घर पुग्दा घरको एक कोठा साउण्ड प्रुफ । कोठाभरि पश्चिमी शैलीका बाजागाजा । ड्रम, गिटार वा अन्य । तीन चार जना युवा आफ्नै शैलीमा रमाएका । धरानस्थित गायक डिल्ली फोम्बोको घर पुगियो भने यस्तै देखिन्छ । छुस्स दाह्रीजुङ्गा, दाह्री जुङ्गा पनि रातो, कालो मिसिएको, फिस्स हाँसिरहने, मिजासिलो स्वभावका उनमा गीत–सङ्गीतप्रतिको लगाव भित्री मनदेखि नै भएजस्तो लाग्छ । गायक फोम्बोलाई गेटअप, लगावमा जुन मानिसले जस्तो फिल गरेपनि उनी नेपाली मौलिक गीत सङ्गीतका साधक हुन्। समाजशास्त्रमा एमए गरेका उनले कसरी आफूले मौलिकता समाए, गीत–सङ्गीतबारे गरिएको कुराकानीको सार संक्षेपः
यस क्षेत्रमा कहिलेदेखि प्रवेश गर्नुभयो ?
–०५०/०५१ सालतिर ‘साँघुगरीडाँडा’ गीत गाएपछि लय, गति र निरन्तरता भने भएन । ०५५/०५६ सालतिर पूर्वाञ्चलव्यापी ब्याण्ड र सोलो कम्पिटिसन भयो । सोलोबाट जितियो । त्यतिबेला ‘भ्वाइस अफ धरान’ एल्वम निस्कालें । आफ्नै शब्द र सङ्गीमा ‘साँगुरी डाँडा’ र ‘मैले प्रीतिका’ बोलका गीत गाएँ । पूर्वाञ्चलव्यापी बिट कन्टेस्टमा एकल गायनमा बिजेता बनियो । त्यही बेलादेखि अलि अलि साङ्गीतिक क्षेत्रमा चिनिएँ ।
साङ्गीतिक क्षेत्रमा चिनिएपछि अलि सजिलो भयो होला नि ?
–केही जोश, जाँगर आयो । अहिलेको जस्तो कन्सर्ट हुँदैनथ्यो, बार, रेष्टुरेण्टमा गाउने टेण्ड पनि थिएन । त्यसपछि एम ए अध्ययन गर्ने धुनमा म काठमाडौं गएँ । २०६५ सालतिर एनसेल रक्स आयोजना भयो । त्यतिबेला चर्चित गायक निमा रुम्बा, एड्रिन प्रधान दाइहरूले सँगै काम गरौं भनेपछि आउटसाइडर्स ब्याण्डमा आवद्ध भएर काम गरें ।
हाल पनि आउटसाइडर्स ब्याण्डमै हो कि ?
–४–५ वर्ष त्यसमा बिताएँ, हाल डिल्ली फोम्बो एण्ड द विमोक्समा आवद्ध छु ।
आउटसाइडर्स किन छुट्यो ?
–म मौलिकता चाहने मान्छे । मौलिक नेपाली गीत गाउन चाहन्थे तर सोचेजस्तो भएन । स्वतन्त्र मानिसलाई आफूले चाहे नै हौ भन्छ । मौलिकता दिन बाहिरिएँ ।
कस्ता गीत गाउन रूचाउनुहुन्छ ?
–एक डेढ वर्ष शास्त्रीय सङ्गीत पनि सिकेको छु । मौलिक, नेपाली गीतमा रूची जाग्यो । लिम्बू भएर होइन रहनसहन, परिवेश अनुसार पालाम, हाक्पारे, च्याबु्रङमा ६–७ वर्ष बिताएँ । आफ्नै मौलिकता बोकेका हाक्पारे, पालाम, मारूनीमै समय बिताएको हुनाले म मौलिकता चाहने गायक हुँ भन्न मन लाग्छ । मौलिक गीतमा सन्तुष्टि मिल्छ नै ।
साङ्गीतिक क्षेत्र नशा हो भनिन्छ, सङ्गीतको नशासँगै व्यवसायिक पनि हुनुपर्छ होइन र ?
–व्यावसायिकताका लागि पनि गीत गाउनुपर्छ । सङ्गीत क्षेत्रमा व्यवसायिकता छैन भने काम छैन ।
त्यसो भए अहिलेसम्म परिवार त साङ्गीतिक क्षेत्रबाटै चलेको होला होइन ?
–हो, ४–५ वर्षअघि सङ्गीतको नशाले म आफ्नै लगानीमा दौडिन्थे । १–२ वर्ष भयो सङ्गीत क्षेत्रले नै घरपरिवार धानेको छ । पूर्वमा धेरै कन्सर्ट हुन्छन् र भएका छन् । भनौ पूर्वमा हामीजतिको जन्मे अरू छैनन् होला जस्तो लाग्छ । धेरै गीत आफ्नै भएको र व्यस्तता पनि बढेकै छ ।
साङ्गीतिक क्षेत्र नशा हो भनिन्छ, सङ्गीतको नशासँगै व्यवसायिक पनि हुनुपर्छ होइन र ?
–व्यावसायिकताका लागि पनि गीत गाउनुपर्छ । सङ्गीत क्षेत्रमा व्यवसायिकता छैन भने काम छैन ।
त्यसो भए अहिलेसम्म परिवार त साङ्गीतिक क्षेत्रबाटै चलेको होला होइन ?
–हो, ४–५ वर्षअघि सङ्गीतको नशाले म आफ्नै लगानीमा दौडिन्थे । १–२ वर्ष भयो सङ्गीत क्षेत्रले नै घरपरिवार धानेको छ । पूर्वमा धेरै कन्सर्ट हुन्छन् र भएका छन् । भनौ पूर्वमा हामीजतिको जन्मे अरू छैनन् होला जस्तो लाग्छ । धेरै गीत आफ्नै भएको र व्यस्तता पनि बढेकै छ ।
गेटअप हेर्दा के भन्छन् दर्शकले ?
–मलाई आधुनिक, रक, हिपहप टाइपको मान्छे भन्ठान्छन् । तर म त्यस्तो होइन । मानव सभ्यताको प्राचीन कालखण्डको हो । यो आधुनिक शैलीको होइन । बिटक नै हानेजस्तो हुन्छ, प्रस्तुति पनि त्यस्तै आधुनिक लाग्ला तर पनि गरगहना पुरानो शैलीकै हो, यो एउटा पिछडिएको समाजको प्रतिक हो, यसले त्यस्तै इङ्गित गर्छ । भनौं, साङ्गीतिक क्षेत्रमा उपस्थित जनाउन मनदेखि गर्न चाहेको कुरा फरक छ । ड्रम, गिटार टे«ण्ड नै भयो । मेरो गीत सङ्गीतमा नेपालीपन आओस् भन्ने ध्येय छ । अहिले पनि मेरो गीतमा देशप्रेम झल्किन्छ ।
गीत सङ्गीत के हो जस्तो लाग्छ ?
–यो एउटा नशा हो तर फिल्डमा हेपाहा प्रवृत्ति कायमै छ । काठमाडौंले हेपेको छ । एक समय म केही गरौं भनेर काठमाडौं छिरें तर भनेजस्तो सन्तुष्टि पाइन । त्यहाँ ढाँटछल बढी छ । कसै कसैको हेपाइ पनि सहें ।
कुनबेलादेखि चर्चामा आएजस्तो लाग्छ ?
–विभिन्न कन्सर्टमा गाइरहेका बेला २०१२ मा भएको एनसेल रक्स कार्यक्रमले बढी चर्चित बनायो । २०६१/०६२ को जनआन्दोलन चलिरहेको बेला ‘बोहनी’ एल्वम ल्याएँ । एल्वममा समेटिएको गीत ‘माया’ ले निकै चर्चा कमाइयो । देशमा जनआन्दोलन चल्न थालेपछि त्यो गीत त्यतिकै ओझेलमा प¥यो ।
साङ्गीतिक प्रस्तुति दिन कहाँसम्म पुग्नुभएको छ ?
–विशेषतः अहिले पूर्वमा हुने विभिन्न कन्सर्टमा जमिरहेको छु । त्यसैले बाँचेको छु । धेरैपटक देश र विदेशका विभिन्न स्टेजमा पुगेको छु ।
भविष्यको योजना के छ ?
–अहिले म मौलिक भाकाहरूको अध्ययन गर्दैछु । मौलिकताको कुरा गर्ने हो भने १ लाख बढी मौलिक भाका छन् । म हाम्रै मौलिकपन जोगाउन योजनामा छु । लोप हुन लागेका भाकाको विषयमा पुस्तक लेख्ने तयारीमा छु । मारूनी, देउडा, घाटु नाच आदि मौलिकता बोकेका बारे अध्ययन गर्नुपर्नेछ । मौलिक लयको वृत्तचित्र बनाउने पनि योजनामा छु । भविष्यमा लोक सांस्कृतिक समूह नै बनाउने इच्छा छ । यसले मौलिक भाका जोगाउन सहयोग पुग्छ । यसमा युवा समेटिनुपर्छ भन्ने मेरो ध्येय हो।