँचका कारण आम मानिस यसमा अभ्यस्त भइसकेका छन् । खासगरी यसले युवापुस्तालाई नराम्रोसँग झुक्याएको छ । फेसबुक र ट्वीटरबिना उनीहरू पानीबिनाको माछाजस्तै छट्पटिने अवस्था छ । सामाजिक सञ्जालमा पोस्ट हुने सकारात्मक, नकारात्मक सन्देश हेर्ने, आफ्नो धारणा अभिव्यक्त गर्ने उनीहरूको दिनचर्या नै बनिसकेको छ । यसबाट अलग्गिएर बस्नु कतिपयको हकमा कल्पनाभन्दा बाहिरको विषय बनिसकेको छ ।
एकातिर यति धेरै फाइदा हुँदै गर्दा कम्प्युटर, इन्टरनेट, फेसबुक, ट्वीटरजस्ता सामाजिक सञ्जालमा गरिने गलत प्रयोगको क्रम चुलिएर जन–जीवन कष्टकर र त्रासदीपूर्ण बनेको छ । अहिले सामाजिक सञ्जालले विकृति थोपर्दै लगेको छ भन्दा हुन्छ । आजभोलि फेक अनलाइनका समाचार सामग्री आप्mनो वेबसाइटमा पोस्ट गर्ने बित्तिकै फेसबुक, ट्विटरमा लिङ्क हाल्न पुग्छन् । अन्य कुरा लेखाइ, आप्mनै विचार लेखाइ राम्रै भएपनि समाचारको मात्रै कुरा गर्ने हो भने कुन सक्कली, कुन नक्कली हो भन्ने छुट्याउन नसकिने समस्या बढ्दो छ ।
हुन त प्रेस स्वतन्त्रता लोकतन्त्रको अवस्था मापन गर्ने मुख्य सूचक हो । समाचार भनेको जहिले पनि द्रुत विकास हुने र तत्काल पाठक, दर्शक, स्रोतासमक्ष पु¥याउने विषय पनि हो नै । ‘मेरो साथीको बारेमा समाचार आएपछि म आफैं झसङ्ग भएँ’, धरान–१९ चौकीबारेमा विक्रम लिम्बूले भने, ‘पछि समाचार फेक हो भन्ने कुरा थाहा पाएपछि साथीलाई सम्झाएँ तर पनि फेक न्युजले जनमानसमा नराम्रो त्रासदीपूर्ण वातावरण बनाउँदै लगेको छ । यस्ता गलत प्रयोगलाई रोक्न आवश्यक छ ।’ धरान–१० का सुनिता याक्खाले सामाजिक सञ्जाल इन्फर्मेसनका लागि राम्रो भएपनि गलत इन्फर्मेसनले व्यक्ति, परिवार, समाज र राष्ट्रलाई नै हित नगर्ने धारणा राखिन् । ‘यसबाट अब कोही अलग्गिँदैन तर कुन सही र कुन गलत भन्ने छुट्याउन सबै सचेत बन्नुपर्छ ।’ उनले भनिन्, ‘सामाजिक सञ्जाल प्रयोगकर्ताले यसलाई सन्देशमूलक बनाउनेभन्दा पनि त्यसलाई मनोगत कुण्ठा पोख्ने भरपर्दो माध्यम बनाउँदा कतिपय सन्दर्भमा व्यक्ति र समाजको प्रतिष्ठा र त्यससँग जोडिएका सबै अवयवहरूलाई असर गरेको छ । यस्ता सञ्जालमा प्रस्तुत हुने कतिपय सामग्रीले व्यक्तिको भावनामा चोट पुगेको हुन्छ । संघ संस्थाको छविमा आँच पु¥याउने काम पनि गरिरहेको हुन्छ, यस्ता कुरामा विचार पु¥याउनुपर्छ ।’
सामाजिक सञ्जालमार्फत् हुने झूटा वा असत्य समाचारको शृङ्खला रोक्न सकिने अग्रज पत्रकार हर्ष सुब्बाको धारणा छ । ‘व्यक्तिको व्यक्तिगत स्वतन्त्रतामाथि बन्देज नहुनेगरी अलगै विधि अपनाए पुग्छ’, उनले सुझाए, ‘प्रेस काउन्सिल, प्रहरीको सङ्गठन र उजुरीकर्ता नै बढी सक्रिय हुनुपर्छ ।’ उनले उजुरी गरेपनि कारवाही हुँदैन भन्ने गलत मानसिकताले गर्दा पनि जनमानसमा बल नपुगेको बताउँछन् । ‘प्रहरीमा पुगेपछि लफडा पो हुने हो कि भन्दै प्रायः त उजुरी नै गर्दैनन्’, उनले थपे, ‘प्रत्येक मानिसमा कमीकमजोरी त हुन्छ, त्यसैले उजुरीकर्ता नै डराउँछ किनकी अन्य मेरो अन्य विवरण पो खुल्ने हो कि वा बताउनुपर्ला कि ।’ उनले साइवर कानुनलाई अझै प्रभावकारी बनाउँदै नियामक निकायले पनि अझ ध्यान दिनुपर्ने औंल्याउँछन् ।
प्रहरीको साइबरबाट हुने अपराधको अनुसन्धानका लागि छुट्टै ब्युरोसमेत छ । नेपालमा साइबर अपराधको नियमनका लागि विद्युतीय कारोबार ऐन, २०६३ बनेको छ । यही ऐनका आधारमा कार्बाही हुने गरेको छ । विकीपिडियामा उल्लेख गरेअनुसार खासगरी साइबर माध्यमको दुरुपयोग गरेर हुने गलत तथा गैरकानुनी क्रियालाई साइबर अपराध भनिन्छ । विद्युतीय उपकरणहरू कम्प्युटर, मोबाइल, तथा यसको नेटवर्कका माध्यमबाट हुने कुनै पनि प्रकारका आपराधिक कार्यलाई साइबर अपराधका रूपमा परिभाषित गरिएको छ । अन्य अपराधभन्दा यसको प्रकृति र शैली बिलकुल फरक छ भने यसको प्रभाव पनि शक्तिशाली र आम रूपमा हुन्छ । यस दफाले कम्प्युटर, इन्टरनेटलगायतका विद्युतीय सञ्चार माध्यमहरूमा नैतिकता, शिष्टाचारविरुद्धका सामग्री, कसैप्रति घृणा वा द्वेष फैलाउने सामग्री प्रकाशन वा प्रदर्शन गरे दोषीलाई १ लाख रुपैयाँ जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।