पछिल्लो समयमा धरान विमानस्थल, भेडेटार मुनि बिग बुद्ध निर्माण, बसपार्कको सुधार गरिने भनिएपनि यसको गति कछुवाको जस्तो रहेको छ । यस्तै धरानमा सञ्चालन भइरहेको गोल्डकप आदिले पनि पर्यटन बढाउन सक्छ । फुटबलको कारण धरानले ‘मिनि ब्राजिल’ को उपमा पाएको छ । विगत १७ बर्षदेखि नियमित सञ्चालनमा आएको एक मात्र प्रतियोगिता हो बुढासुब्बा गोल्डकप । गोल्डकप हुँदा धरान बाहिर र स्थानीय कति दर्शक आएर खेल हेरे ? भन्ने चर्चाले धरान सधै तातिन्छ । धरानमा आर्थिक गतिविधि त हुने भयो नै धनकुटाको पर्यटकीयस्थल भेडेटारसम्म यसको प्रभाव पुग्छ ।
‘धरान खेलकुदको शहर हो, बुढासुब्बा गोल्डकपको उद्देश्य फुटबलको विकास गर्नु त छदैछ, खेल पर्यटन प्रर्वद्धन गर्नु पनि हो’, क्लबका अध्यक्ष किशोर राई जुनसुकै कार्यक्रममा पनि यी कुरा भन्ने गरेका छन् । साइक्लिष्ट, प्याराग्लाइडिङले पनि यहाँ थप मजा प्रदान गर्दछ भने मदन ढकालले चलाएको ¥याफ्टिङ व्यवसाय साथै क्यानोनिङ, आर्चरी, स्वीमिङ पुल, ब्याडमिन्टन कोर्ट, बास्केटवल कोर्टले पनि पर्यटन तान्नेछ । यस्तै निर्वाणा कन्ट्री क्लबमा खोलिएको गल्फ कोर्ष आदिले पनि पर्यटन आकर्षित गर्न सक्छ । निर्वाण कन्ट्री क्लबमा हरेक वर्ष सूर्य नेपाल इष्र्टन ओपन हुने गर्छ भने स्थानीयस्तरमा पनि एमेच्योर स्पर्धा हुन्छ । यी खेल गतिविधिले धरान खेलकुद भएको परिचय मात्रै दिँदैन, खेलको माध्यमबाट पर्यटन प्रर्वद्धन र आर्थिक गतिविधि पनि बढाउन सहयोग पु¥याउँछ । ढकाल प्रश्न गर्छन्, ‘पर्यटनको हब बनाउन लाग्ने चाहि“ को हो ?’
भानुचौकको घण्टाघर, विजयपुर गढीमा अवस्थित मठमन्दिर (बुढासुब्बा, दन्तकाली, पिण्डेश्वर, पञ्चकन्या) बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, हरियाली वनको चिल्ड्रेन पार्क, मिनी चिडियाघर पर्यटकको प्राथमिकतामा पर्छ । ‘तर पनि होटलमा पानी आउन नसक्दा यहाँ आएका पर्यटक पनि भेडेटार, इटहरी, विराटनगर फर्कनुपर्ने अवस्था छ’, स्थानीय शिक्षक ओमनाथ रिमाल भन्छन्, ‘‘विभिन्न पर्यटनलाई प्याकेजमा बिक्री गर्न सक्ने हो भने ती पर्यटकहरुको बसाई लम्ब्याउन सकिन्छ । पर्यटन व्यावसायीहरुको ध्यान त्यता पुग्न सकेको छैन ।’
‘साहसिक एवं खेल पर्यटन सधै ओझेलमा पर्दै आएको छ’, प्याराग्लाइडिङ गर्दै आएका धरान–११ स्थित ओएसिस इङ्लिस हाइस्कुलका प्रिन्सिपल लेखमणि जिमी भन्छन्, ‘साहसिक एवं खेल पर्यटनप्रति चासो आफैंले बढाउने हो ।’ यहाँको पर्यटन उद्योग फष्टाउँदै गएपछि होटल उद्योगमा लगानी गर्ने पनि बढ्नेछन् । स्वदेशी होटल व्यवसायी आफ्नो लगानी देशभर विस्तार गर्ने क्रममा छन् भने देशका ठूला घरानियाँ व्यवसायीहरू पनि होटलमा नै लगानी गरिरहेका छन् ।
पर्यटनमा अघि धरान
पूर्वाञ्चलबाट यति नै मान्छे घुम्न निस्कन्छन् भन्ने तथ्याङ्क त छैन तर, हरेक महिना सयौँ मान्छेहरु नेपालका विभिन्न ठाउँहरु र भारतको सिक्किमसम्म घुम्न जान्छन् । थोरैलाइ मात्रै थाहा हुनसक्छ विदेशीले लाखौं खर्च गरेर प्राप्त गर्ने आनन्द हामी पूर्वमा पाउँछौं । अझ, धरानमा पाउँछौं । नेपालमा आउने पर्यटकहरुको ठूलो हिस्सा साहसिक पर्यटनले ओगटेको छ । प्याराग्लाइडिङ, ¥याफ्टिङ, माउन्टेन बाइकिङ जस्ता साहसिक खेलहरुमा धरान पूर्वको एक मात्रै केन्द्र बन्दै आएको छ । धरानमा एक–एक ओटा प्याराग्लाइडिङ र ¥याफ्टिङ कम्पनीहरु सञ्चालनमा छन् । माउन्टेन बाइकिङ शो रुमहरुको साथै श्याम तामाङको अध्यक्षतामा जिल्ला साइक्लिङ संघसमेत बनेको छ । खास रुट तोकेर दैनिक माउन्टेन बाइकिङ नगरिएपनि बाइकिङ अभियान र बाइकिङ च्याम्पियनहरु भने केही वर्षयता हुँदै आएका छन् ।
प्याराग्लाइडिङ प्याकेज
नेपालभरमा पोखरामा मात्रै प्याराग्लाइडिङ सेवा सञ्चालनमा रहेकोमा धरानमा पनि यो खेल व्यवसायिकरुपमा सञ्चालनमा आएको छ । प्याराग्लाइडिङकै लागि पोखरा जानेहरुका लागि धरानले नजिकको गन्तव्यको रुपमा विकल्प उपलब्ध गराएको मात्र छैन, यस क्षेत्रका साँस्कृतिक तथा प्राकृतिक पर्यटकीय क्षेत्रहरुको महत्व अझ बढाएको छ । धरानमा प्याराग्लाइडिङ प्रथम पटक सञ्चालन मात्रै होइन आफ्नो पहिलो उडानसमेत धरानमै गरेका रोशन अधिकारी पछिल्ला दिनहरुमा प्याराग्लाइडिङलाई मानिसले बुझ्न थालेको अनुभव सुनाउँछन् । ‘सुनसरीबाट मात्रै ग्राहक आउने सोचेको थिएँ, तर अहिले हामीसँग धनकुटा, झापा, पाँचथरदेखि इलामबाट समेत आइरहेका छन् ।’ अधिकारीकाअनुसार उनको कम्पनीले दुई सय बढी व्यवसायिक उडान गरेको छ । यस्तै, धरानमै बुढासुब्बा प्याराग्लाइडिङले पनि व्यवसायिक उडान थालिसकेको सञ्चालक लेखमणि जिमी बताउँछन् ।
धरान २० को छोटी मोरङ डाँडामा आफ्नै टेक अफ भएको धरान स्काइ एड्भेन्चर प्याराग्लाइडिङले ग्राहकलाई गाडीमा लिएर डाँडामाथि पुग्छ र त्यहाँबाट प्याराग्लाइडिङमा चढाएर धरानमा झार्छ । सञ्चालकका अनुसार चर्को हावा र पानी नपरेको बेला जुनसुकै मौसममा प्याराग्लाइडिङ गर्न सकिन्छ ।
तमोरमा ¥याफ्टिङ र क्यानोनिङ
भोटेकोशीपछि ¥याफ्टिङको लागि राम्रो नदीको रुपमा पूर्वको तमोरलाई लिइन्छ । तमोरसँगै सुनकोशी र अरुण पनि अन्य राम्रा ¥याफ्टिङ नदीहरुमा पर्छन् । धरानबाट यी तीनै नदीहरुमा ¥याफ्टिङ गराइन्छ । २०६२ मंसिर १ गतेबाट सञ्चालनमा आएको यो सेवा तमोर रिभर एड्भेन्चर प्रालिले सञ्चालन गरिरहेको छ । अहिलेसम्म १० हजार बढीले ¥याफ्टिङको सुविधा लिइसकेको सञ्चालक मदन ढकाल बताउँछन् । भन्छन्, ‘हाम्रोमा एक सिजनमा पाँच सय ग्राहकलाई ¥याफ्टिङ गराइन्छ ।’ ढकालका अनुसार मंसिरदेखि वैशाखसम्म ¥याफ्टिङको सिजन हो ।
पूर्वको ¥याफ्टिङ अहिले आन्तरिक पर्यटकले धानिइरहेको छ । उनको अहिलेसम्मको अनुभवमा ¥याफ्टिङकै लागि विदेशी पर्यटकहरु एक प्रतिशत पनि आउँदैनन् । ढकालले हाल मूलघाट–तमोर रुटमा दैनिक सेवा दिइरहेको बताए । तमोरको मूलघाटबाट सुरु भएको यात्रा सप्तकोशी भेट्ने चतरासम्म आउने गर्छ । मूलघाटसम्म लाने र चतराबाट पिक अप गर्ने काम पनि कम्पनीले नै गर्छ । ३४ किलोमिटरको तमोर ¥याफ्टिङको मज्जा लिन ६ घण्टा जति समय लाग्छ ।
रातसमेतको प्याकेजमा क्याम्प फायर, लञ्च, डिनर र नास्ता उपलब्ध गराइन्छ । ढकाल ¥याफ्टिङ सञ्चालक मात्रै हैनन् क्यानोनिङ सञ्चालनको अनुमति लिएका आफैमा दक्ष व्यक्तिसमेत हुन् । ‘हामीसँग लाइसेन्स प्राप्त गाइड र क्यानोनिङ सामाग्रीहरु समेत छन्,’ उनले भने, ‘तर मार्केटमा डिमाण्ड नभएर दैनिक सञ्चालनको समस्या छ ।’ ढकालका अनुसार भेडेटारको नमस्ते झरनामा क्यानोनिङ गर्न व्यवसायिक दृष्टिले सहज हुन्छ भने तेह्रथुममा रहेको एसियाकै सर्वाधिक अग्लो ह्यात्लुङ झरनामा बेग्लै ढङ्गले सञ्चालन गर्न सकिने उनको सम्भावना देखेका छन् ।