मोरङः आजभोलि मानिसको बानी परिवर्तन भएको छ । धेरै समय व्यस्त हुने मानिसहरु फुर्सदको समयमा नयाँनयाँ ठाउँमा घुमेर रमाउने र आनन्द लिने गर्दछन् । छोटो समयको फुर्सदमा उनीहरु नजिकै रहेको स्थानमा गएर प्राकृतिक सौन्दर्यताको अवलोकन गर्दछन् । स्थानीय रहनसहन र रितिरिवाजहरुको अवलोकन गर्ने बानी विकास हुँदै गएको छ । यसैले गर्दा पूर्वाञ्चलका इलाम, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, झापा र मोरङका कतिपय स्थानहरुमा आन्तरिक पर्यटनको संख्या बढिरहेको छ ।
पूर्वी नेपालका पर्यटकीय स्थानहरुमध्ये मोरङको जेफाले नयाँ र मनोरम गन्तव्य हो । प्राकृतिक सौन्दर्यले भरिपूर्ण, शान्त दृश्यावलोकनको हिसावले जेफालेले विस्तारै धेरै आगन्तुकहरुलाई आकर्षित गरिरहेको छ । सोझा र इमान्दारहरुको बस्ती, पाहुनाहरुलाई स्वागत गर्ने तत्परता, पर्यटकीय क्षेत्रको नयाँ गन्तव्यको रुपमा विकास गर्ने अठोट, संस्कृति झल्काउने हुर्रा नाचको मनोरञ्जन, त्यस ठाँउमा स्थापना गरिएको होमस्टे आदिले एक पटक त्यस जेफाले पुग्ने व्यक्तिहरु फेरी फेरी पनि जान इच्छा गर्दछन् । जेफालेको विकास गर्न यतिबेला जिल्ला विकास समिति धनकुटा, जिल्ला विकास समिति मोरङ, विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समिति लगायतका सरकारी निकायहरुले चासो दिएका छन् । सुनसरी, मोरङ र धनकुटाको चौबीसे क्षेत्रको एकीकृत पर्यटन विकासलाई संयोजन गर्न जेफालेमा पर्यटन सूचना केन्द्र स्थापना भएको छ । आन्तरिक पर्यटन विकासको प्रचुर सम्भावना बोकेको जेफाले डाँडामा पर्यटन सूचना केन्द्र स्थापना भएपछि पर्यटकले पनि राहत महसुस गरेका छन् । विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिको आर्थिक सहयोग तथा जेफाले पर्यटन समितिको सहकार्यमा करिव ६ लाख रुपैंयाको लागतमा सूचना केन्द्र स्थापना भएको हो । जेफाले पुग्ने मोटरबाटो, बिजुली बत्तीको व्यवस्था, पिउने पानीको आपुर्ति, कञ्चनजंघादेखि मकालु र सगरमाथा हिमालको साथै पूर्वाञ्चलको १६ वटै जिल्ला देख्न सकिने यो डाँडामा भ्यु टावर निर्माण, त्यहाँसम्म पुग्न ९ सय वटा खुड्किला निर्माण भइरहेको विराट क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका अध्यक्ष भविस कुमार श्रेष्ठले बताए । दुर्गम ठाउँहरुमा भौतिक पुर्वाधार विकास गर्न होमस्टे स्थापना गरेर आय आर्जनमा ध्यान दिन अध्यक्ष श्रेष्ठले आग्रहसमेत गरे ।
तराईबाट २४ किलोमिटर पहाडी यात्रा गरेपछि पुगिने जेफाले डाँडा समुन्द्र सतहबाट एक हजार ९ सय ५० मिटर उचाइमा छ । डाँडामाथि शिव पार्वतीको मन्दिर निर्माण गरिएको छ । मृग, हरिण, बँदेल जस्ता जंगली जनावर र कालिज लगायतका चराचुरुङ्गीहरुले जेफालेको सुन्दरता अझ बढाएको स्थानीयवासी बताउँछन् । जेफाले पर्यटन विकास समितिका अध्यक्ष डिल्ली अधिकारीले जेफाले डाँडालाई कोरीबाटी गरेर सजाउनतिर सबै लागेको बताउनुभयो । जेफालेको विकास गर्न सके त्यस क्षेत्रबासी रोजगारीका लागि बसाई सर्नु पर्ने विगतको पीडादायी अवस्था अन्त्य हुनेमा अधिकारी विश्वस्त छन् ।
जेफाले डाँडाबाट पूर्वाञ्चलको १६ वटै जिल्ला, पूर्वमा मेची नदी तथा पश्चिममा कमला नदी र उत्तरतर्फ कञ्चनजंघा, मकालु, सगरमाथा लगायतका हिमालहरु प्रष्ट देख्न सकिन्छ । त्यसबाहेक तराईका सुन्दर फाँटको अवलोकन, बिहानको सुर्योदय र साँझको सूर्यास्तको लोभलाग्दो दृष्य अवलोकन गर्न जेफाले डाँडाले आकर्षित गर्ने गरेको छ । पर्यटन विकास लागि सिंहदेवी–५ बिहीबारेमा सात वटा घरमा होमस्टे स्थापना भएका छन् । जेफाले डाँडामा पर्यटक आकर्षित गर्न स्थानीयले पनि पर्यटनमैत्री वातावरण बनाउनुपर्ने पर्यटनविद् डाक्टर सोम खतिवडाले बताए । जेफालेले दिएको सत्कार, सद्भाव र पर्यटकलाई दिने महत्वले गर्दा एक पटक यहाँ पुगेका व्यक्तिहरु फेरी फेरी पनि त्यहाँ पुगिरहने गरेको पूर्वाञ्चल क्षेत्रीय पर्यटन कार्यालय काँकडभिट्टाका प्रमुख पिताम्वर बजगाईले स्मरण गरे । स्थानीय उत्पादनमा आधारित खाद्यान्नहरुबाट पाहुनालाई स्वागत गर्ने हुर्रा नाँचेर सांस्कृतिक मनोरञ्जन प्रदान गर्ने र त्यहाँको प्राकृतिक सुन्दरता, वातावरणीय आनन्द तथा जेफाले डाँडाबाट देखिने दृष्यको प्रचार गरेर जेफालेले झापा, मोरङ, सुनसरी र भारतको विहारका पर्यटकहरुलाई आकर्षण गरिरहेको छ । जेफालेमा एक दिनमा ५० व्यक्तिलाई बास बस्ने र खाना खुवाउनसक्ने व्यवस्था रहेको स्थानीय होमस्टे सञ्चालक भीम ठकुरीले जानकारी दिए । धनकुटा, पाँचथर, तेह्रथुमलगायतका जिल्लाबाट पैदल यात्रा गर्दै मोरङको केरावारी लेटाङ हुँदै विराटनगर आउने मार्ग भएको र स्थानीय व्यापारिक केन्द्र भएकाले पनि भविष्यमा जेफालेको पर्यटकीय सम्भावना बलियो देखिन्छ । यसका लागि राज्य र स्थानीयबासिन्दाले पनि ठोस पहल गर्नु आवश्यक छ ।