https://youtu.be/d4CDIKcSJE4
धरानः न त होर्डिङ बोर्ड न त कहीँकतै प्रचारप्रसार । छ त केवल तीनवटा ठीक्कको कोठा । सधैं पाक्छ सबै प्रकारका मासु र भात । तर बिनाहोर्डिङ बोर्ड, बिना प्रचार नै चलेको छ धरान–७ पानमारा बस स्टेण्ड जाने बाटो छेऊको होटल । टिकामाया र डिम्पल श्रेष्ठ सासु–बुहारी हुन् । सासु–बुहारीको फापेको होटल भन्दा पनि हुन्छ यो । कहिले सासु, कहिले बुहारी खट्छन् होटलमा ।
महङ्गीमा दाल–भात तरकारी नै २–३ सयदेखि ४ सयसम्ममा बेच्ने धेरै होटेल रेस्टुरेन्ट धरानमै छन् तर यस्तो महङ्गीको समयमा पनि १ सय ५० रूपैयाँमा मासु–भात खुवाइ रहेका छन् सासु–बुहारीले । जुन सुन्दा तपाईलाई विश्वास नलाग्ला तर चाखेपछि थाहा पाइहाल्नुहुन्छ सुपथ मूल्यमै पाइन्छ मासुभात । भातसँगै तरकारी, अचार पनि । मासु सुँगुर, राँगा, लोकल कुखुरा, कुखुराको जाँते, खसी जे खाएपछि १५० नै ।
यहाँ मजदुरदेखि धरानमा घर भएकाहरू पनि आउँछन् । उनीहरूको भोजनालयमा धेरै जसो सार्वजनिक बसमा मजदुरी गर्ने र धरानका धनाढ्य परिवारका पनि आउने गर्छन् । सस्तोमा मासु–भात खाना पाउँदा ग्राहकहरू सन्तुष्टि भएर जान्छन् । ‘साह्रै मीठो, सस्तो र सफा–सुग्घर भएर पनि कहिलेकाहीँ आइरहन्छु’, कारमा आएका धरान–७ का विक्रम लिम्बूले भने ।
१ सय ५० रूपैयाँमा मासु–भात बेचेर पनि मासिक १ देखि २ लाखसम्म आम्दानी गरिरहेको डिम्पलले बताइन् । ‘स्टाफदेखि सामग्रीसम्मको सबै खर्च कटाएर मासिक ९० हजारजति बचाउँछु’, उनले भनिन्, ‘कहिलेकाही कमै हुन्छ तर पनि सन्तुष्ट छु ।’
उनीहरूको भोजनालयमा हरेक दिन ग्राहकको लाइन लाग्छ । बिहान ८ बजेदेखि २ बजेसम्म निरन्तर चलिरहन्छ । ‘सबैभन्दा ठूलो कुरा सफा–सुग्घर, सस्तो र स्वादिलो बनाएपछि त्यसै ग्राहक रमाएर आइपुग्छन्’, डिम्पलले भनिन्, ‘धेरै वर्षअघिदेखि यसरी नै चलिरहेको छ ।’ दिनमा ४० देखि ५० केजी चामल, ३० देखि ४० केजीसम्म मासु पाक्ने उनले बताइन् । ‘कहिलेकाहीँ अलि घट्छ, नत्र सधैं यस्तै हो’, उनले थपिन्, ‘वर्षायाममा सार्वजनिक बस हिलाम्मे हुँदै समयमै आइपुग्दैनन्, अलि कम हुने हो ।’
उनीहरूको स्थायी घर धनकुटा हो । अहिले धरानमै घडेरी जोडिसकेका छन् । छोराछोरी धरानको विजयपुर स्कुलमा पढाउँदै आएका छन् । ‘राम्रो सेवा, सत्कार दिए जे पनि चल्छ, राम्रो गरे नेपालमै दाल–भात खाँदै कमाउन सकिन्छ ।’ उनले भनिन् ।
भातसँगै ग्राहकलाई मुस्कान बाँढ्दै डिम्पल भन्छिन्, ‘धेरै विदेश पुग्छन्, नेपालमै मिहिनेत गर्न चाहँदैनन् तर मलाई यही विदेश । कम्तीमा खल्तीमा एक सय ५० रूपैयाँ हुनेलाई पनि मज्जाले खान दिएको छु अनि सन्तुष्टि पनि लिएको छु ।’
सस्तोमा बेच्दा नाफा कति हुन्छ त ? उनी हाँस्दै भन्छिन्, ‘नाफा भनेको त मुस्कान हो अनि सन्तोष हो अनि कसैको दबाबरहित भएर बाँच्ने जीवनशैली हो । हामीले दैनिक बिहान सामान खरिद गर्छौ र खानेकुराहरू तयार गर्छौ हामी आफूले पनि यही खान्छौं । आजसम्म कुनै पनि ग्राहकले हाम्रोमा खाएर बिरामी भएको भन्ने सुनेका छैनौं । हाम्रो पहिलो आधार नै घरको स्वादमा खाना दिने प्रयास हो । सस्तोमा धेरैजनालाई बेचेर जति आउँछ त्यो नै नाफा हो । जति आएपनि सन्तुष्टि ।’
https://youtu.be/d4CDIKcSJE4