धरानः प्रदेश नम्बर १ स्तरीय वाइवाइ एसइई स्टेट–१ सिङ्गीङ आइडल सिजन–२ र डान्सिङ स्टार सिजन–१ को फाइनलको तयारी पूरा भएको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार यसपटक कार्यक्रमका प्रमुख अतिथिका रुपमा प्रदेश १ का प्रदेश प्रमुख पशुराम खापुङको उपस्थिति रहनेछ । ‘सबै तयारी पूरा भइसकेको छ’, आयोजक फक्ताङलुङ मिडिया हाउस प्रालिका अध्यक्ष डम्बरकुमार तुम्बापोले भने, ‘कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रदेश १ का प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रमुख अतिथिका रुपमा डाकिएको छ, उहाँ आउनुहुनेछ ।’ उनका अनुसार विशिष्ट अतिथिमा धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (साम्पाङ) र उपमेयर अइन्द्रविक्रम बेघालाई पनि डाकिएको छ ।
एफटिएल अनलाइन टिभीले आयोजना गरेको प्रदेश नम्बर १ भरीबाट फाइनलमा१०–१० जना छनौट भएका छन् । सिङ्गीङतर्फ गनु राई (होलिल्याण्ड इन्टरनेशनल स्कुल, धरान), ओङ्दी तामाङ (सुनाखरी एकेडेमी, धरान), एन्जिला मगर(युएन स्कुल, धरान), रिजन लोहनी (जेनिथ स्कुल, धरान), चमेली विक (पब्लिक हाइस्कुल, धरान), छिरिङ तामाङ कार्मेल हाइस्कुल, धरान), एन्जेल गुरुङ (सुनगाभा स्कुल, धरान), भुवन लामिछाने होलिल्याण्ड इन्टरनेशनल स्कुल, धरान), माहिम राई (नवज्योति स्कुल, धरान) र दिप्सन श्रेष्ठ (रुपतारा स्कुल, झापा) रहेका छन् ।
त्यस्तै, डान्सिङतर्फ रेष्मा थिङ (निलगिरी डनबस्को स्कुल, हिले धनकुटा), नुमा लिम्बू (सिदार्थ बोर्डिङ स्कुल, मोरङ), मनिष विक (मनिष विश्वकर्मा (हिमाली सेकेण्डरी स्कुल भद्रपुर, झापा), सुमिना दाहाल (मर्निङ ग्लोरी स्कुल (रामपुर, उदयपुर), इक्सा साम्वाहाम्फे (युएन स्कुल, धरान), निरुता श्रेष्ठ (जनसहयोग स्कुल (तरहरा, सुनसरी), नियती राना मगर (युएन स्कुल, धरान), सुष्मा तामाङ (एभरेष्ट स्कुल, धरान), कष्मिरा थापा मगर (शिक्षा सदन मावि, धरान) र प्रकृति खापुङ (सुनाखरी एकेडेमी, धरान) रहेका छन् ।
प्रतियोगिताका निर्णायकमा गायनतर्फ मिलन अमात्य, भ्वाइस अफ नेपाल सिजन–२ का फाइनलिस्ट विकास लिम्बूलगायतको पनि उपस्थिति रहने आयोजकले जनाएको छ । त्यस्तै, नृत्यतर्फ छमछमी सिजन–३ कि फस्ट रनरअप मनिता राई र राष्ट्रिय डान्स कोरियोग्राफर पृतम साम्वाहाम्फे रहेका थिए । गायन र नृत्य दुवैतर्फका बिजेताले ५० हजार रुपैयाँ नगद र प्लस टु अध्ययनका लागि पूर्ण छात्रवृत्ति, दोस्रो हुनेले ३० हजार रुपैयाँ नगद, प्लस टु पढ्न ५० प्रतिशत छात्रवृत्ति र तेश्रो हुनेले १५ हजार रुपैयाँ नगद र प्लस टु पढ्न ५० छात्रवृत्ति प्राप्त गर्ने प्रालिका अध्यक्ष तुम्वापोले जानकारी दिए ।
प्रतियोगिताको फाइनल आगामी असार–१७ गते शुक्रबार हुने इभेन्ट कोअर्डिनेटर तिर्थ कार्कीले जानकारी दिए । प्रतियोगिता धरान–१५ स्थित चुम्लुङ हिमको भवन परिसरमा भव्य र सभ्य तरिकाले सम्पन्न हुने आयोजकले जनाएको छ ।
यसैबीच फाइनल राउन्डको फिनालेमा पुग्न सफल छिरिङ घिसिङलाई घिसिङ समाज नेपालले सहयोग गर्ने भएको छ ।
आइतबार घिसिङ समाज धरान नगर कार्य समितिले धरान–११ निवासी टेकबहादुर घिसिङको छोरा छिरिङलाई आर्थिक सहयोग गर्नुका साथै भोटिङलगायत सम्पूर्ण सहयोग गर्ने भएको हो ।
असार १७ गते हुन गइरहेको वाइवाइ सिङगिङ आइडल एसइई सिजन २ फाइनल धरानमा हुँदैछ । फाइनलमा पुग्न सफन छिरिङलाई फिनालेमा जिताउन प्रदेशस्तरीय घिसिङ परिवारको घर घरमा गएर छिरिङ जिताऊ अभियान सञ्चालन गरिने दीपक घिसिङले जानकारी दिए । घिसिङ समाजका अध्यक्ष साथै समाजका वरिष्ठ सल्लाहकार गणेश घिसिङले नगद ५ हजार नगदका साथै खदा लगाएर सम्मान गर्दै अग्रिम शुभकामना दिएका थिए ।
छिरिङ घिसिङ जिताऊ कार्यक्रममा समाजका अध्यक्ष, उपाध्यक्ष र प्रवक्ता साथै सदस्यहरुले समाजको विशेष र महत्वपूर्ण भूमिका रहने समेत स्पष्ट पारेका थिए । घिसिङ समाजले बालबालिका तथा किशोरकिशोरीको सुनौलो भविश्यका लागि सहयोग गरिरहने जनाएको छ । समाजले आगामी १७ गते हुने फाइनल कार्यक्रममा हुटिङ र स्पोर्टिङ कार्यक्रमस्थलमा आउन सम्पूर्ण घिसिङ दाजुभाइलाई अनुरोध समेत गरेको छ ।