सडक बालबालिका भनेपछि छिःछिः, दूर्रदूर्र गर्ने प्रचलन अझै व्याप्त छ । अझ भन्ने हो भने सडक बालबालिकाको लालनपालनमा एनजिओ, आइएनजिओ पनि सक्रिय नभएका होइनन् । तर पनि शहरमा सडक बालबालिका दिनप्रतिदिन बढ्दै गएका छन् नै । गल्लीगल्लीमा बोरा बोकेर हिँडिरहेका भेटिन्छन् । फाटेका कपडा, चप्पलविहीन खुट्टा भएका सडक बालकहरु यसरी हिँड्दा पनि राज्यका स्थानीय निकाय भने उदासिन नै छन् । सडक बालबालिका, जो गाँस, बाँस र कपासको पहुँच भन्दा धेरै पर छन् । के खान्छन, कसरी खान्छन् ? के लगाउँछन्, के ओढ्छन र कहाँ सुत्छन् ? त्यसको कुनै टुङ्गो छैन । सडक नै उनीहरुको सबैथोक हुन्छ । कहिले उनीहरु सडकमा निम्नस्तरको खाने कुराहरु खाएको अवस्थामा भेटिन्छन् त कहिले कुनै सटरको दलानमा सुतेर रात काटेको देख्न सकिन्छ । अधिकाङ्स सडक बालबालिकाको घर भन्नु नै सडक पेटी नै हुन् । आफूजस्तै मागेर खाने वा फोहोरको थुप्रो कोट्याउँदै हिँडने उनीहरुका साथी हुन् र आफन्त पनि ।
यस्ता अवस्थाका बालबालिकाहरुका लागि सहयोगी बनेका छन् धरानका किशोरकिशोरी । उनीहरु कलेजमा आउने विद्यार्थी साथीहरुको भन्दा शिक्षाको पहुँच बाहिर रहेका सडक बालबालिकाको बढी चिन्ता गर्छन् । उनीहरुको छुट्टीको समय (प्रत्येक शनिबार) सडक बालबालिकाहरु कहाँ पुग्दै खाना खुवाउने रहेको छ । अहिले उनीहरुले केही रकमबाट यस्ता बालबालिकाको क्षेत्रका काम गर्ने अठोट पनि लिएका छन् । केही समयअघि भानुचोकमा उनीहरुले ग्राहकलाई चिया बनाएर खुवाए । चिया बेच्दै सहयोग माग्दै १८ हजार रुपैयाँ जम्मा भएको थियो । त्यही १८ हजार रुपैयाँको खानेकुरा उनीहरुले खुवाइसकेका छन् ।
‘सडकमा आउन बाध्य बालबालिकाका प्रतिभा उजागर गर्ने सोच थियो । सुरुमै केही चमत्कार गर्न सक्ने अवस्थामा थिएनौँ हामी,’ धरान–१६ स्थित नवोदय÷युएन कलेजस्थित होटल म्यानेजमेण्ट कक्षा–१२ मा अध्ययनरत् युनेश भण्डारीले भने ‘जम्मा गरेको केही रकमबाट सडक बालबालिकालाई खाना खुवाउने योजना बनायौँ । ताकि, एकदिन भएपनि टन्न खाना पाऊन् ।’
समर्पण अभियान नेपाल नाम संस्था खडा गरी उनीहरु लागिपरेका हुन् । भण्डारीको संस्थाको अध्यक्ष हुन् । महिमा आङदेम्बे होटल म्यानेजमेण्टकै कक्षा–११ मा अध्ययनरत् छिन् । यस्तै, सारिका चोङवाङ सोही सङ्कायकै कक्षा–११ मै अध्ययनरत् छिन् । आङ्देम्बे उपाध्यक्ष, चोङवाङ सचिव छन् । यस्तै, अन्य सदस्य छन् ।
कुनै शनिबार युएन कलेजका त कुनै शनिबार नवोदय कलेजका अध्यापकहरुले सहयोग गर्दै आएका छन् । उनीहरुबाट आएको रकमको खाना, खाजा खुवाउँदै आएको सचिव सारिकाले बताइन् । यस्तै, युएन÷नवोदय कलेजले पनि प्रत्येक शनिबार खाना खुवाउन सघाउने गरेको छ । गगन श्रेष्ठको संयोजकत्वमा खाना, खाजा खुवाउने कार्यक्रम रहेको छ । ‘सकेको जति दिने गरेका छौं’, श्रेष्ठले भने, ‘यसरी सहयोग गर्न पाउनु खुशीको कुरा हो, योसँगै सडकमा रहेका असहायलाई खाना खुवाउने लगायत काम पनि गरिरहेकै छौँ ।’
उनीहरु सडक बालबालिकाका साथै वृद्धआश्रम पनि धाउने योजनामा छन् । कुनै पनि बालबालिकालाई सडकमा देख्न नचाहने उनीहरु भविष्यमा पढ्न, लेख्न पाउने अधिकारसँग पनि लड्ने बताउँछन् । युएन कलेजका प्रमुख डम्बरकुमार तुम्वापो भविष्यमा बालबालिकाहरुले पढ्न चाहेमा पढाउन सकिने बताउँछन् । ‘सडकमा रहरले कोही आएका हुँदैनन्, सडकमा आएकामध्ये सबैलाई सुधार्न पनि सकिँदैन,’ उनले भने, ‘त्यसैले पहिला हामी बालबालिकाको सबै कुरा अध्ययन गर्छौं, त्यसपछि मनोवैज्ञानिकसँग सल्लाह मागेर उनीहरूलाई विद्यालय पठाउनेसम्म प्रक्रिया थाल्छौँ ।’ उनका अनुसार धेरै बालबालिका पारिवारिक बेमेलका कारण सडकमा आउँछन् । कतिपय बालबालिकालाई उनीहरूले परिवारसँग मिलन गराउन पनि जरुरी रहेको उनको भनाइ छ । ‘हाम्रै विद्यालय होस् वा अन्य विद्यालयलाई अनुरोध गरेर पढाउन पनि सकिन्छ’, उनी भन्छन् । उनका अनुसार नवोदय होटल म्यानेजमेण्टमा पूर्वकै ब्राण्ड बनेको कलेज हो, प्रयोगात्मक कक्षाका लागि यही खाना पाक्छ, त्यो खाना सोझै लगेर सडक बालबालिकालाई हरेक शनिबार खुवाउने गरिएको छ ।