नेपालमा फेसनेबल हुनुको अर्थ नयाँ–नयाँ स्टाइलका लुगा लगाउनु हो भन्ने बुझाइ छ, जुन गलत हो । तपाईं कस्ता लुगा लगाउनुहुन्छ भन्दा पनि कस्ता लुगाले तपाईंलाई सुहाउँछ भन्ने हो । यदि, तपाईंले लगाएको कपडाले तपाईंलाई सुहाएको छ भने त्यही हो फेसन । त्यो लुगा नयाँ स्टाइलको होस् वा पुरानो । तपाईंले लगाएको लुगा नयाँ स्टाइलको छ, तर त्यसले सुहाएको छैन भने तपाईंलाई फेसनेबल भन्न मिल्दैन । यद्यपि, यो बुझाइमा परिवर्तन हुन समय लाग्न सक्छ ।
फेसनेबल हुनु खानाको स्वादजस्तै हो । कसैलाई सादा खाना मनपर्छ त कसैलाई मसालेदार । यो पनि ठ्याक्कै यस्तै हो । कसैलाई कम फुलबुट्टा भएको, हल्का रङ भएका कपडा मनपर्छ त कसैलाई धेरै फुलबुट्टा भएका गाढा । जसलाई जस्तो मनपर्छ सोहीअनुसारका कपडा लगाएर फेसनेबल बन्न सकिन्छ । फेसनेबल हुनका लागि सबैभन्दा पहिला आफ्नो व्यक्तित्वलाई भने बुझ्न जरुरी छ ।
फेसनेबल हुने नाममा अरूले जे लगाएको देखिन्छ, त्यही लगाउनुहुँदैन । देखासिकी गरेको फेसन, फेसन होइन । फेसन त्यो हो, जसमा तपाईंले यो मेरो लागि हो र यस्तो लगाउँदा मलाई सुहाउँछ भन्ने बुझ्नुपर्छ । बजारमा चलेको ट्रेन्ड पछ्याउनु ठीक होइन । यसरी बिस्तारै फेसनप्रतिको सोच परिवर्तन हुँदै गएको छ । आफूलाई सुहाउने कपडा लगाउनेको संख्या बढ्दै छ । फेसन गर्नुअघि साथीभाइ तथा फेसन डिजाइनरको सल्लाह लिन थालिएको पाइन्छ ।
कतिपय आफूलाई मन परेको फेसन गर्छन्, तर त्यसले उनीहरूलाई सुहाएको हुँदैन । मेरो पहुँच र ज्ञानले भ्याएसम्म फेसनसम्बन्धी सकारात्मक सल्लाह–सुझाब दिने गरेको छु । यो मेरो पेसागत धर्म हो । सुरुमा नमान्नेहरू पनि अन्ततः कन्भिन्स भएर जाने गरेको अवस्था छ । अहिले नेपाल फेसनेबल हुनु र फेसनलाई वास्तवमै बुझ्नुको बीचमा छ । फेसन बुझ्ने नेपाली आगामी दिनमा पक्कै बढ्छन् भन्ने लाग्छ । सामाजिक सञ्जालले गर्दा पनि हिजोआज मानिस अनलाइनमार्फत जानकारी लिन्छन् । यस्ता ज्ञानले फेसन सम्बन्धमा नेपालीको बुझाइ फराकिलो भएको छ ।