रङ्गकर्मी शारदा शाक्य कुनै समय धरानमा मात्र होइन, नेपालकै रङ्गमञ्चकी एक धरोहर थिइन् । राजधानीमा निशा शर्मा, सूर्यमाला शर्मा, मिथिला शर्माहरुको दबदबा भइरहँदा पनि धरानबाट गएको नाटकले उत्कृष्ट पुरस्कार जितेर आउँदा शारदा शाक्य, शोभा खजुमलगायतले ‘वाहवाही’ पाउँथिन् । तिनै रङ्गमञ्चकी धरोहर शाक्य लामो समयदेखि थिएटरबाट टाढा बसिन् । गृहनगर धरानमा उनले थिएटरमा नझुल्किएको पनि २ दशक बितिसक्यो । केही हप्ताअघि भने धरानका रङ्गमकर्मी, साहित्यकार एवं नव कलाकारहरूले शारदाको नाट्य प्रस्तुति हेर्न पाए । यति लामो ‘ग्याप’ पछि स्टेजमा झुल्किँदा पनि शारदाले आफ्नो अभिनय र प्रस्तुतिमा खोट लगाउने मौका दिइनन् । शारदाका समकालीन एवं अग्रज रङ्गकर्मी प्रेम सुब्बाले भने, ‘मैले उनलाई २४ वर्षपछि थिएटरमा हेरे । यतिको समयपछि ‘पर्फम’ गर्दा स्टामिना नपुग्ला कि, शारीरिक हाउभाउ र भावनात्मक उतारचढावले समस्या होला कि भन्ने डर थियो, तर उनले पहिला जस्तै प्रस्तुति दिइन् ।’
शारदासँगै २ दर्जन बढी नाटक खेलेका सुब्बाका अनुसार राष्ट्रिय नाट्य महोत्सवहरुमा धरानबाट गएको नाटकले उत्कृष्ट पुरस्कार जितेर आउँथ्यो । त्यस टिममा शारदा पनि हुन्थे । विश्व रङ्गमञ्च दिवसको अवसरमा होटल रत्न इनमा नाटक ‘मातृ पीडा’ को अंश प्रस्तुत गर्दै रङ्गकर्मी शाक्यले रङ्गमञ्चमा पुनरागमन जनाएकी हुन् । साहित्यकार एवं पत्रकार राजेश विद्रोहीले लेखेको यो नाटक २०६० सालमा मञ्चन भएको थियो । २०६० सालमा यो नाटकको निर्देशक सुवास अधिकारीले गरेका थिए भने अभिनय त्यो बेला शोभा अधिकारीले गरेकी थिइन् । करिब आधा घण्टाको नाटक भएपनि शाक्यले एकल नाटक अंश ८ मिनेट प्रस्तुति गरेकी थिइन् । स्टेजलाई नै थिएटर बनाइएको थियो । ‘म लामो समयपछि सानो अंशमा भएपनि थिएटरमा आए, धेरै अनन्द लागिरहेको छ,’ शाक्यले भनिन् ।
शाक्यले २०४२ सालदेखि नाटकमा अभिनय गर्न थालेकी थिइन् । उनको पहिलो नाटक थियो, विवश आकाश । उनले २०५० सालसम्म सक्रियरुपमा ३० भन्दा बढी नाटकमा अभिनय गरिन् । त्यसपछि भने उनी काठमाण्डांै गएर टेलिसिरियल र चलचित्रतिर ब्यस्त बनिन् । ‘मैले ५० सालसम्म थिएटर गरे, त्यसपछि टेलिसिरियल र ठूलो पर्दामा काम गर्न थाले,ुउनले विगत सम्झिइन्, ‘सानो पर्दामा १२ वटा जति र ठूलो पर्दामा ४ वटा काम गरे ।’ शाक्यले ठुलो पर्दामा मर्यादा, निशाना, माझी मामा र भूल कि फूल भन्नेमा अभिनय गरेकी थिइन् ।
धरान सानो ठाउँ भएर पनि रङ्गमञ्चमा धेरै माथि पु¥याउन सकेको भन्दै उनले गर्व पनि गरिन् । ‘त्यो बेला हामीले काठमाण्डौंलाई नाटकमा टक्कर दिन्थ्यांै, उत्कृष्ट भएर आउथ्यौं,’ उनले भनिन्,ु ‘तर, हामीले निरन्तरता दिन सकेनौं, पेशागतरुपमा ढाल्न सकेनौं ।’ पछिल्लो समय आरम्भ नाट्य डबली, रङ्गभूमि एकेडेमी, थिएटर सहाराले धरानको रङ्गमञ्चलाई गति दिएकोमा भने उनी निक्कै खुशी व्यक्ति गर्छिन् । साथै, नयाँ पुस्ताले धरानको रङ्गमञ्चलाई नयाँ आशा जगाएको उनको ठम्याई छ । ु‘नयाँ पुस्ता तयार हुँदैछन्, अब फेरी धरानको रङ्गमञ्चले नयाँ मोड लिन्छ कि भन्ने आशा छ,’ उनले भनिन्, ‘हामी पुरानो पुस्ताले हौसला दिनुपर्छ ।’