विराटनगरःप्रदेश १ को नामकरणको विषय पेचिलो बन्दै जाँदा सरकार र प्रतिपक्षी दलहरूको बिचमा आन्तरिक छलफलले तीव्रता पाएको छ।
नेकपा एमालेले प्रदेश १ को नामकरणको बारेमा सहजीकरण गर्न तत्कालीन आन्तरिक मामिला तथा कानुन मन्त्री हिकमतकुमार कार्कीको संयोजकत्वमा समिति बनाएसँगै समितिले छलफललाई तीव्रता दिएको हो ।
शुक्रवार नेपाली कांग्रेस संसदीय दलका नेता र प्रमुख सचेतकसँग छलफल गरेको समितिले आज प्रदेश १ सरकारले नामको बारेमा सहजीकरण गर्न जिम्मेवारी दिएका स्वास्थ्य मन्त्री जयराम यादवसँग छलफल गरेको हो ।
प्रदेश १ को नामकरणका सन्दर्भमा नेकपा एमालेका प्रदेश सभा सदस्य एवम् नामकरण सहजीकरण कार्यदल संयोजक हिक्मत कुमार कार्की र जनता समाजवादी पार्टीका संसदीय दलका नेता समेत रहेका मन्त्री यादवका बिच छलफल भएको हो ।
छलफलका क्रममा दुवै नेताका बिचमा यही बजेट अधिवेशनबाट अन्य दलहरूसँग पनि छलफल गरेर प्रदेशको नामकरणलाई सार्थक निष्कर्षमा पु¥याउने सहमति भएको सहजीकरण समितिका संयोजक कार्कीले जानकारी दिए ।
सरकारको तर्फबाट सहजीकरणको जिम्मेवारी पाएका स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टीका संसदीय दलका नेता जयराम यादवले एमालेले समिति बनाएपछि अब नामको विषय सहज हुने बताए । ‘सुरुदेखि नै एमालेको कारण प्रदेशको नामकरणको विषय रोकिएको थियो’, उनले भने, ‘अहिले एमालेको सक्रियता निक्कै बढेको देखिएको छ, यो गतिले नाम निष्कर्षमा पुर्याउन सकिन्छ ।’
एमालेको सहयोगमा सरकार पक्षसहित सबै पक्षसँग छलफल गरेर नामको विषय टुंगो लगाइने उनले बताए । ‘सत्तापक्षका दलहरूका बिचमा आन्तरिक छलफल भइरहेको थियो’, उनले भने, ‘एमालेको सहयोगको आवश्यकता पर्छ, अहिले एमालेले तदारुकता देखाएर अघि बढेको देखिएको छ, यसले हामीलाई सहज बनाएको छ।’
दलहरूका बिचमा आन्तरिक छलफल भइरहे पनि यसै अधिवेशनमा नाम आउने या नआउने भन्नेमा दलहरू बिच एक मत देखिएको छैन । पहिलो कुरा यसै अधिवेशनबाट नामको प्रस्ताव लग्न दलहरू सहमत हुनु पर्नेछ भने त्यसपछि मात्र कुन नाम प्रस्ताव गरेर जाने भन्ने बारेमा दलहरू फेरी छलफलमा जुट्नुपर्ने छ ।