पूर्व (प्रदेश नं. १) अहिले ‘शैक्षिक हब’ को रुपमा विकसित हुँदै गएको छ । यहाँ शैक्षिक हबको रुपमा विकास हुने सम्भावना प्रशस्त देखिएको छ । यहाँका कलेजको लगातारको उत्कृष्ट नतिजाले पनि विद्यार्थी माझ परिचित गराएको हो । खासगरी साइन्स, म्यानेजमेण्ट, होटल म्यानेजमेण्ट सङ्कायमा पढ्न विद्यार्थीको लर्को लाग्ने गरेको छ ।
धरानको कुरा गर्ने हो भने शैक्षिक पूर्वाधार यथेष्ट छ, कृषि इन्जिनियरिङ पढाइ हुने एक मात्र सरकारी क्याम्पस यहीँ छ भने केन्द्रीय खाद्य प्रविधि क्याम्पस र संस्कृत क्याम्पसले धरानलाई पूर्वकै शैक्षिक केन्द्र बनाएको छ । यस्तै, निजी स्रोतमा सञ्चालित विद्यालयहरुले पनि गुणस्तरीय शिक्षाको नारा दिएसँगै यसले थप हबको रुपमा विकास हुन टेवा पुगेको छ जस्तो लाग्छ । धरानमै निजी विद्यालयहरुले पनि गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका छन् । यहाँ गुणस्तरसँगै हरेक तहलाई आवश्यक भौतिक संरचनामा गुणस्तरीयता थप्दै जाने क्रम चुलिँदो छ । धरान उच्च, नवोदय विद्या मन्दिर, युरेका, विष्णु, विजयपुर, धरान आदर्श, डिपोट, एम्स, सुनसरी टेक्निकल कलेज, समिट जस्ता दर्जनौं स्कुल, कलेजले गुणस्तरीय शिक्षा दिँदै उत्कृष्ट नतिजा पनि निकाल्दै आएका छन् । साइन्स, म्यानेजमेण्ट, होटल म्यानेजमेण्टको अध्ययन अध्यापन हुँदै आएको उच्चमा नतिजा पनि उच्च नै छ । यस्तै, म्यानेजमेण्ट र होटल म्यानेजमेण्टमा पूर्वमैै नाम कमाएको नवोदयले बढी होटल म्यानेजमेण्टमा पूर्वमै उत्कृष्ट नतिजा निकाल्दै आएको छ । युरेकाले साइन्स र म्यानेजमेण्टमा पूर्वमै उत्कृष्ट नतिजा निकाल्दै आएको छ । विष्णुले पनि साइन्स, म्यानेजमेण्ट र कमर्समा अब्बलता सावित गरिसकेको छ भने विजयपुरले साइन्समा उत्कृष्टता हासिल गर्दै आएको छ । यस्तै, धरान आदर्श उत्कृष्टतासँगै बढी विद्यार्थी उत्तीर्ण गराउने कलेजमध्येको एक हो । डिपोटको साइन्स र म्यानेजमेण्टमा नतिजा उत्कृष्ट नै छ । यस्तै, एम्सले साइन्स, म्यानेजमेण्ट, शिक्षालगायतका सङ्कायमा उत्कृष्टता हासिल गर्दै आएको छ भने सुनसरी टेक्निकल कलेज प्राविधिक शिक्षाका लागि अग्रणी मानिदै आएको छ । यी त केही उदाहरण मात्रै भए ।
धरानका कलेजले उच्च शिक्षा अध्ययन गर्न भारत साथै काठमाडौं जान रोकिरहेका छन् भन्दा फरक पर्दैन । सीमित शैक्षिक कार्यक्रम र शिक्षण संस्था सञ्चालन हुनाले दशकअघिसम्म डाक्टर, इन्जिनियरसहित उच्च शिक्षा अध्ययन गर्न पूर्वाञ्चलवाट हरेक वर्ष सयौं विद्यार्थी छिमेकी मुलुक भारत जान्थे कि त काठमाडौं । अहिले प्रदेश नं. १ मै राम्रा कलेज पनि छन् है भन्ने कुरालाई प्रमाणित गरेका छन् पूर्वका शैक्षिक संस्थाहरुले । धनकुटा, धरान, विराटनगर, इटहरी, दमक, बिर्तामोड, उर्लाबारी, राजविराज, जनकपुर, लहानजस्ता सहरमा खुलेका दर्जनौं उत्कृष्ट नतिजा निकाल्ने कलेजले पनि पूर्व शैक्षिक हबका रुपमा विकसित हुँदै गएको आभाष गर्न सकिन्छ । पछिल्लो समय मुलुक बहुविश्वविद्यालय प्रणालीमा गएपछि भने त्यो क्रम रोकिएको छ ।
युरेका उच्च माविका प्राचार्य राजेन्द्र गुरुङ विद्यालयले नै गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि विद्यार्थीहरु राजधानी गइरहनुपर्ने साथै विदेशिनुपर्ने बाध्यता हटेको बताउँछन् । ‘हरेक कलेजमा बिकाउको विषय साथै गुणस्तरीय शिक्षा पनि प्रदान गर्दै आएका छन्, त्यसैले पनि पूर्व शैक्षिक हब बनेको छ भन्नु ठूलो कुरा भएन ।’ उनले शैक्षिक हब बनाउनका लागि अझै लागिपर्नुपर्नेमा जोड दिए । ‘नारा मात्रै भएर भएन तर हब बनाउने ‘थिम’ पनि चाहिएको छ ।’
‘सीमित कलेज, स्कुलले सीमित शैक्षिक कार्यक्रम सञ्चालन गर्दा विद्यार्थीले गुणस्तरीय शैक्षिक कार्यक्रम छनोट गर्न नपाएर विदेश कि काठमाडौं जानुपर्ने बाध्यता थियो’, युएन कलेजका क्याम्पस प्रमुख डम्बरकुमार तुम्वापोले भने, ‘अहिले शिक्षामा लगानी बढेसँगै साथै उत्कृष्ट नतिजा निकाल्दै जानुले पूर्व शैक्षिक हब नै बनेको छ भन्दा फरक नपर्ला ।’
पूर्वाञ्चलमा धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरका नोबेल मेडिकल कलेज र विराट मेडिकल कलेज एमबीबीएस, एमडीएमएस, बीडीएस, बीएस्सी नर्सिङ कार्यक्रम सञ्चालन गर्दै आएका छन् । यस्तै, पूवमै सिभिल, इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन र कम्प्युटर इन्जिनियरिङका स्नातक कार्यक्रम पनि सञ्चालित छ । यस्तै, बीसीए, बीआईटी, सिभिल, कम्प्युटर, इलेक्ट्रोनिक एन्ड कम्युनिकेसन कार्यक्रम पनि पूर्वमा छ ।
यस्तै, विराटनगरको सगरमाथा बोर्डिङ स्कुल, मेरिल्यान्ड कलेज, शिक्षादीप कलेज, डिएभी, सेन्ट जोसेफलगायतका दर्जन बढी कलेजले उत्कृष्ट नतिजा निकाल्दै आएका छन् । इटहरीको कुरा गर्ने हो भने विश्व आदर्शलगायत एक दर्जन बढी कलेजको अघिल्लो वर्षको नतिजा मात्रै हेर्ने हो भने उत्कृष्ट छ ।
प्लस टुले विगतमा निकाल्दै आएको परीक्षाको नतिजाका कारण पनि पूर्व क्षेत्रका अध्ययनका लागि काठमाडौंलगायत भारत जाने क्रम रोकिँदै गएको छ भन्दा फरक नपर्ला । पूर्वाञ्चलमा १ विश्वविद्यालय, ३ मेडिकल कलेज, ३ इन्जिनियरिङ कलेज, सामुदायिक क्याम्पस दुई दर्जन, सामुदायिक र निजीसहित ६ सय ८७ कलेज रहेको क्षेत्रीय शिक्षा निर्देशनालयको तथ्याङ्कले देखाएको छ ।