रातको २ बजे बिहान धेरैका आँखा खुलेकै हुँदैनन्, श्रीमानले ‘उठ, उठ’ भन्छन्, आङ तान्दै उठ्छिन्, त्यसपछि श्रीमान्ले नै भानुचोक ल्याइदिएर छोडिदिन्छन्, स्टोभ बाल्छिन्, एउटा च्यादानी झिक्छिन् र चिया पकाउन थाल्छिन् यो एउटा महिलाको दैनिकी हो । भानुचोकमा महिनौं होइन वर्षौ भइसक्यो यसो गरेको । चैतदेखि भदौसम्मको गर्मी होस् या पुस, माघको जाडो, धुलो, धुँवामा पनि चिया बेचिरहेको उनी जीवन धान्दै आइरहेकी छिन् ।
भानुचोकको घण्टाघर छेऊ रातमा चिया बेच्ने यी महिलाको कथा भाव विह्वल बनाउने छ । जिन्दगी चलाउन बाध्यताकै कारण पनि रात पनि नभनी यसरी चिया बेच्न कसैको रहर नहोला र छैन पनि तर देशमा रोजगारी नभएपछि जसोतसो यस्तै व्यवसाय चलाएर जिवीकोपार्जनका लागि भानुचोकमा धेरै महिला लागिपरेका छन् ।
भानुचोक २ बजेदेखि गाडीको हर्नसँगै यात्रु तथा बसका कर्मचारीहरूको आवतजावत र चहलपहल हुन्छ । कोही यात्रु पूर्व–पश्चिम जाने त कोही उत्तर दक्षिण । त्यही चहलपहलमा रातभर चिया बेचेर गुजारा गर्ने महिला भानुचोकमा ५ जना छन् । तीमध्ये हुन्–मीनाकुमारी चौधरी (खड्गी) । उनले यसरी नै चिया बेचेको झण्डै ७ वर्ष पुगिसकेको छ । ‘दुःख त हुन्छ तर गरिखान के को लाज ?’ उनको प्रश्न हो यो, प्रश्नसँगै गरिखान के को लाज भन्ने प्रश्नले नै उनलाई धैर्यता र अठोट दिलाइदिएको छ भन्छिन् ।
‘मलाई त्यस्ता मानिस देख्दा दिक्क लाग्छ, जो सग्ला हातगोडा भएर पनि माग्न हात पसार्दै हिँड्छन्’, उनले खुलाइन्, ‘तर सग्ला हातखुट्टा भएको मजस्ताले गरिखाँदा के को लाज ?’ बिहान ७ बजेसम्म सडक छेउमा चिया पाक्छ, चियासँगै पाउरोटी लगायत अन्य सामान बेच्छिन् । चिया, बिस्कुट बेचेर खर्च कटाएर दैनिक कहिले ७ सय, कहिले १ हजार त कहिले १७ सयसम्म कमाउने उनले बताइन् । ‘महिनाभरीको खर्च कटाएर बैङ्कमा दैनिक ५ सय बचत गर्दै आएकी छु’, उनले खुलाइन् । रातो चिया बेच्न सकियो भने अलि बढी आम्दानी हुने उनको भनाइ छ ।
सडकमा चिया बेच्न आउन नमानेकी उनले अरू महिला खटेको देखेर यस्तो काम गर्ने जाँगर बटुलेकी हुन् । ‘शुरुमा काम गर्न लाज लाग्थ्यो । रातभरी निन्द्रा बिगारी बिगारी कसले काम गर्छ भन्ने लाग्थ्यो, पछि बानी बन्दै गयो, गाह्रो सोचे गाह्रो हुन्छ । मिहेनत गरे केही बिग्रन्न ।’ उनले भनिन् । आफ्नो मर्जीले चल्ने यो व्यवसायप्रति उनी निकै सन्तुष्ट छिन् । आफूले बनाएको चिया ग्राहकले स्वाद मानी–मानी खाँदा उनलाई थप आनन्द लाग्छ र भरसक स्वादिलो बनाउने प्रयास गर्छिन् । ‘सफा र स्वादिलो भयो भने व्यापार नचल्ने कुरै छैन, बिहानैदेखि व्यस्त हुनेहरूलाई हाम्रो व्यापारले सजिलो बनाएको छ’, उनी भन्छिन् ।
चिया बेचेरै उनले दुईजना छोरा (मनोज, सुमन) पढाएकी छिन् । श्रीमान् दीप खड्गी बिहान सबेरै उठेर टेम्पो चलाउँछन् । टेम्पोबाट पनि केही बचत हुने उनको कथन छ । हाल उनी धरान–३ मा बस्छिन् । त्यहाँ पनि दिउँसोदेखि ठेलामा चिया साथै पकौडा बेच्छिन् । ‘स्वाभिमानी जीवन बिताइरहेको छु, जागिर भन्दै दैनिक अरूको अह्रनखटनमा बस्नुभन्दा आफैं जाँगर चलायो भने काम र दाम दुवै पाईंदोरहेछ ।’ उनले भनिन् ।
‘यसमा कसैसँग बिदा माग्नुपर्दैन । काम जसरी मन लाग्यो त्यसरी गर्न सकिन्छ । पैसा हात पर्न महिनाको अन्तिम दिन कुर्नुपर्दैन । कामसँगै दाम आउँछ, रमाइलो छ ।’ उनले भनिन्, ‘काममा असन्तोष मान्नुपर्ने कुनै कारण छैन । छोरा पढेका छन्, साहुसँग डराउनुपरेको छैन । अलिअलि पैसा पनि बचेको छ । मलाई त यही काम ठीक लाग्छ, बरू सक्छ भने सरकारले महङ्गी रोकिदिए हुन्थ्यो’, उनले भनिन् ।
वैदेशिक रोजगारीका लागि दिनहुँजसो महिलाहरू विदेसिने क्रम बढिरहेको छ । उमेर भएका महिलाहरू अझै पनि पनि विदेश गइरहेका छन् । तर इच्छा र चाहना हुने हो भने नेपालमै पनि केही गर्न सकिन्छ भन्ने कुराका अनेकौं उदाहरण छन्, हाम्रो समाजमा । ‘नराम्रो काम गर्नु हुँदैन र काम गरेर खान लाज मान्नु पनि हुँदैन ।’ उनले भनिन् । यही पेशाबाट उनी घडेरी किन्ने सपना बुनेको बताउँछिन् । ‘बाटोमा चिया बेचेर केही हुन्छ भन्ने आफन्तहरूले नै पत्याएका थिएनन् । अहिले मेरो काम देखेर सबैजना खुसी छन् ।’ चिया खान आउने ग्राहकहरू चिया मिठो मानेर खाँदा आफ्नो थकान मेटिने भन्दै उनले थपिन्, ‘दिनमा १२ घण्टासम्म पनि खट्छु तर थकाई लाग्दैन ।’
‘बिहान ७ बजे नै उपमहानगरपालिकाले खटाएको प्रहरी सिटी फुक्दै आइपुग्छन् र त्यतिबेला नउठे हर्काछन्, त्यतिबेलै उठ्नुपर्छ ।’ उनले भनिन्, ‘म दुःख गरेर परिवार पाल्ने मान्छे हुँ, थर्काए थर्काउँदै गर भन्छु तर ७ बजे जहिल्यै उठिसकेको हुन्छु ।’
शहरमा यसरी महिलाहरूले चिया बेचेर सपरिवार गुजारा गरिरहेको कुरा सामान्य जस्तो लागे पनि यसले अर्थतन्त्रमा उल्लेख्य योगदान पु¥याइरहेको चिया खान दैनिक त्यहाँ पुग्ने गरेकी महिला अभियानकर्मी तारा शाक्य बताउँछिन् । ‘यी महिलाले व्यापारसँगै घरव्यवहार र बालबच्चा हुर्काउने काम पनि गरेका छन् । उनीहरूको सबै श्रमको पैसामा हिसाब गर्ने हो भने अर्थतन्त्रमा ठूलो योगदान देखिनेछ ।’ ‘उनीहरु आफै पकाउँछिन्, आफै सर्भ गर्छिन्, आफै भाडा माझ्छिन् । उनीहरु एकचित्त भएर काम गरेको दृश्य रोचक लाग्छ ।’ उनले थपिन् ।