धरानः धरान–५ स्थित बराह ज्वेलरी अगाडि सडकमा जेब्राक्रस निर्माण भएका छन् । केहीदिनअघि एक युवती वृद्ध आमाको हात समातेर बाटो काट्दै थिइन् । त्यतिबेलै पहाडतर्फ उक्लिने बस त्यहाँ अगाडि टक्क रोकियो र पहाड जान लागेका एकजना व्यक्तिलाई हतारहतार चढाए । उताबाट हुइँकिएर आएको मोटरसाइकलले वृद्धलाई झन्डै हान्यो । उनको सातो गयो । डरले जेब्रा क्रसबाट पछाडि हट्ने क्रममा सडकमै झन्डै लडिन् ।
त्यतिबेलासम्म ती वृद्धआमा र युवती बाटोमै रोकिए र एकछिन सवारी आवतजावतमा समस्या भयो । त्यसको केही समयपछि मोटरसाइकलमा जोडले हर्न बजाउँदै एक युवा बत्तिँदै आए । बाटो काटिरहेको यात्रु सामु उनले हर्न बजाउँदै यात्रुलाई पार हुन नदिई नियम मिच्दै उनी हुइँकिए । धरानमा ट्राफिक नियम मिच्नेहरु बढ्न थालेका छन् । ट्राफिक नियम उल्लङ्घन गर्नेदेखि सडकपेटी ओगट्नेसम्मले नियम नबुझेर नभई जानाजान र दोहो¥याइ तेहे¥याइ त्यसो गर्ने गरेका छन् ।
धरानको मुख्य सडक, छाताचोक, भानुचोक, माछाभौडी, देशीलाइन, पुतलीलाइन, सब्जीमण्डी, कलेज रोड आदिमा केहीदिनअघि बसेर रमिता हेरियो । धरानको मुख्य सकडमा राखिएको जेब्राक्रसमै झ्याप्प ब्रेक मारेर यात्रु चढाएको समेत देखियो । झन्डै दुई घण्टाको अवधिमा ३० भन्दा बढीले मिचाहा प्रवृत्ति देखाएको पाइयो । जेब्राक्रसको कुरा छाडौं सडकको बीचमा देखिने गरिएको कोरिएको धर्का (लेन) भन्दा यताउता गर्दै मिचाहा शैलीमा बस, मोटरसाइकल चलाएको देखियो । बाटोको जेब्राक्रसमै यात्रु चढाउने र ओराल्ने काम गरे । भनौं अहिले धरानका सडकमा चर्को स्वरमा हर्न बजाउँदै बस र मोटरसाइकलहरु बेमतलब शैलीमा हुइँकिएका छन् सडकमा । जेब्राक्रसमा बाटो काट्दै गरेका यात्रुलाई तनाव दिनेमा मोटरसाइकल र बस नै बढी देखिए । जेब्राक्रसमा कोही यात्रु बाटो काट्दै गरेको देखेपछि टाढैबाट हर्न दिँदै आएको सानो भ्यानदेखि बस, मोटरसाइकलसम्म देखिए । जेब्राक्रसिङमा रोक्ने कुरा छोड्नुस् सेतो धर्का छुन पनि पाउँदैनन् सवारी साधनले । जेब्राक्रसिङमा कसैले कुनै सवारी साधन रोकेको थाहा पाए ठाउँको ठाउँ कार्वाही हुन्छ ।
मोटरसाइकल चालक थप अराजक देखिए । जान हुनु नहुने जता पनि गइदिन्थे । जेब्राक्रसमा यात्रुसँग हर्न बजाउने बाटो काट्ने मोटरसाइकल चालकले पटक्कै लाज मानेनन् । पेटीमा हर्न बजाउँदै मोटरसाइकल र स्कुटी हाँक्ने तन्नेरी पनि धेरै देखिए । ‘चालकको यो ज्यादती नियन्त्रण गर्नु सबैको आवश्यकता हो’, धरान–१६ का विक्रम राई भन्छन्, ‘दायित्व त सबैको हो । तपाईंको, मेरो र यात्रुको पनि, त्यसैले सबैले यसतर्फ ध्यान दिनु आजको आवश्यकता हो ।’ उनी जेब्राक्रसमा रोक्ने सवारी चालक साथै सडकको लाइन (लेन) भन्दा बढी पुग्दै सडक मिच्दै हिँड्ने र मोटरसाइकलको स्वरुप परिवर्तन गर्दै हर्न बजाउँदै आतङ्कित तुल्याउनेलाई कारवाही हुनुपर्ने बताउँछन् ।
गल्ती गर्दा थोरै जरिवाना तिर्दा हुने छुटले समाजमा कानून नमान्ने प्रवृत्ति बढ्दै गएको धरान–१० का मिलन राईको कथन छ । शहरिया युवामा नियम–कानून नमान्ने र जरिवाना तिर्नै परे पनि केही जस्तो नमान्ने प्रवृत्ति बढेको उनको भनाइ छ । ‘यस्तो प्रवृत्ति बढ्दै जानु राम्रो होइन ।’ उनले थपे । सडकमा हर्न बजाउँदै, बाटोको लेन मिच्दै मोटरसाइकल (विशेषतः अहिले बुलेट बाइक) चलाउनु हेपाहा प्रवृत्ति भएको बताउँदै उनी यसले असभ्य, मिचाहा र अराजक बन्ने गरेको तर्क गर्छन् । पढेलेखेका शहरियाहरूले जानाजान कानुन मिचिरहेको उनको भनाइ छ । शहरमा खास गरेर ट्राफिक नियम नमान्ने प्रवृत्ति संस्कारकै रूपमा बढेको उनको तर्क छ । लेन मिच्ने, अराजक तरिकाले सवारी हाँक्नेलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ ।
विशेषगरी यहाँ चल्ने मोटरसाइकल र बसहरुमा प्रेसर हर्न प्रयोग भएकै हुन्छ । सडकमा खटिएका ट्राफिक प्रहरीका आसपास प्रेसर हर्न प्रयोग भए मात्रै कारवाही सम्भव हुने भएकाले त्यस्ता प्रयोगकर्ता उम्किने गरेका छन् । प्रेसर हर्नका कारण मानव स्वास्थ्यमा गम्भीर असर पर्ने र अरु चालकलाई समेत असर पुग्ने भएपछि केही वर्षअघि ट्राफिक प्रहरीले त्यस्ता हर्न निकाल्ने र चालकलाई जरिवाना गर्ने अभियान नै चलाएको थियो । अहिले अभियान नै चलेको छैन । घुम्ती सडक हुने भएकाले दुर्घटनाबाट जोगिनका लागि लामो दूरीमा चल्ने गाडीका लागि प्रेसर हर्न आवश्यक हुन्छ । सामान्य गाडीको हर्न १ सय डेसिबल क्षमताको हुने भएपनि प्रेसर हर्न त्यो भन्दा निकै बढी हुने हुँदा त्यसले मानिसको श्रवण शक्तिमा असर पर्छ ।
जेब्राक्रसमा गाडी रोकेर यात्रुलाई बाटो काट्न दिनुपर्ने प्रावधान छ, पालना छैन
यातायात सम्बन्धी कानुनमै जेब्रा क्रसमा गाडी रोकेर पैदलयात्रुलाई बाटो काट्न दिनुपर्ने प्रावधान छ । तर यो पनि पालना हुन सकेको छैन ।
धरानका धेरैजसो चोकमा चोकमा जेब्रा क्रस छ । तर, बाटो काट्दा ज्यानकै बाजी लगाउनुपर्छ । धरानका जेब्रा क्रस काट्दा ज्यानकै बाजी लगाउनुपर्छ । मोटरसाइकल तथा गाडी चालक जेब्रा क्रसमा रोकेर पैदलयात्रुलाई बाटो काट्न दिँदैनन् । झन् जेब्रा क्रसमै गाडी गुइँक्याउँछन् । उल्टै बाटो काट्ने तर्कनुपर्छ ।
जेब्राक्रसिङमा बाटो काट्दै गरेका यात्रुलाई हर्न बजाएर भगाउनमा निजी सवारी चालक खप्पिस छन् भने सार्वजनिक सवारी साधनहरु जेब्राक्रसिङमै यात्रु चढाउने र झार्ने काम गर्छन् ।
चालक बत्तिँदै आएर जेब्रा क्रसमा रोकिनैपर्ने अवस्था आउँदा पैदलयात्रुलाई सास्ती मात्र होइन दुघर्टनासमेत हुने गरेको छ । यो क्रम अझै बढ्दो छ तर हाम्रो चेतनाको स्तर भने बढ्न सकेको छैन । ठूलो गाडी चढेर हिँड्ने, समाजमा उच्च प्रतिष्ठा बनाएको व्यक्तिले समेत जेब्रा क्रसमा जोडले हर्न बजाउँदै बत्तिन्छ र पैदलयात्रुलाई वेवास्ता गर्छ भने हाम्रो चेतनाको स्तर कहाँ छ ? अनुमान लगाउन सकिन्छ ।
‘आफैलाई समेत मारौंलाजस्तो गरेर कुदाउँछन्’, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तुलबहादुर क्षत्री भन्छन्, ‘समात्न सकेकालाई कारवाही पनि गरेका छौं ।’ प्रहरीलाई देख्नेवित्तिकै कब्सको भाषा साथै मामा भन्ने गरेको देख्नेवित्तिकै भाग्ने उनको भनाइ छ ।
कतिपय त कम्पनीले पनि यस्ता प्रकारका बाइक भित्र्याएको कारण समस्या भएको उनको भनाइ छ ।
प्रेसर हर्न र मोडिफाइ बाइक आतङ्क, चालक अझै अराजक
प्रेसर हर्न र मोडिफाइ गरिएको बाइक साथै बसले धरानमा आतङ्कै मच्चाउने गरेका छन् । प्रेसर हर्न राख्ने बस, मोटरसाइकल साथै मोडिफाइ गरी चर्को आवाज निकालेर कुदाइने मोटरसाइकलबाट आउने आवाजले आतङ्क नै मच्चाएको हो ।
सर्वसाधारणको धेरै गुनासो बढेपनि ट्राफिक प्रहरीले काम गर्न सकेको छैन । केही वर्षअघि यस्ता मोडिफाइ साथै प्रेसर हर्न निकाल्ने मोटरसाइकललाई समातेर कारबाही गर्ने अभियान नै चल्ने गर्दथ्यो तर अहिले त्यो छैन ।
‘पछिल्लो समय ध्वनि प्रदूषण गर्ने बाइक र गाडीलाई समाउँदै कारबाही गर्ने गरिन्थ्यो तर केही वर्ष भयो त्यो हुन सकेको छैन ।’ एक सर्वसाधारण नाम नछाप्ने शर्तमा गुनासो पोख्छन् । मोटरसाइकलको साइलेन्सर पाइपको स्वरुप परिवर्तन गरेर चर्को आवाज निकाल्दै अनावश्यक रुपमा ध्वनी प्रदुषण गर्दै हिँड्ने, चर्को आवाजमा पड्किने गरी स्वरुप परिवर्तन गरिन्छ ।
यसअघि प्रेसर हर्न जडान गरिएका गाडीलाई समातेर हर्न निकाल्ने र साइलेन्सरमा प्वाल पारेर चर्को आवाज निकाल्ने ड्युक, पल्सर, बुलेट लगायतका मोटसाइकल समातेर साइलेन्सर निकालिदिने साथै जरिवाना गर्ने गरिएको थियो । विशेषतः अहिले बुलेट मोटरसाइकल साथै अन्य कम्पनीका मोटरसाइकल मोडिफाइ गरी आतङ्क सिर्जना गर्दै आएको सर्वसाधारणको गुनासो छ । ट्राफिक नियम अवज्ञा गर्नेमा सबैभन्दा बहादुर देखिन्छन् मोटरसाइकल चालक ।
जेब्राक्रसिङमा बाटो काट्नेलाई हर्न बजाएर भगाउनुलाई सामान्य मान्ने मोटरसाइकल चालक अलि मैलो मान्छेले बाटो काटिरहेको देख्यो भने सिधै भन्छन् ‘मर्लास् नि’ । जेब्राक्रसिङमा आतंकित पार्ने मात्रै हैन, पेटीमै हर्न बजाउँदै सानका साथ हिँड्ने मोटरसाइकल चालक धेरै देख्न पाइन्छ धरानमा ।