पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठलाई जाडोभन्दा गर्मी मौसम नै बढी मनपर्छ । किनभने गर्मीमा धेरै थरी पहिरन उनी आफूमाथि परीक्षण गर्न पाउँछिन् । तर, जाडोमा भने अरूले झैं कसरी हुन्छ तातो-न्यानो हुन्छ भन्ने सोच्छिन् ।
चिसोबाट जोगिन न्यानो लुगा लगाए पनि त्यो केही हदसम्म स्टाइलिस होस् भन्ने चाहना हुन्छ उनको । साथै गर्मीमा लगाउने लुगाभन्दा जाडोमा बढी गाढा रङका पहिरन लगाउन मन पराउँछिन्- सदीक्षा । जाडोमा लगाउने ड्रेसमा पनि कोट र मफलर उनको विशेष रोजाइमा पर्छ । लङकोट वा ज्याकेटमा बुट जुत्ता लगाएर हिँड्दा उनी आफूलाई निकै स्टाइलिस महसुस गर्छिन् ।
नायिका अशिष्मा नकर्मीलाई सानैदेखि चिसोको एलर्जी हुन्थ्यो । त्यसैलै आमाले सधैं हाइनेक लगाउन कर गरे पनि उनलाई भने हाइनेक पटक्कै मन नपर्ने । अहिले पनि चिसोले उनलाई चाँडै नै समात्छ । त्यसैले जाडोभन्दा गर्मी मनपर्छ उनलाई । ‘जाडोमा लुगा लगाउँदा-लगाउँदै हैरान हुन्छु ।’ यस्तो गुनासो गर्ने अशिष्मा मौसमअनुसार आफूलाई फेसनेबल देखाउन भने चुक्दिनन् ।
हाइनेक लगाउन मन नलागे पनि हाफ हाइनेक लगाउँछिन् । त्यसभित्र थर्मोकोट पनि कहिल्यै छाड्दिनन् । त्यसैले जाडोको अनुभूति हँदैन उनलाई । अहिले बजारमा आएका जिन्स-पाइन्टभित्र पनि भुवा हुने भएकाले न्यानो लाग्छ, उनलाई । जाडोमा प्रायः लेयरमा लुगा लगाउन मन पराउने उनी बुट र कोट भने सधैं म्याचिङ नै लगाउँछिन् । कालो कोट लगाउँदा कालै बुट, खैरो लगाए खैरै अनि रातो कोटमा रातै बुट लगाउने उनको बानी छ । पछिल्ला दिनमा भने उनले खाकी रङको बुट र कोट लगाउने गरेकी छिन् ।
आफ्नै निर्माणमा बनेको फिल्म ‘लाखे भाजु’को छायांकन भर्खरै सकेर बसेकी अशिष्मा यसको गीत रेकर्डिङमा चाँडै जुट्दैछिन् । त्यसैले कामको सिलसिलामा स्कुटरमा हिँडिरहनुपर्ने भएकाले टोपी, सल, स्कार्फ र पन्जा लगाउन पनि उनी छुटाउन्नन् । कहिले कानमात्रै छोप्ने इयर ब्यान्ड लगाएर पनि चिसोबाट बच्न र आफूलाई फेसनेबल देखाउन सकिने उनको भनाइ छ ।
आमाको कस्मेटिक पसल भएकाले त्यसैको सामान किन्न जाने बेलामा उनी पनि आफ्ना लागि आवश्यक जाडोको न्याना कपडा किन्ने गर्छिन् । कुनै निश्चित ठाउँ नभए पनि मलहरूमा गएर सपिङ गर्न रुचाउने अशिष्मा आफूलाई फेसनेबल देखाउन मौसमले नछेक्ने बताउँछिन् ।
जाडो मौसममा विभिन्न मलमा लुगा छान्न जानेदेखि बुटिकमा लुगा सिलाउन जानेसम्मको पहिलो रोजाइ लङकोट नै बन्ने गरेको छ । हिजो-आज प्रायः युवतीले उलन वा भुवादार कपडाको लङकोट सिलाउन आउने गरेका इम्याजिन बुटिकका सञ्चालक विष्णु गौतम बताउँछन् । उनका अनुसार, कपडाको कुरा गर्दा होजियारी पनि हिजोआज बढी चल्तीमा रहेको छ ।
इम्याजिनमा आउनेले लामो, छोटो कोटबाहेक कफ्तान, पन्जु र उलनका लामा लुगा पनि अर्डर दिने गरेका छन् । कपडाहरू प्रायः चिनियाँ नै भए पनि सिलाइ आफ्नो भएकाले कोटमा पनि विभिन्न डिजाइन दिन सकिने फेसन डिजाइनर गौतमको भनाइ छ । जस्तोसुकै कपडामा पनि डिजाइन दिएर त्यसलाई सुन्दर बनाउन सकिने हुनाले फेसनका पारखीलाई जुनै मौसम आए पनि खासै फरक नपर्ने उनको धारणा छ । उनले आफ्नो बुटिकमा दुई हजारदेखि सात हजारसम्म पर्ने कोट बिक्रीमा राखेका छन् । बुटिकका लागि चर्चित कुपन्डोल क्षेत्रकै अर्को बुटिक लाइक्रामा पनि हिजोआज घुँडासम्म आउने कोटको माग गर्दै ग्राहक आउने गर्छन् । उक्त बुटिकले विशेषगरी विवाहका पहिरन तयार गर्ने भए पनि अहिले जाडो मौसमलाई ध्यानमा राखेर ब्लेजर, प्रिन्टेड पस्मिनालगायतका कोट र उलनका टप्स बनाउने गरेको छ । बुटिककी फेसन डिजाइनर सविना महर्जनका अनुसार, त्यहाँ बनाइने उलनका टप्सको मूल्य सात हजार पाँच सयदेखि सुरु हुन्छ भने कोट १० हजार रुपैयाँ माथिका छन् ।
जाडोमा कसरी देखिने फेसनेबल ?
उत्तम बनेपाली, फेसन डिजाइनर, उत्तम क्रियसन्स
टिनएजर र युवतीका लागि लङकोट जाडोको सदाबहार पहिरन हो । यस वर्ष विशेषगरी मोटो कटन, उलन र पस्मिनाका कोट चलनमा छन् । पहिलेको लङ कोटभन्दा अहिले चलेको लङकोट अलि फरक छ । हिजोआज घुँडाभन्दा माथिसम्म आउने कोट धेरैको रोजाइ बन्ने गरेको छ । पहिले सानो मफलर लगाउने गरिन्थ्यो भने अहिले ठूलाठूला ओड्नेजस्ता कटन, पस्मिना र उलन मफलरको फेसन बढी छ । रङको कुरा गर्दा जाडोमा बढी गाडा रङका कपडा लगाउँदा त्यसले सूर्यका किरणलाई सोसेर न्यानो दिन्छ । त्यसैले कपडाको रङ छान्दा कालो, खैरो, कफी रङ, गाडा नीलो आदि छान्दा न्यानो हुन्छ । मोटो मानिसलाई भित्र धेरै लुगा लगाउँदा झन् मोटो देखिन सक्ने हुनाले हाफनेक भएको उलनको स्वेटर कोटभित्र लगाए राम्रो देखिन्छ । पातला युवतीले भने फिटिङ कोट नै लगाए बढी सुहाउँछ । यदि कोट मन पर्दैन भने उलन र पस्मिनाका आउटर लगाए पनि न्यानो हुन्छ ।