नेपाल राष्ट्र बैंकले प्रदेश १ को वार्षिक आर्थिक गतिविधि अध्ययन प्रतिवेदन २०७८/७९ सार्वजनिक गरेको छ । उक्त प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नं.१ को आर्थिक वृद्धिदर उपभोक्ता मूल्यमा ५.४१ प्रतिशत रहने अनुमान छ । अघिल्लो वर्षको सोही अवधिमा यस प्रदेशको आर्थिक वृद्धिदर ४.३४ प्रतिशत रहेको थियो ।
त्यसैगरी सेवा क्षेत्रमा आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नं. १ मा होटलहरुको औसत अकुपेन्सी दर ४०.४ प्रतिशत रहेको छ जुन अघिल्लो वर्षको तुलनामा २५.७ प्रतिशतले बढेको देखिएको छ ।
अघिल्लो आर्थिक वर्षमा उक्त होटलहरुको औसत अकुपेन्सी दर १४.८ प्रतिशत रहेको थियो । समीक्षा अवधिमा यस प्रदेशका होटलहरुमा आन्तरिक पर्यटकको संख्या ५८.४ प्रतिशत र बाह्य पर्यटकको संख्या ३०८.३ प्रतिशतले बढेको छ ।
त्यस्तै, यस प्रदेशका नमूना छनोटमा समेटिएका उद्योगहरुको औसत क्षमता उपयोग ५२.६ प्रतिशत रहेको छ । २०७७/७८ मा उक्त उद्योगहरुको औसत क्षमता उपयोग ५३.४ प्रतिशत रहेको थियो ।
विशेषगरी तयारी लत्ता कपडा उत्पादन गर्ने गार्मेण्ट उद्योग, सिन्थेटिक कपडा, फलामे छड तथा पत्ती, चप्पल जस्ता वस्तुहरु उत्पादन गर्ने उद्योगको क्षमता उपयोगमा कमी आएकाले उद्योगको औसत क्षमता उपयोगमा केही कमी आएको देखिन्छ । प्रदेश नं. १ का नमूना छनोटमा परेका उद्योगहरुको पछिल्लो पाँच वर्षको औसत क्षमता उपयोग ५७.८ प्रतिशत रहेको छ ।
उत्पादित वस्तु अनुसार समीक्षा वर्षमा तोरीको तेल उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा बढी ९२.० प्रतिशत रहेको छ भने वनस्पती घिउ उत्पादन गर्ने उद्योगको क्षमता उपयोग सबैभन्दा कम ५.४ प्रतिशत रहेको छ ।
त्यस्तै, समीक्षा वर्षमा ९० कि.मि. सोलु कोरिडोर १३२ के.भी. प्रसारण लाइन आयोजना र कोसी करिडोर अन्तर्गतको १०६ कि.मि. ईनरुवा—बसन्तपूर—बानेश्वर—तुम्लिङटार २२० के.भी. प्रसारण लाइन आयोजना निर्माण सम्पन्न भएको छ । समीक्षा वर्षमा कोशी–तमोर कोरिडोर सडक आयोजनाको निर्माण कार्य सम्पन्न भएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले आर्थिक वर्ष २०७८/७९ को मध्यसम्म कोभिड १९ का कारण अर्थतन्त्र केहि हदसम्म प्रभावित भएतापनि वर्षको अन्त्यमा अर्थतन्त्रमा यसको प्रभाव नरहने, आर्थिक विकासका गतिविधिहरु निरन्तर रुपमा सुचारु भई अर्थतन्त्र चलायमान हुने र अर्थतन्त्रमा अन्य कुनैपनि संकट देखा नपर्ने अनुमानका आधारमा आर्थिक वर्ष २०७८/७९ मा अर्थतन्त्रको आर्थिक वृद्धिदर आधार मूल्यमा ५.४९ प्रतिशत र उत्पादकको मूल्यमा ५.८४ प्रतिशत हुने अनुमान रहेको छ ।
अघिल्ला वर्षको सोही अवधिमा यस्तो वृद्धिदर क्रमशः ३.८३ र ४.२५ प्रतिशत रहेको थियो । आर्थिक वर्ष २०७७/७८ मा आधार मूल्यमा कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धिदर क्रमशः २.८५ प्रतिशत, ४.५१ प्रतिशत र ४.१९ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७८/७९ मा कृषि, उद्योग र सेवा क्षेत्रको वृद्धिदर आधार मूल्यमा क्रमशः २.३० प्रतिशत, १०.१९ प्रतिशत र ५.९३ प्रतिशत रहने अनुमान गरेको छ ।
आर्थिक वर्ष २०७७/७८ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदानको हिस्सा क्रमशः २४.९ प्रतिशत, १३.७ प्रतिशत र ६१.४ प्रतिशत रहेकोमा र आर्थिक वर्ष २०७८/७९ मा कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको २३.९ प्रतिशत, उद्योग क्षेत्रको १४.३ प्रतिशत र सेवा क्षेत्रको ६१.८ प्रतिशत योगदान रहने विभागको अनुमान रहेको छ ।
मुख्य औद्योगिक वर्गीकरण अनुसार कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २३.९ प्रतिशत र गैर–कृषि क्षेत्रको योगदान ७६.१ प्रतिशत रहने अनुमान छ । औद्योगिक वर्गीकरण अनुसार आर्थिक विकासका गतिविधिहरुको मापन गर्दा राष्ट्रिय तहमा कृषि, वन तथा मत्स्यपालनको योगदान सबैभन्दा बढी रहेको छ भने थोक तथा खुद्रा व्यापार, घरजग्गा कारोवार सेवा र शिक्षा क्रमशः दोस्रो, तेस्रो तथा चौथो स्थानमा रहेका छन् ।
राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७७/७८ को तुलनामा आर्थिक वर्ष २०७८/७९ मा प्रदेश नं. १ मा समग्र कृषि बालीले ढाकेको क्षेत्रफल ०.९ प्रतिशतले घटेर १० लाख ४१ हजार १ सय ८६ हेक्टर कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो क्षेत्रफल १.५ प्रतिशतले बढेको थियो । समीक्षा वर्षमा मकै, गहुँ र कोदोले ढाकेको क्षेत्रफल घटेकाले समग्र कृषि बालीले ढाकेको क्षेत्रफल घटेको देखिन्छ ।
यस प्रदेशमा समग्र कृषि उपजले ढाकेको क्षेत्रफलमध्ये खाद्य तथा नगदे बालीले ढाकेको क्षेत्रफलको हिस्सा ८७.६ प्रतिशत, तरकारी बालीको ५.४ प्रतिशत, फलपूmलको २.९ प्रतिशत, मसला बालीको २.७ प्रतिशत र चिया तथा कफीको १.४ प्रतिशत रहेको छ । कृषि उपजले ढोकेको कुल क्षेत्रफलमा धान, मकै, गहुँ र कोदो बालीले ढाकेको क्षेत्रफलको हिस्सा ७१.६ प्रतिशत रहेको छ ।
त्यस्तै, क्षेत्रगत कृषि कर्जामा २०७९ असार मसान्तसम्ममा प्रदेश नं. १ मा प्रवाहित कुल कर्जा प्रवाह मध्ये कृषि क्षेत्रमा प्रवाहित कर्जाको अंश १०.० प्रतिशत रहेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जाको अंश ९.६ प्रतिशत रहेको थियो । २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट प्रदेश नं. १ को कृषि क्षेत्रमा प्रवाहित कर्जा १७.८ प्रतिशतले वृद्धि भई रु.५४ अर्ब ५२ करोड पुगेको छ । २०७८ असार मसान्तसम्म यस क्षेत्रमा प्रवाह भएको कुल कर्जा रु.४६ अर्ब २९ करोड रहेको थियो ।
२०७९ असार मसान्तसम्म कृषि कर्जाका विभिन्न शीर्षकमध्ये अन्य कृषि तथा कृषिजन्य सेवामा २५.१ प्रतिशत, पशुपालनमा २४.५ प्रतिशत, अन्नबालीमा १८.३ प्रतिशत पंक्षीपालनमा ७.७ प्रतिशत र तरकारी बाली उत्पादनमा ५.६ प्रतिशत कर्जा प्रवाह भएको छ ।