धरानः रममीण पर्यटकीय गाउँ घलेगाउँबाट शुरू भएको होमस्टे पछिल्लो समय विभिन्न जिल्लाको विभिन्न ठाउँमा होमस्टेहरू सञ्चालन भइरहेको छ । होमस्टेबाट मनग्य आम्दानी गर्न सकिने भएपछि विभिन्न गाउँमा होमस्टे सञ्चालनको तयारी भइरहेको छ ।
धरानमै पनि कृषि होमस्टेको तयारी थालिएको छ । धरान–४ वसन्तटारको गाउँमा कृषि होमस्टे सञ्चालनको तयारी थालिएको हो । ‘कृषि पेशा गरियो, गरियो, गरियो, व्यवसाय धेरै कुरासँग धेरै कुरा जोड्न सकिने रहेछ, त्योमध्ये पर्यटनचाहिँ महत्वपूर्ण रहेछ, कृषिसँग पर्यटन जोड्न सकियो भने पूर्णता प्राप्त गर्छ भन्ने कुरा हामीले बुझेका छौं, त्यही भएर कृषिसँग सम्बन्धित वस्तुहरूलाई स्थानीय सीप प्रयोग गरेर पारखीहरूलाई खुवाउने, बसाउने योजनामा छौं’, कृषक कृष्ण राई भन्छन् ।
लोकल वातावरणमा बसौं, लोकल तथा अर्गानिक खानेकुरा खाऔं भन्नेहरूका लागि यस्तो तयारी थालिएको उनले बताए । ‘सुरक्षित ढङ्गले यहाँ उत्पादन भएका अर्गानिक परिकारहरू स्थानीयकै सीप प्रयोग गर्दै यहाँ खानयोग्य वस्तु बनाएर होमस्टेमा प्रयोग गर्छौं ।’ उनले भने । यसले पर्यटकमा अर्गानिक खायौं, हामी स्वस्थ छौं भन्ने भान हुने उनको कथन छ । ‘सबै स्थानीय वस्तीमा उत्पादित सामग्री नै प्रयोग गर्छौैं’, उनले थपे, ‘अर्गानिक कृषि, माछा, बङ्गुर, गाई, बाख्रापालन सबै कृषिसँग सम्बन्धित तरिका अपनाउन लागिरहेका छौं, यसले बालकदेखि वृद्धसम्मलाई मनोरञ्जन प्रदान गर्छ भन्ने हाम्रो आशा हो ।’ उनले पर्यटक दुईदिन बसेपछि ३६५ दिन नै फ्रेस र खुशी बनाइने प्रयत्न गरिएको बताए ।
कृषि होमस्टेलाई साँच्चिकै चिटिक्क बनाएर लाने अभियानमा रहेपनि कतिपय स्थानीयले पत्याउने अवस्था नरहेको उनले बताए । धरान उपमहानगरपालिकाले तालिम दिएपनि कतिपय स्थानीयले अझै बुझ्न नसकेको उनको कथन छ । गाउँमा आर्थिक समृद्धि र पर्यटक भित्र्याउनका लागि स्थानीयबासीले अन्त्यमा साथ दिने उनले बताए ।
‘गाउँलेले यसअघि मैले अर्गानिक कृषिको कुरा गरिहँदा पत्याएनन्, पछि मैले परिश्रम गर्दै जाँदा र अर्गानिक गाउँ बनाउने अभियानमा लागेपछि सबैले साथ दिन थाले र अहिले वसन्तटार अर्गानिक गाउँ बनिसकेको छ । त्यस्तै, होमस्टेबारे पनि धेरैले नपत्याएका होलान् तर मैले एक घरबाट शुरू गरेको अभियान गाउँभर फैलाउने सोंच छ ।’ उनले भने ।
लोकल कुरालाई नै बढी जोड
यस गाउँमा आउने बाह्य तथा आन्तरिक पर्यटकले यहाँको प्राकृतिक, ऐतिहासिक एवं साँस्कृतिकको नयाँ फरक स्वाद पाउनेछन् । गाउँमा आउने पर्यटकलाई रितिरिवाज तथा संस्कृतिअनुसार दही, मोही साथै अन्य गाउँले परिकार चखाउने लक्ष्यका साथ आफूहरू लागी नै रहेको उनले बताए । उनका अनुसार स्थानीय परिकारसँगै गाउँकै लोकल कुखुरा, कोदोको ढिँडो, गुन्दु्रक, मकै, सागसब्जीलगायतका अर्गानिक खाना खुवाउने उनले खुलाए ।
उनकै घरमा उनीहरूको लागि आरामदायी सुत्ने कोठा, स्नानगृह, शौचालय लगायतको होमस्टेमा आवश्यक कुराहरू तयार गरिएको छ । ‘होमस्टे चलेपछि कतिपय खाली ठाउँ पनि पछि होमस्टेमा परिणत हुने आशा छ’, उनले भने, ‘गाउँलेलाई सक्दो बुझाउने प्रयासमा छु ।’ होमस्टे सञ्चालनमा आएपछि स्वरोजगारको सिर्जना हुनुका साथै स्थानीय परिकार र सँस्कृतिको समेत जर्गेना हुने उनको कथन छ ।
होमस्टेको प्रचुर सम्भावना
धरान हुँदै धेरै पर्यटक अन्यत्र लागेपनि यस ठाउँमा होमस्टे नभएका कारण पर्यटकको बसाइलाई लम्ब्याउन सकिएको छैन । तर होमस्टेबारे धरानबासी वा धरानकै गाउँमा ज्ञानको अभावका कारण यहाँ होमस्टे अझै सञ्चालनमा आउन नसकेको हो । ‘कोही पाहुनाहरू आएमा हामीसँग जस्तो छ त्यस्तै खुवाउने तयारीमा छौं’, कृष्ण भन्छन्, ‘होमस्टे भनेको के हो, त्यसबारेमा धरान–४ वसन्तटारबासीलाई केही जानकारी छैन ।’
भेडेटार पुग्न आन्तरिक र बाह्य पर्यटक यही बाटो भएर अघि बढ्ने गरेका छन् । खान र बस्नका साथै भरपर्दो पथप्रदर्शक भएमा उनीहरू केही समय बढी बस्ने यहाँका पर्यटक व्यवसायीहरू बताउँछन् । ‘त्यसैले पहिले त होमस्टेको अवधारणा र यसको फाइदाबारेमा जनतामा राम्रोसँग जानकारी दिनुपर्दछ यसका लागि स्थानीय सरकार तात्तिनुपर्छ ।’ उनले भने ।
होमस्टेमा पर्यटकको एक रातको बसाइ भनेको यहाँका जनताका लागि कम्तीमा पनि दुई हजारको आम्दानी हो । तर यसतर्फ यहाँका जनतामा सचेतना नभएकाले यो क्षेत्र पर्यटकीय दृष्टिमा पछाडि पर्न गएको उनको ठम्याइ छ ।