धरानः धरानमा शुक्रबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दिनभरी नै धरानमै रहे । करिब ९ बजे नै धरान आइपुग्ने समय भएपनि उनी करिब साढे ११ बजे धरान प्रवेश गरेका थिए ।
धरानका मेयर हर्कराज राई साम्पाङको निम्तो साथै जनगायक तथा संविधानसभा सदस्य जेवी टुहुरेको पुण्यतिथिमा धरानमा कार्यक्रम भएको थियो । जनगायक टुहुरेको सम्झनामा जेवी टुहुरे स्मृति सन्ध्या तथा स्रष्टा सम्मान कार्यक्रम–२०७९ आयोजना भएको थियो ।
प्रचण्ड धरान प्रवेश गर्नेवित्तिकै मेयर साम्पाङ र उपमेयर अइन्द्रविक्रम बेघा पर्खिरहेको स्थान सर्दुखोलातर्फ लागेका थिए । त्यहाँ उनले वृक्षारोपण गर्ने कार्यक्रम थियो । उनले सर्दुपुलछेऊ रहेको बीपी पार्क (ओशो पार्क) मा जेबी टुहुरेको नाममा वृक्षारोपण गरेर फर्किएका थिए ।
साताअगाडि काठमाडौं पुगेका धरानका मेयर साम्पाङ र उपमेयर बेघाले प्रचण्डसँग भेट गर्दै धरानमा आउन निम्तो दिएका थिए । वरिष्ठ कलाकार तथा संविधानसभा सदस्य जेवि टुहुरेको पुन्यतिथिमा कार्यक्रम पनि तय भएको र धरान आउन उनीहरुले आग्रह गरेर फर्किएका थिए । कार्यक्रममा प्रचण्डसहित केन्द्रकै उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्बो पनि पुगेका थिए ।
भानुचोकमा आयोजित कार्यक्रममा भने प्रचण्डसहित केन्द्रीयस्तरका नेता, प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई, सभामुख प्रदीपकुमार भण्डारीलगायतको समेत उपस्थिति थियो ।
वृक्षारोपण कार्यक्रमपछि बोल्दै प्रचण्डले धरानका मेयर साम्पाङबाट धेरै प्रेरणा लिन सकिने बताएका छन् । कम्युनिष्ट पार्टीले गर्नुपर्ने काम गरिरहेकाले पार्टी पंक्तिले नै प्रेरणा लिन सक्ने प्रचण्डको भनाइ छ ।
‘हर्कले कम्युनिष्ट पार्टी अझ भनौं माओवादीले गर्नुपर्ने काम गरिरहनुभएको छ । उहाँबाट कम्युनिष्टहरु र हाम्रा पार्टीका साथीहरूले प्रेरणा लिन सक्नुहुन्छ,’ उनले भने । उनले जनतासँग सधैं जोडिएर काम गर्न र यस्तै कामलाई निरन्तरता दिन डटेर लाग्न मेयर साम्पाङलाई सुझाएका छन् । ‘जनतासँग जोडिएर काम गर्नुस्। सधैं जनतासँगै रहनुस् । अझै राम्रो काम गर्नुस्। मेरो शुभकामना,’ प्रचण्डले भने । जवाफमा मेयर साम्पाङले आफू सधैं जनतासँगै जोडिएर काम गर्ने बताएका छन् । आफू र आफ्नो पार्टीको साथ र समर्थन रहेको साम्पाङलाई जानकारी गराउँदै प्रचण्डले जनताको साथ र समर्थन पाइराख्न आग्रह पनि गरे । मेयर साम्पाङको आहवानमा हरेक शनिबार वृक्षारोपण कार्यक्रम हुँदै आएको छ ।
भानुचोकमा प्रचण्डले के भने ?
कार्यक्रममा बोल्दै प्रचण्डले जनगायक टुहुरेलाई संविधानसभा सदस्यको रुपमा उभ्याएर ठीक काम गरेको महसुस भइरहेको बताएका छन् । ‘मैले उहाँलाई नेपालको राजनीतिक, साहित्य र सङ्गीतको क्षेत्रमा पनि सम्मानित गर्ने दायित्व महसुस गरेर संविधानसभा सदस्यको रुपमा उभ्याएर ठीक काम गरें भन्ने गर्व महसुस भइरहेको छ’, उनले थपे । उनको योगदानलाई कहिल्यै भुल्न नहुने समेत उनले बताए ।
गुन्जियो भानुचोक
कार्यक्रममा नेपालका डेढ दर्जन भन्दा बढी स्थानीय तथा चर्चित गायक गायिकाहरूले जेबी टुहुरेकै गीत गाएका थिए । कार्यक्रममा वरिष्ठ गायक दीप श्रेष्ठ, गायक तथा संगीतकार चेतन सापकोटा, हाँस्य कलाकार सुवोध गौतम, शम्भु श्रेष्ठ, नन्दकृष्ण जोशी, जीवन शर्मा, भीषण मुकारुङ, बाबु बोगटी, प्राश्ना शाक्य, रुपक डोटेललगायत कलाकारको प्रस्तुति रहेको थियो ।
जनवादी गीत गाएर जनमानसमा बस्न सफल टुहुरेका दर्जनौं जनवादी गीतहरू वामपन्थी राजनीतिक वृत्तमा आजसम्म पनि घन्किरहेको छ । उनका गीतहरूमध्ये ‘आमा दिदी बहिनी बहिनी हो’, ‘कति बस्छौ दासी भई’, ‘बसाई हिँड्नेको ताँती’लगायत आजसम्म पनि चर्चित छन् ।
सम्मान कार्यक्रम
कार्यक्रममा गीतकार लब प्रधान ‘मित्र’ लाई सम्मान गरिएको छ । जनगायक टुहुरेले गाएको ‘बसाइँ हिँड्नेको ताँतीले’ गीतका रचनाकार प्रधानलाई सम्मान गरिएको हो । केन्द्रका अध्यक्ष प्रचण्डले उनलाई सम्मान गरेका थिए । उनलाई नगद एक लाखसहित सम्मानपत्र, ढाका टोपी र दोसल्ला ओढाएर सम्मान गरिएको थियो । जेवी टुहुरे फाउन्डेसनकी अध्यक्ष निर्भिका टुहुरेका अनुसार कार्यक्रममा अन्य व्यक्तित्वहरुलाई समेत सम्मान गरिएको छ । कार्यक्रममा मुख्यमन्त्री राईले अग्रज पत्रकार भवानी बराल, अन्नपूर्ण पोष्टका रत्न आचार्यलाई पनि सम्मान गरेका थिए ।
को हुन् टुहुरे ?
प्रगतिशिल, साहित्यिक र सास्कृतिक आन्दोलनमा सामाजिक रुपान्तरण र राजनीतिक आन्दोलनको एउटा बहुआयामिक व्यक्तित्व जनगायक जेवी टुहुरे । लामो समय एमालेमा रहेर राजनीति गरेका टुहुरे तत्कालीन नेकपा माओवादी शान्ति प्रक्रियामा आएपछि नेकपा माओवादीमा लागेका थिए । स्वयम् प्रचण्डले समेतले अभिभावक मान्नेका टुहुरेलाई नेकपा माओवादीले संविधानसभा सदस्यसमेत बनाएको थियो । भदौ १० गते नेपाली राजनीति तथा सांस्कृतिक क्षेत्रले टुहुरेलाई गुमाएको पनि एक वर्ष पुगेको छ । उनी वि.सं.२००१ सालमा धरानमा जन्मिएका थिए ।