बिहानको करिब ७ बजे भानुचोक–छाताचोक–चतरालाइनदेखि धरान–११ र १६ सम्म सधैंजसो सुनिने आवाज हो– साग आयो साग आयो ।
भानुचोकदेखि छाताचोक, छाताचोकदेखि धरान–१२ चतरालाइन हुँदै धरान–११ र १६ हिँड्ने एक युवा यस्तै आवाज निकालिरहन्छन् । रिक्साभरी सागको भारी, हातमा पैसा, एकापट्टि झोला । यो उनको दैनिकी नै हो ।
धेरै मानिस सानोतिनो काम गर्न भनेपछि हात हाल्दैनन्, त्यो पनि धरानमा । तर धरानमै एक युवाको दिनचर्या यस्तै छ । धरान–६ पानबारीका अर्जुन मगर नाम गरेका युवाले सब्जी बेचेरै रमाएको ९ वर्ष भइसकेछ । बिहानै उठ्नु, बजारतिर साग बेच्न हिँड्नु । ‘धेरै मानिस सानोतिनो काम गर्न लजाउँछन्’, उनी भन्छन्, ‘मैले नलजाइ यस्तो काम गरेको ९ वर्ष भयो, आम्दानी पनि छ परिवार पनि धानेको छु ।’
हाल उनले सागर बेचेरै ५ जनाको परिवार धान्दै आएका छन् । ‘सबै बाहिर बाहिर भन्दै विदेशमा पसिना बगाउन पुग्छन्, म यहीँ रमाइरहेको छु, मिहिनेत र परिश्रम गर्दै नलजाउने हो भने अमेरिका नि यही, हङकङ, सिंगापुर, अष्ट्रेलिया पनि यहीँ छ ।’ उनी थप्छन्, ‘मैले हाल ५ जनाको परिवार यही साग बेचेरै धान्दै आएको छु ।’
उनले साग बेचेरै केही रकम पनि जोको गरिसकेका छन् । ‘दुई छोराछोरीमध्ये एकजनालाई ह्यावन एकेडेमी बोर्डिङमा पढाउँदै आएको छु, साग बेचेर केही बचत पनि गरेको छु ।’ उनले दिनमा २ हजार कमाउने गरेको पनि सुनाए । ‘दिनको एक हजार त हुन्छ नै, सबै साग बिक्री भए दिनको दुई हजार बचाउँछु ।’ उनले भने ।
उनले एसएलसी (अहिलेको एसइई) पास गरेको बताए । ‘एसएलसी पास गरेको छु भनेर गजक्क परेर बसेको भए म यतिबेला कुन अवस्थामा हुन्थें होला अथवा साथीहरूले विदेश जानुपर्छ भन्दै आएको सुझावलाई सहर्ष स्वीकार्थें होला र विदेशमा पसिना चुहाइरहेको हुन्थें होला तर पनि नलजाइ यो पेशा अङ्गालें जीविकोपार्जन भइरहेको छ ।’
उनी जीवनदेखि सन्तुष्ट छन् । ‘सबैभन्दा ठूलो कुरा मनमा सन्तोष हुनुपर्छ, त्यो मान्छेको त्यहीदेखि जीवन बन्छ’, भोगाइबारे उनले खुलाए, ‘सबै सन्तुष्ट हुने हो भने सबै विदेश पनि त पुग्दैनन् नि ।’
वैशाखसम्म यस्तै साग बेच्ने र सागको सिजन सकिएपछि निगुरोलगायत अन्य तरकारी बेच्ने गरेको उनले सुनाए । ‘९ वर्षदेखि गरेको सागको व्यापारले परिवार धानेको छु, गरिखान के को लाज ?’ उनले थपे । साग बेचेरै वर्षभरि पुग्ने अन्नको जोहो गर्ने गरेको उनी बताउँछन् । साग बेचेरै घडेरी जोडिसकेको उनले बताए ।
धनकुटा, धरानको पानबारी लगायतबाट भित्रिएको साग ल्याएर उनले बिक्री गर्ने गरेको बताए । साग खाए स्वस्थ भइने र सन्देश पनि राम्रो जाने हुनाले आफूले सागको व्यापार रोजेको उनले बताए । उनले मार्फा रायो, स्थानीय रायो, फापर, चमसुरलगायत जातका साग ल्याउने गरेको बताए । ‘बजारमा सागको माग छ, पहाडी क्षेत्रबाट आएको साग भनेपछि सबैको रोजाइमा पर्छ’, उनी भन्छन्, ‘जिन्दगीमा मेरा लागि कमाउने माध्यम बन्यो ।’