धरानः धरान–१६ अन्नपूर्ण चोकस्थित नवोदय विद्या मन्दिर स्कुलको अभिभावक दिवस सम्पन्न भएको छ ।
धरान–१६ का वडाध्यक्ष मुरारी भट्टराईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विद्यार्थीले विभिन्न प्रतिभाहरु प्रस्तुत गरेका थिए । कक्षा नर्सरीदेखि कक्षा–१० सम्मका विद्यार्थीले नृत्यकला, गायनकला, नाटककला, विज्ञानकलालगायतको प्रतिभा देखाउँदा अभिभावक दङ्ग बनेका थिए । कार्यक्रममा अभिभावकको बाक्लो उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि धरान–१६ का वडाध्यक्ष भट्टराईले अभिभावकको उपस्थिति, विद्यार्थीले देखाएको कलाले प्रशंसनीय रहेको बताए । उनले नवोदय स्कुल धरान–१६ को गहना भएको बताउँदै देशभर र प्रदेश १ मै पनि नेपाल सेकेण्ड टप र प्रदेश १ प्रथम बन्दै स्कुल, कलेजले नाम राख्न सफल भएको भन्दै बधाई दिए ।
अभिभावकको बाक्लो उपस्थिति रहेको कार्यक्रममा बोल्दै युएन, नवोदय कलेजका क्याम्पस प्रमुख तथा स्कुलका प्रिन्सिपल डम्बरकुमार तुम्बापोले युएन, नवोदय कलेज ‘ब्राण्ड’ कलेजका रुपमा स्थापित भइसकेको र स्कुललाई पनि सोहीअनुसार अगाडि बढाउन हरप्रयत्न गरिरहेको बताए । उनले आउँदो शैक्षिक सत्रदेखि अझ नयाँ र व्यवस्थित ढङ्गले पठनपाठन साथै अतिरिक्त क्रियाकलापलाई पनि अगाडि बढाउने समेत बताए । उनले पुरानो भवनबाट नयाँ भवनमा पठनपाठन थालिसकेपछि धेरै सुधार गरिने पनि बताए । उनले युएन, नवोदयमा अब प्ले गु्रपदेखि डिग्रीसम्म पठनपाठन हुने बताए । उनले स्कुलमा अहिले ‘ब्याचलर लेवल’ सम्म पठनपाठन हुँदै आएको र केही वर्षभित्रैमा डिग्रीको पनि कक्षा सञ्चालन गर्ने बताए । प्रिन्सिपल तुम्बापोले अहिले शिक्षाक्षेत्रमा विकृति भित्रिएको बताउँदै कसैको प्रलोभनमा नपर्न अभिभावकहरुलाई आग्रह समेत गरे ।
कलेजका अध्यक्ष ज्ञानेश्वर झाले अभिभावकसामु आफ्ना बालबालिकाले प्रतिभा देखाएर पढाइका साथै अतिरिक्त क्रियाकलापमा पनि विद्यार्थी अब्बल छन् भन्ने प्रष्ट्याउन खोजेको बताए ।
कार्यक्रममा वर्षभरीमा उत्कृष्ट विद्यार्थी, खेलकुदलगायत अतिरिक्त क्रियाकलापमा अब्बल विद्यार्थीलाई सम्मान गरिएको थियो । कार्यक्रममा खेलकुदका विविध गतिविधि (ब्याडमिन्टन, चेस, लुँडो, स्पोन रेस, वाटर रेस, स्किपिङ, म्युजिकल चेयर, हट पोटयाटो, चकलेट रेस, बिस्कुट रेस, वेलुन रेस, बेलुन ब्लाष्ट, फायर इन माउण्टेन, जेरी रेस, म्याथ रेस) मा प्रथम, दोस्रो र तेस्रो हुने छात्रछात्रालाई पुरस्कृत समेत गरिएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि, अतिथिलगायतले पुरस्कृत गरे ।
कार्यक्रममा होटल म्यानेजमेण्ट कोअर्डिनेटर गगनमान श्रेष्ठ, अध्यापक नाम्लिहाङ चेम्जोङलगायतले समेत पुरस्कार वितरण गरेका थिए । कार्यक्रमको सञ्चालन शिक्षक वसन्त दाहालले गरेका थिए ।