धरानः विदेशको भूमिमा पसिना बगाएर फर्किएका चन्द्रकुमार सुब्बा आत्मनिर्भर बनेका छन् ।
गरिबीको कारण पैसा कमाउन वैदेशिक रोजगारीमा साउदी गएपनि पैसा कमाउन नसकेर फर्केपछि उनलाई व्यवसायमा लाग्ने सोच आयो । यही पेसाबाट अहिले परिवारको गुजारा भइरहेको समेत उनी बताउँछन् । ‘साउदीमा धेरै दुःख गरियो, तर १५ वर्ष बस्दा पनि परिवार र घर व्यवहार टार्नै समस्या थियो, कहिलेकाहीँ त पैसा नहुँदा समस्या समेत हुन्थ्यो’, उनले थपे, ‘तर अहिले आएर आफ्नै व्यवसाय थालेपछि आत्मनिर्भर छु ।’
उनी पैसा कमाउन विदेश गए अनि रित्तो हात आए ‘व्यवसायमा लाग्नेबाहेक अरू विकल्प नै भएन’, उनले भने, ‘अहिले खुसीसाथ जीवन गुजारा भइरहेको छ ।’ ताप्लेजुङ थेचम्बु घर भएका उनले धरान–१२ स्थित चतरालाइनमा खोलेको ‘थेचम्बु आल्मुनियम’ ले अहिले राम्रो कमाइ दिइरहेको छ । उनकी श्रीमती पनि अहिले सन्तुष्ट रहेको बताउँदै उनी भन्छन्, ‘परिवारै छोडेर जानुको विकल्प थिएन तर अहिले सोचेको व्यवसायप्रति म पनि खुसी छु र परिवार पनि । वार्षिक राम्रो आम्दानी छ, अब विदेश जानुको सट्टा यही व्यवसायलाई निरन्तरता दिने सोच बनाएको छु ।’
यही व्यवसायले उनले घडेरी पनि जोडेका छन् । ‘बाहिर गएर कमाएको त के कुरा गर्नु, विदेश गएर केही गरिएन, खान लाउन पनि धौ धौ तर अहिले यो व्यवसायबाट घडेरी जोडेको छु, दुईवटा स्कुटी किनेको छु ।’ उनले थपे, ‘गरौं भन्ने सोंच पाल्ने हो भने नेपालमै केही छ ।’
उनले गरेको व्यवसायमा उनी मात्रै निर्भर छैनन् अहिले ७ जना बढीले त्यही रोजगारी पाएका छन् । ‘मबाट काम सिक्दै जानेहरूले धरानका धेरै ठाउँमा पसल खोलेका छन्’, उनले भने, ‘जेहोस् मबाहेक धेरैजनाले रोजगारी पाएका छन्, यसमा पनि धेरै सन्तुष्ट छु ।’ यही व्यवसायबाट अहिले परिवार धान्दै, छोराछोरी बोर्डिङमा पढाउन सफल बनेको उनको कथन छ । ‘अहिले लाग्न थालेको छ, मेहनत आफ्नै भूमिमा गर्न सकियो भने सुनै फलाउन सक्छौं । हामी नेपाली स्वेदशमा मेहनत गर्दैनौं । विदेश गएर पछुताउँछौं । नेपालमै सबै कुरा सम्भव छ भन्ने उदाहरण पनि मैले दिए जस्तो लाग्छ ।’ ‘देशमा रोजगारीको अवसर नहुँदा युवा विदेशिन बाध्य भइरहेका छन् ।’ उनले भने ।
‘विदेशमा धेरै दुःख गरेर पैसा कमाउन सकिनँ । त्यहाँ छँदै उनीले अठोट पनि गरे– स्वदेश फर्केर यही पेशा अपनाउने । हुन पनि हो उनी विदेशमा पनि यही आल्मुनियम कम्पनीमा काम गर्थे । ‘साउदीमा धेरै दुःख गरियो तर पनि सिकियो’, उनले थपे, ‘त्यही विदेशमा सिकेको सीप अहिले काम लागेको छ,’ उनले भने । विदेशको दुःखले नै सिकायो भन्ने उनले भने, ‘विदेशको कम्पनीका मालिकले कुकुर, गोरू समेत भने, कुट्नै पनि खोज्थे तर पनि अठोटले भएपनि सिकेर बसें’, उनले थपे, ‘त्यही दुःख गरेर सिकेको सीप नै अहिले काम लाग्दो छ, अहिले धरानमा त्यसैले गाँसबास दिएको छ ।’
अहिले उनकोबाट आल्मुनियम व्यवसायले गति लिँदो छ । दिनकै ३०–४० हजारको खपत हुने गरेको उनले बताए । ‘धरान नगरपालिका र आन्तरिक राजश्व कार्यालयमा राजश्व तिरेपछि अन्य कमाएको पैसाले व्यवसायमै थप्दै जान्छु ।’ उनले भने । विशेषतः आल्मुनियमबाट उनले किचनको सामग्री निर्माण गर्नेदेखि झ्यालढोका बनाउनेसम्म उनले साउदीमै सिकेका हुन् ।
धरानभर आल्मुनियमकै सामग्री बनाउने प्रचलन बढ्दो छ । अहिले आल्मुनियमको सामग्री प्रयोग नगर्ने कमै छन् । जहाँ, जसको घरमा हेरे पनि वा अफिस आदिमा पनि आल्मुनियमले सजाएको भेटिन्छ । ‘काठको घरभन्दा यस्तो घरको मूल्याङ्कन हुने भएकाले पनि धरानमा आल्मुनियम व्यवसायकै दबदबा रहेको छ’, उनी भन्छन् । काठभन्दा सस्तो, लुक्समा राम्रो, आयु धेरै, पानीले नबिगार्ने, नपसाङ्गिने, घामले भेटेपनि केही नहुने हुनाले यसको माग उच्च भएको उनको भनाइ छ । धरानमा मात्रै ४०–५० वटा आल्मुनियमका पसल छन् ।
धरानको व्यवसाय गर्नेहरू बढेका छन् । दाम फरक फरक छ । यसले समस्या छ । पूरा सीप नसिकेका, आधाउधी काम गरिरहेकाहरूले व्यवसाय गर्न थालेपछि समस्या थपिएको उनले बताए । ‘केही समय काम गरयो अनि व्यवसाय थाल्यो, कामै राम्रो भएन, फिनिसिङ भएन भन्दै गुनासो सुनिन थालिएको छ, यसले गर्दा उपभोक्ताले पत्याउन छाडेका छन्’ उनले थपे, ‘यस्तै कारण पनि व्यवसायमा समस्या छ ।’