सुमन सुस्केरा
धरान । धरान एकातिर लाहुरेको शहर र अर्कोतिर कोशी पहाडी जिल्लाको प्रवेशद्वारका रूपमा चिनिएको शहर हो । दशकौँ अघिको कोशी पहाडी जिल्लाबाट ढाकरमा नुन लिन हप्तौँ लगाएर धरान झर्ने क्रम सडक विस्तार सँगै कम भएको हो । तैपनि धरानले आफ्नो परिचय र पहिचान गुमाएन । पहाडी जिल्लाहरूबाट तराई झर्दा धरानको विशेष शान र पहिचान थियो । त्यसलाई थप उज्यालो बनाएको थियो लाहुरे समुदायले ।
तर अहिले यो सहर लाहुरेविहीन जस्तै भएको छ । विकास निर्माणदेखि धरानका धेरै योजनामा अग्रभागमा देखिने उज्याला लाहुरेहरू पलायन हुँदै जाँदा धरान बिस्तारै निन्याउरो बन्न थालेको अनुभव यहाँका बासिन्दाको छ । खासगरी बेलायती सेनामा रहेको लाहुरेहरू बेलायत सरकारको नीतिअनुसार बेलायतमै बस्न थालेपछि धरानको रङ्ग फुङ्ग उडको जस्तो भएको उनीहरू बताउँछन् । अर्कातिर सडक लगायत विकास गाउँतिर विस्तार हुँदै जाँदा पनि धरानमाथिको निर्भरता कम हुँदै गएको हो । थप कारण बनेको छ गृह जिल्लाकै इटहरी । जसले पहाडबाट बसाई सरेर जानेहरूलाई आफूतिर तानेको तान्यै छ ।
इतिहासमा धरान
पृथ्वीनारायण शाहले एकीकरण गरी नेपालमा गाभ्नु अघिसम्म धरान विजयपुर राज्यमा पर्थ्यो । बुद्धिकर्ण राय खेवाङ विजयपुरका अन्तिम लिम्बु राजा हुन । वि.स. १९५० तिर घना जङ्गल फडानी गरेर सानो बस्तीबाट सुरुवात भएको धरान, वि.स. १९५९ मा तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले चन्द्रनगर (हाल पुरानोबजार) र वि.सं १९९० को भुइँचालोमा धरान ध्वस्त भएकाले जुद्धशमशेरले जुद्ध नगर (हालको नयाँबजार) बसालेका थिए ।
वि.स. २०१० मा पूर्वाञ्चलका लागि ब्रिटिस गोर्खा भर्ती केन्द्र धरानमा स्थापना हुनुले धरानको विकासमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको हो । यही भर्ती केन्द्रको स्थापनासँगै धरानको पहिचान लाहुरेको सहरमा हुन थालेको धरानलाई नजिकबाट बुझेकाहरू बताउँछन् । लाहुरेको चहलपहलसँगै एकखालको अलि फरक खालको ढाँचा ढर्रा पनि शुरु भएको उनीहरूको अनुभव छ । अनि धरानका गतिविधिहरू पनि फैलँदै गए । भारतीय पेन्सन क्याम्प धरानकै फुस्रेमा रहेकाले पनि भारतीय लाहुरेहरूका लागि पनि धरान आकर्षक ठाउँ बन्न पुग्यो ।
वि.सं. २०१७ मङ्सिर १ मा धरान नगरपालिका घोषणा भएको थियो । जतिबेला स्व. केदारनाथ खनाल (प्रमुख) र कृष्णप्रसाद श्रेष्ठ (उपप्रमुख) थिए । वि.स. २०१८ मा नेपाललाई १४ अञ्चल ७५ जिल्लामा विभाजन गर्दा कोशी अञ्चलको सदरमुकाम धरानलाई घोषणा गरिएको थियो । त्यसपछि विकासमा निरन्तर फड्को मारेको धरान केही वर्षदेखि भने चमक मधुरो हुँदै गएको सहर जस्तो बन्न थालेको छ ।
धरानको फेरिँदो पहिचान
२०५४ सालमा धरानलाई २० वर्षमा कस्तो बनाउने भन्ने योजना बनाएपछि मात्र धरानको विकासले गति लिएको धरानका पूर्व मेयर मनोज मेन्याङ्बो बताउँछन् । जब ब्रिटिस क्याम्प उठ्यो त्यसपछि धरान कस्तो बनाउने भन्ने भिजन अघि सारिएको थियो ।
‘पहिला लाहुरेको सहरको रूपमा चिनिएको धरान अहिले सुनसान भएको छ’, उनी भन्छन्, ‘लाहुरेहरूले धरान छाडेर गएपछि विकास निर्माण लाहुरेको भिजन धरानेहरुले भुल्दै गएका छन् ।’ विदेशको सीप, त्यहाँको काम गराई र नेपालमा गरिने कामहरूको तालमेल मिल्दैन थियो । तालमेल नमिल्दा पनि ५० प्रतिशत भन्दा बढी लाहुरे रहेको धरानमा लाहुरेहरूले भनेअनुसारको विकासको मेडेलले धरान–धरान भएको उनको भनाई छ । झण्डै ६० सालसम्म लाहुरेको सहरको रूपमा चिनिएको धरान अहिले वैदेशिक रोजगारवालाको सहर भनेर चिनिएको मनोज बताउँछन् । ‘अहिलेको धरान पहिलेको जस्तो छैन’, उनी भन्छन्, ‘लाहुरेको घर छ, परिवार छैन, नातागोताका मान्छेहरू बस्छन् ।’
धरान सहरको विकास लाहुरेको कारणले भएको मानिन्छ । राम्रो घर घडेरी किन्ने, जग्गा जोडेर बस्ने लाहुरेहरू नै थिए । ती लाहुरेहरूको सिको यहाँका स्थानीयले पनि सिके । लाहुरेहरू विदेशको विकासको मोडेल देखेर यहाँ प्रयोग गर्न खोज्थे । विदेशी सभ्यता सिकेर आएका व्यक्तिहरू पलायन हुँदा हरेक हिसाबले धरानलाई असर पारेको स्थानीयको अनुभव छ ।
धरानका अग्रज पत्रकार हर्ष सुब्बा बि.सं. २०१० देखि २०४९-५० सालसम्मलाई लाहुरेको विकासको फेजको रूपमा लिन्छन् । ब्रिटिस क्याम्प बस्दासम्म युरोपका मापदण्डमा सडकहरू बने, लाहुरे बाहिरको सिप सिकेर आउँथे र यहाँ प्रयोग गर्थे त्यसबाट सडकहरू चौडा भए, विकासका कामले गति लिए, कतिपय ठाउँमा आफैले लगानी गरेर पनि सडक बनाएको तथा कतिपय ठाउँमा आफ्नो जग्गा दिएर विकासमा सहयोग गरेको उनी सम्झन्छन् ।
धरानबाट ब्रिटिस क्याम्प हटेपछि धरानले लाहुरे फेज गुमायो । त्यसपछि धरानमा बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान अर्थात् घोपा क्याम्पको स्थापनाले धरानलाई स्वास्थ्यको गतिविधिमा अघि बढायो । प्रतिष्ठानको स्थापनाले स्वास्थ्य क्षेत्रसँगै स्वास्थ्य पर्यटनको सम्भावना बढेर गएको र स्थानीय त्यही गतिविधिका साथ विकासलाई अघि बढाएको सुब्बाको भनाई छ । अहिलेपनि ‘घोपा क्याम्प’ कै रूपमा चिनिने प्रतिष्ठान कोशी, मेची र सगरमाथाका पनि केही जिल्लाका बिरामीका लागि सबैभन्दा ठुलो र भरपर्दो उपचार केन्द्र हो ।
स्थानीयको चासो पर्यटन र विकास
कुनै जमानामा विकासमा नमुना उदाहरण प्रस्तुत गरेको धरान अहिले पनि पहिलाको साख जोगाउन लागिपरेको छ । आर्थिक, सामाजिक र सांस्कृतिक रूपमा धरानलाई धरानको रूपमा चिनाउनको लागि पर्यटन नै मुख्य औजार हुने र त्यसकोलागि सबै लाग्नुपर्ने बताउँदै आएका छन् ।
विकासको काममा जनसहभागिताको नमुना प्रस्तुत गर्ने धरानमा अहिले त्यस्तो नहुने गरेको पूर्व मेयर मेन्याङ्बो बताउँछन् । ‘धरानमा यो गतिमा विकास गर्नुको कारण भनेको त्यो अनिवार्य जनसहभागिताको अभियान धरानले ल्याएको थियो, उनी भन्छन्, ४० देखि ५० प्रतिशत रकम जम्मा गरेपछि मात्र नगरपालिकाले रकम हाल्ने चलन अहिले हराएको छ, अहिलेका जनप्रतिनिधि जनसहभागितामा काम गर्न रुचाउनु हुन्न, उहाँहरू ठेक्का पट्टामा नै काम गर्न रुचाउनुहुन्छ ।’
हिजोसम्म लाहुरेले धानेको त्यसपछि बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले धानेको भएपनि धरानको लागि अबको फेज भनेको प्राकृतिक स्थलको प्रवर्द्धन, स्तरीय होटल, पर्यटकीय क्षेत्र र पूर्वाधारको विकास रहेको धरानका पर्यटन व्यवसायी वासुदेव बरालको भनाई छ । धरान अब ट्रान्जिट प्वाइन्टको रूपमा विकास हुँदै गएको छ । बाहुनडाँगीबाट धरान हुँदै गड्डाचौकी जाने मदनभण्डारी राजमार्ग, किमाथांका-रानी कोशी राजमार्ग, तमोर करिडोर हुँदै तराई झर्ने सडक, राँके-भेडेटार हुँदै तराई झर्ने सडकको पनि ट्रान्जिट धरान बन्दैछ । ‘अहिले दैनिक २ हजार पर्यटक धान्दै आएको अवस्था छ, बराल भन्छन्, अबको आगामी योजना भनेको दैनिक ३० हजार पर्यटकको लक्ष्य राखेर अघि बढ्नुपर्छ ।’